महामारी नियन्त्रणमा के काम भयो, के भएन ? • Image Khabar Image Khabar


महामारी नियन्त्रणमा के काम भयो, के भएन ?


Imagekhabar
१९ भाद्र २०७७, शुक्रबार १०:००

महामारी नियन्त्रणमा के काम भयो, के भएन ?

-नारायण पौडेल

विश्व समाज सुनसान प्रायः छ । दुनियाँको सबै शक्तिका अगाडि आफूलाई सर्वशक्तिमान सावित गर्न सफल मानव अहिले घरभित्र थन्किएको छ । सृष्टिको उत्कृष्ट प्राणी भएकाले मानवलाई सर्वश्रेष्ठ प्राणीको उपाधि पनि दिईएको छ । हुनपनि मानवजति चलायमान प्राणी अहिलेसम्म अरु थिएन । तर पछिल्लो समय मानवभन्दा धेरै गुणा बढी चलायमान अदृश्य शक्तिले विश्वलाई आफ्नो नियन्त्रणमा राखिरहेको छ । यतिसम्म कि मानवले सामान्य सावधानी अवलम्वन गरेन भने त्यो शक्तिको नियन्त्रणमा परी मृत्युवरण गर्दछ, गरिरहेको छ र अझैपनि कति समयसम्म गरिरहन्छ, एकिनका साथ भन्न सकिँदैन ।

मानव इतिहासमा पटक पटक विभिन्न महामारीहरु देखापरेको र त्यस्ता घटनाहरुबाट मानवले ठूलो धनजनको क्षति व्यहोर्दै आईरहेको छ भने भविष्यमा पनि मानवले अझै कति यस्ता विकराल परिस्थितीहरुको सामना गर्नुपर्ने हो कसैलाई थाहा छैन । भनिन्छ, ‘दशा बाजा बजाएर आउँदैन’ । तर अहिलेको महादशाले उत्पत्ति भएसँगै बाजा बजाएको थियो । तर त्यो बाजालाई विश्व समुदायले प्रारम्भिक चरणमा मनोरञ्जनको रुपमा लियो र कसैसँग रिसिइवी साँध्ने बहाना बनायो । परिणामस्वरुप अहिले समग्र विश्व अदृश्य शक्तिको नियन्त्रणले ग्रसित बनिरहेको छ, त्रसित बनिरहेको छ ।

सन् २०१९ को अन्त्यतिर चीनको बुआन प्रान्तमा एउटा संक्रमण भेटियो । जसलाई कोरोना भाइरस नामाकरण गरिएको छ र यसको न्वारन बाहेक अहिलेसम्म मानवले प्रक्रियागत वृद्धि विकासका सम्बन्धमा केही भन्न र गर्न सकिरहेको छैन । तर उक्त भाइरसले आफ्नो फैलावटलाई विश्वव्यापी बनाउँदै आफ्नो दिनानुदिन बृद्धि गराउँदै गएको छ । यसरी जन्मिएको करिब एकबर्ष पुग्न लाग्दा समेत कोरोना भाइरसको पास्नी त गर्न सकिएन, एउटा भोटो फेराउन समेत मानव असफल भईरहेको छ । कम्तीमा पनि यो भाइरसलाई मानवले आफ्नो सामिप्यतामा ल्याएर दुध चुसाउन सकेको भए आज भाइरसको मायाजालमा परी मानवले अनाहकमा मृत्युवरण गर्नुपर्दैनथ्यो, आफन्त तथा परिवारका सदस्यहरुवीच दुरी कायम गर्नुपर्दैनथ्यो र मानवले मानवलाई देख्दा वा भेट्दा त्रसित बनिरहनु पनि पर्दैनथ्यो ।

विज्ञान र प्रविधीले ठूलो फड्को मारिसकेको बताउने मानवले आफैं असुरक्षित हुने गरी के चमत्कार गर्‍यो त भन्ने प्रश्न अहिले गम्भीर रुपमा उठ्नुपर्ने थियो र सारा विश्व एकढिक्का भएर सबैलाई परेको साझा समस्याको समाधानका लागि अग्रसर हुनुपर्ने थियो । तर विश्व समुदाय एकअर्कामा हातेमालो गर्ने अवस्थामा अहिले पनि छैन र हातेमालो नगर्ने हो भने अहिलेको यो भाइरसजन्य समस्याको सहज समाधान पनि देखिँदैन । यो भाइरसले प्रत्यक्ष मानव जीवनमा आक्रमण गरिरहेको छ र त्यसको आक्रमणबाट मानवको मृत्यु भईरहेको छ । साथै यो भाइरसले बच्चा, युवा, बृद्ध, महिला, धनी, गरिब, राम्रो, नराम्रो, शक्तिशाली, कमजोर लगायतका कुनैपनि विशेषणलाई आधार बनाएको छैन ।

कोभिड–१९ को बिषयलाई लिएर एक देशले अर्को देशलाई आरोप–प्रत्यारोप गर्नु बाहेक शक्तिशाली मानिएका मुलुकहरु मिलेर यथाशक्य छिटो कोरोना भाइरसको भ्याक्सिन उत्पादन गरी विश्वभरका मानवको जीवन रक्षा गर्नुपर्दछ भन्ने आवाज कुनैपनि कुनाबाट उठेको छैन । के शासकहरुले मानवरहित शासनको परिकल्पना गरिरहेका छन् ? कि मानव मृत्युमा खुशीयाली मनाउन तल्लीन भएका हुन् ? यो २१ औं शताब्दीको महामारी हो, १२ औं शताब्दीतिरको जस्तो होईन । त्यसैले जुनबेला जस्तो समस्या आउँछ, त्यसलाई त्यही समय अनुसार समाधान गर्नुपर्दछ र यस्ता विपत्तिहरुको समाधान सकेसम्म छिटो हुन सकेन भने यसको दिर्घकालिन असर समाजमा रहिरहन सक्छ ।

कसैलाई नछाडेको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि छाडेन र अहिले नेपालमा यसको संक्रमण उत्कर्षमा पुग्ने चरणमा छ । मुलुक इतिहासमा पहिलोपटक चैत्र ११, २०७६ देखि करिब अहिलेसम्म लकडाउनकै अवस्थामा देखियो । तर यतिधेरै लामो लकडाउनमा सकेसम्म सर्वसाधारण नागरीकहरुलाई घरभित्रै थुन्ने बाहेक अन्य कुनैपनि नीति नेपाल सरकारले अवलम्वन गरेन र राहतका प्रभावकारी कार्यक्रमहरु पनि देख्न सुन्न पाईएन । यसरी संक्रमणले व्याकुल भएको नेपाली समाज अब बिस्तारै भोकमरीको समस्याले ग्रस्त हुनसक्ने चिन्ता बढ्न थालेको छ । यति हुँदा पनि न मुलुकमा कोरोना भाइरस संक्रमणको चेकजाँच सरल र सहज छ, न त परिक्षण विश्वशनीय नै छ । तैपनी नेपाली जनताहरु आफैं सजग रहन सके बाँचिएला कि भन्ने आशामा दिनहरु व्यतित गर्न बाध्य छन् ।

विगतका दिनहरुमा यस्ताखाले कुनै विपत्तिहरु आउँदा कम्तीमा पनि मानव मानववीच हातेमालो गर्न सकिने अवस्था भएकै कारण मानवलाई ठूलो क्षति हुनबाट बचाउन सकिन्थ्यो । तर अहिलेको यो महामारीमा हातेमालो गर्न नमिल्ने नहुने परिस्थिती निर्माण भयो । तथापी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट महामारी नियन्त्रणका लागि उचित र प्रभावकारी नीति अवलम्वन गरी त्यसको कार्यान्वयन गर्न गराउन सकिने वातावरण बनाउन अवश्य नै सकिन्थ्यो होला । तर कसैले यो बारेमा प्रयत्न नै गरेन ।

अहिलेसम्म विश्वव्यापी रुपमा हेर्दा यो महामारी नियन्त्रणका लागि गरिएका प्रयासहरुमा सामाजिक दुरी, सेनिटाइजर, मास्क, पिपिई, साबुन पानी आदिको प्रयोग, सक्रिय संक्रमितलाई आइसोलेशन वा भ्यान्टिलेटरमा राखी उपचार, संक्रमितहरुको क्वारेन्टाइन बास, पिसिआर परिक्षण र आत्मबल बृद्धि गराउने उपायहरु भन्दा बाहेक अन्य विकल्पहरु पत्ता लागेका छैनन् ।

यस्तो महामारीको समयमा विश्वभर विभिन्न खेलकुदका कार्यक्रमहरु भईरहेका छन् । विश्वका केही मुलुकहरुमा निर्वाचन सम्पन्न भए भने आउँदो नोभेम्वरमा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनले विश्वकै राजनीति तरंगित भईरहेको छ । साथै कोभिड–१९ संक्रमणको पहिलो श्रेणीमा रहेको अमेरिकामा नजिकिँदो निर्वाचन सँगै दिनहुँजसो हुने गरेका हत्याका घटनाले त्यहाँका नागरीकहरु सडकमा उत्रन बाध्य भएका छन् । अर्कोतर्फ हाम्रा नजिकका छिमेकी राष्ट्रहरु चीन र भारत विशेषगरी सीमा विवादमा आमुन्ने–सामुन्ने भईरहेका छन् । यसर्थ शक्ति राष्ट्रहरुवीच लुकेको स्वार्थकै कारण कोरोना महामारी नियन्त्रणमा समेत ढिलाई हुने देखिन्छ ।

यस्तो परिदृश्यमा नेपाल सरकारले गत श्रावण ७ गतेदेखि जारी लकडाउन अन्त्य गरेको बताएपनि त्यसयता विभिन्न स्वरुपका बन्दाबन्दी गर्दै आएको छ । तर सरकारको यस्तो गतिविधीले महामारी नियन्त्रणमा कुनै बल पुगेको छैन । किनकी सरकार विभिन्न स्वरुपमा निषेधका तरिका त अवलम्वन गर्दछ, तर निषेध सँगै आवश्यक नीति तथा कार्यक्रम नै बनाउँदैन, अनि कसरी नियन्त्रण हुन्छ महामारी ? अझैपनि नेपाल भारत सीमा नाकाहरुमा सर्वसाधारणहरुको निर्वाध आवतजावत चलिरहेको छ भने भाद्र १६ गतेदेखि अन्तर्राष्ट्रिय नियमित उडान शुरु गरिएको छ ।

त्यस्तै आगामी असोज १ गतेदेखि आन्तरीक उडान सहित लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरु समेत सञ्चालनमा ल्याउने सरकारको तयारी छ । तर कोरोना संक्रमण नियन्त्रणका लागि कुनैपनि प्रभावकारी स्वास्थ्य मापदण्ड बनाईएको छैन भने बनाईएका मापदण्डहरुको पनि कार्यान्वयन गरिदैंन । यस्तो अवस्थामा संक्रमण नियन्त्रण होला कि नियन्त्रण बाहिर जाला ? यसतर्फ पनि सजग हुने हो कि ? नभए कर उठाउने, बन्द उद्योगधन्दा तथा व्यवसाय खुलाउने, विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने, दशैं तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्ने जस्ता बहानामा गरिने लापरवाहीले धनजनको ठूलो क्षति व्यहोर्नुपर्ने परिस्थिती समेत नआउला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्