रातो मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत भदौ २९ गते • Image Khabar Image Khabar


रातो मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत भदौ २९ गते


इमेजखबर
२२ भाद्र २०७७, सोमबार १४:३६

रातो मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत भदौ २९ गते

काठमाडौं, भदौ २२ । रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ ।

सोमबार पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको हो ।

ज्योतिषी कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको बताउनुभयो ।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङ्मती पु¥याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड-१९ महामारीका कारण रोकिएको थियो ।

लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना रथ तानेका थिए । त्यसलगत्तै स्थानीय युवाहरु र प्रहरीबीच झडपसमेत भएको थियो ।

युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्‍याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमापूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्