डिपो खाली, पेट खाली ! • Image Khabar Image Khabar


डिपो खाली, पेट खाली !


Imagekhabar
२१ भाद्र २०७७, आईतवार ०८:३७

डिपो खाली, पेट खाली !

-लाओस राई

डाटा बोल्छ–यो वर्ष यति लाख मेट्रिक टन धान उत्पादन भयो । मौसमको अनुकूलता गर्दा गतवर्ष भन्दा यो वर्ष धान उत्पादन २०.६२ प्रतिशतले बढ्यो । मकै भने खडेरीको कारण २५.२१ प्रतिशतले घट्यो । गहुँ, कोदो, भटमास, मास, मुसुराको दाल, रहर लगायतका खाद्य उत्पादनमा २.३५ प्रतिशतले बढ्यो । यो वर्ष खाद्य संकट हुने सम्भावना देखिन्छ । सरकारी प्रतिनिधिले डाटा (तथ्यांक) पढयो काम सकियो ।

यद्यपी, माथि उल्लेखित तथ्यांकहरु आधिकारिक तथ्यांक भने होइन । केवल खाद्य वस्तुको कुल उत्पादनलाई जनतासामु डाटावेसमा प्रस्तुत गर्ने शैली मात्र उल्लेख गर्न खोजेको हो । उत्पादन तथ्यांक र बिबरण सुन्दा धेरै मजा आउने र सबैका घर अन्नले भरिभराउ हुने खालको देखिन्छ । त्यसैले हो कि खाद्य तथ्यांक खाएर प्रत्येक मंसिरमा जनता अमन (टन्न) हुन्छन् । जे होस जनता एकैछिन् भए पनि (टन्न) अमन त भयो ।

समय बित्दै जान्छ, चैत–बैशाख लाग्दा नलाग्दै चामल सकियो । जिल्ला सदरमुकाममा खाली बोरा र नाम्लोलिई भौतारिरहेका मानिसहरुको भिड लागेको समाचार टेलिभिजन र पत्रपत्रिकामा आउन सुरु भैहाल्छ । यसको मतलब यो वर्ष पनि मंसिरमा डाटा खाएर अमन (भुडी भरेका)भएका मान्छेहरु भोकमरीमा पर्‍यो । कस्तो दुर्भाग्य, मतलब,‘डिपो खाली, पेट खाली !’ सुन्दा अचम्मै लाग्छ । डिपोमा चामल नहुँदा सुत्केरी भोकै परे रे । बालकले भात नपाएपछी माटो खान थाल्यो रे । नियतिले हामीलाई यस्ता खालको समस्या लामो समयदेखि दिई रहेको छ । हामी भने दर्शकमात्र । फेरी हामीसंग यति समस्याहरु मात्रै होइन । हामी कहाँ अरु पनि ठाउँ विशेषका समस्या छन् । जस्तो जाडो याममा तराइमा चिसोले कठ्याग्रिएर मान्छे मर्ने । बर्खा याममा पहाडमा पहिरोले पुरेर मान्छे बेपत्ता हुने समस्या पनि उस्तै छ ।

यति भनिरहँदा प्राकृतिक प्रकोप नेपालमा मत्रै आउने गर्छ भन्न खोजेको होइन । अन्य देशको प्रकोपको समाचारहरु पनि सुनेका छौं । तथापि त्यो समस्या भए पनि आज त्यतातिर बहस गरेर समय खेर नफालौं । मुख्य कुरो चामल र त्यसको अभावले सृजना गरेका भोकमरीमा केन्द्रित हुनु जरुरी छ । भोकमरीको सन्दर्भमा चर्चा गरिरहँदा एउटा सम्बाद सन्दर्भ सार्‍है घतलाग्दो र स्मरणीय छ । कुरो २०६० सालतिरको हो । घुम्दै जाँदा प्युठानको मच्छिमा बास बस्न पुगियो । साथमा एक जना भाई थिए । उ सोही जिल्लाको भएकाले प्यूठानका बारेमा धेरै कुरा गरियो । कुरै कुरामा खाद्यान्न उत्पादन र त्यसको अभावको बारेमा कुरा निस्कियो । उसले भन्यो राजनीति त गरिन्छ दाइ, तर घरमा खाने अन्न हुँदैन । के गर्ने ? भन्दै आफैंलाई प्रश्न गरे झैंं गर्‍यो । उसको बोली अन्त्य हुन नपाउंदै मैंले सोधें ? धान, मकै कोदो कति फल्छ ? मेरो कुरा तिर केन्द्रित हुँदै उसले भन्यो–धान हुने खेत छैन, मकैं कोदो र र भटमास हुन्छ । भात खाने बानी लागेर ढिडो खान मनै लाग्दैन के गर्ने ? १२ मुरी जति भटमास आउंथ्यो, त्यही बेचेर चामल किन्ने गरेको, यसपाली भटमास भएन । त्यही हुनाले गाह्रो भयो । मैंले भने चामल नभए पनि मकै, कोदो त हुँदो रहेछ नि ? मकै, कोदोलाई नै नयाँ तरिका(परिकार)ले खाने गर्‍यो भने भै हाल्यो नि ।

फेरी प्रायः युरोपका देशहरुमा धान उत्पादन कम हुन्छ । गहुँ, मकै, फाफ़रलाई नै नयाँ नयाँ तरिकाले खाने गर्छन । भात नै खान पर्छ भन्ने पनि छैन नि । उसले भन्यो भात नखाई काम गर्न सकिंदैन, के गर्ने ? काम गर्ने भनेपछी मैंले कुरा धेरै अघि बढाइन । किनभने नखाई काम गर्न सकिंदैन पनि । कुरा यथार्थ हो । काम पनि गर्ने खान पनि नपुग्ने, यो चाहिं अचम्मको कुरा भयो । बरु कामै नगर्नेहरुले टन्न खाइरहेका हुन्छन् । प्युठाने भाईको कथा बदलिदो समाजले निर्माण गरेको भाते (भात नभई नहुने) संस्कृति अचम्मैको लाग्ने र यथार्थमा पहाडका मानिसहरुको उस्तै छ अवस्था जस्तो प्युठाने भाइको छ । वर्ष दिनभरि मरीमरी काम गर्दछन् । चार÷पांच महिना पनि खान पुग्दैन ।

यतिबेला कोरोना महामारीले विश्व आतंकित छ । नेपालमा पनि संक्रमित को सख्या बढिरहेको छ । राजधानी काठमाडौलगायत देशका अधिकांस सहरहरुमा निषेधाज्ञा जारी गरको छ । कोरनाबाट बच्न भएभरको उपाय लागइएको छ । यतिबेला बाढीपहिरो र खाद्यान्न अभावाको अर्को समस्य आइलागेको छ । केहिदिन अघि सिन्धुपाल्चोक लगायत देशका धेरै ठाउँमा पहिरो गयो । झन्डै दुई हजार जनालाई तत्काल बासको ब्यवस्था गर्नपर्ने अवस्था सरकार सामु छ । बाजुरा, मुगुलगायत पहाडी जिल्लामा चमाल अभाव हुँदा जनताको पेट खाली हुन अवस्था भैसकेको छ । यसको मतलव डिपो खाली पेट खाली ! कस्तो अचम्मको कुरा जुन देशको जनता कृषि पेसामा नै जीवन बिताउँछ र झन्डै ७४ प्रतिशत जनता कृषिमा आधारित छन् । जुन देश कृषिप्रधान भनेर विश्वमा चिनिन्छ । त्यो देशको जनताको अवस्था भने डिपो खाली हुँदा पेट खाली राख्नु पर्ने ? कस्तो बिडम्बना ! डिपो खाली पेट खाली । यो कुनै आक्रोस होइन, यथार्थ हो ।

एकछिनलाई मानौं चामलको अपुग वा अभाव हुनुको कारण धान उत्पादन भनेको जति भएन वा कमी भयो । त्यसलाई स्वीकार्न सकिएला । तर मकै पनि आवश्यकता भएजति उत्पादन नहुने तथ्यंकले देखायो । त्यसकारणले जनता भात, ढिंडो र रोटि केही खान नपाएर डिपो धाउँदा रहेछन् । एक तथ्यांकले देखाएको छ । यस वर्ष पौने १४ अर्बको मकै भारत, युक्रेन, अमेरिका, ब्राजिल,अर्जेन्टिना पाकिस्तान,म्यानमार र बंगलादेशबाट आयात भएको छ । धान र मकै मात्र होइन दाल, भटमास, बोडी, राजमा, चना, तोरी पनि क्यानाडा र ब्राजिलबाट आयात हुन्छ । फलफूलमा स्याउ भारत चीन, अमेरिकाबाट आयात भएको तथ्यंकले देखाउंछ । यस्तो अवस्थामा देशका जनता खाइरहेका छन् । एक कृषिप्रधान देश नै भोकमरीको वरिपरी फन्कामारी राख्नुपर्ने भई रहनु सबैभन्दा लज्जास्पद कुरा हो । यस्तो खाद्यन्न परनिर्भरताको अवस्थादेखि कहिले आत्मा निर्भर हुने ?

किन हुन्छ त सधै चामल अभाव ? के यसको समधान छैन ? यसको उत्तर छ । समाधान छ । समाधानका विभिन्न उपायहरु छन् । पहिलो सरकार र जनताको साझेदारीमा कृषि उत्पादन प्रणाली थालनी गर्ने । दोस्रो निजी क्षेत्रका उद्योगलाई कृषि उद्योग प्रणालीमा सहभागी गराउंदै लैजाने । निर्वाहमूखी खेती प्रणालीलाई उत्पादनमुखी खेती प्रणालीमा रुपान्तरित र भण्डारको ब्यबस्था । यी चार प्रणालीको ठिक ढंगले प्रयोग गर्नसके उत्पादन वृद्धि हुने र खाद्यन्न संकट अन्त्य हुने निश्चित छ । तर हरेक समस्यालाई राजनीतिक एजेन्डा मात्र बनाउने हो भने यो खाद्यान्न संकटको समस्याले कहीले छाड्ने छैन । सँधै डिपो खाली पेट खाली हुनुपर्ने बाध्यता आइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्