बलिउडका फिल्म निर्माताको अपराध यात्राः फिल्म डुबेपछि नेपाल छिरेर नक्कली सुन तस्करी • Image Khabar Image Khabar


बलिउडका फिल्म निर्माताको अपराध यात्राः फिल्म डुबेपछि नेपाल छिरेर नक्कली सुन तस्करी


Imagekhabar
१८ भाद्र २०७७, बिहीबार ०६:१९

बलिउडका फिल्म निर्माताको अपराध यात्राः फिल्म डुबेपछि नेपाल छिरेर नक्कली सुन तस्करी

काठमाडौं । भारतीय फिल्मी उद्योग बलिउडमा निर्माताका रूपमा छवि बनाएका निलेस सखियाले ‘पेनाल्टी’नामक फिल्म बनाएका थिए ।

भारतीय बक्स अफिसका अनुसार फिल्म १९ जुलाई ०१९ मा रिलिज भएको थियो ।

फिल्मले केही लाख भारतीय रुपैयाँ मात्रै ‘ग्रस कलेक्सन’ गरेको थियो । नतिजा– फिल्ममा दुई करोड भारतीय रुपैयाँ सखियाले डुबाए ।

सखियाले ‘पेनाल्टी’मा क्षेत्रीयताका कारण एउटा युवाले फुटबल टिममा प्रवेश नपाएको कथा उठाएका थिए ।

तर, फिल्मको लगानी डुबेपछि सखियासँग विकल्प साँघुरिए । लगानी चाँडो उठाउने विकल्पका रूपमा उनले सुनचाँदी तस्करीको योजना बनाए ।

‘लाइट, क्यामरा, एक्सन’को उज्यालो दुनियाँबाट उनी गुप्त अपराधमा अँध्यारो दुनियाँमा प्रवेश गरे । सुनचाँदी तस्कर गर्न नेपाल छिरे ।

नवलपरासीबाट पक्राउ परेका उनी बलिउडका फिल्म निर्माता रहेको अनुसन्धानमा भेटियो ।

प्रहरीले उनलाई सुन्धाराबाट बरामद नक्कली सुन प्रकरणमा पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनी आफैँले फिल्म डुबेपछि सुनचाँदी तस्करीका लागि नेपाल छिरेको बताएका छन् ।

फिल्ममा दुई करोड भारतीय रुपैयाँ डुबाएको सखियाले प्रहरीसँगको बयानमा बताएका छन् ।

अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘यसले सिनेमामा दुई करोड रुपैयाँ भारु डुबाएको बयान दिएको छ । यही लगानी उठाउन नेपाल आएको देखिन्छ ।’

प्रहरीका अनुसार सुन्धाराबाट बरामद नक्कली सुनको मुख्य हिस्सेदार सखिया नै हुन् । बरामद सुन आफ्नो रहेको सखियाले स्वीकार गरेका छन् ।

‘बरामद नक्कली सुनको मुख्य हिस्सेदार सखिया रहेको खुलेको छ । सुन्धाराबाट बरामद नक्कली सुनमा सोही लगानी उठाउने उद्देश्यले लगानी भएको देखिन्छ,’ एसएसपी थापाले भने ।

प्रहरीले सखियासँगै विजय पटेल र दिवाङ पटेललाई पनि पक्राउ गरेको थियो । सखिया र सञ्जय पटेल बारा हुँदै नेपाल प्रवेश गरेका थिए ।

यसका लागि सघाउने काम भने बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले गरेका थिए । अन्सारीकै गाडीमा उनीहरू नेपाल आएका थिए ।

प्रहरीका अनुसार तस्करीकै क्रममा सञ्जय पटेलको अन्सारीसँग चिनजान थियो । सखियालाई अन्सारीसँग भेटाउने काम सञ्जयले गरेका थिए ।

सुन्धारामा बरामद नक्कली सुन तस्कर गरी मालामाल हुने योजना सोही क्रममा बनेको थियो ।

तस्करी गर्न नेपालतर्फको सम्पूर्ण सेटिङ मिलाउन अन्सारीले प्रतिबद्धता जनाएपछि नक्कली सुनमा लगानी गर्न सखिया राजी भएका थिए । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्