प्लाज्मा थेरापीबाट उपचारमा विशेषज्ञहरुले उठाए प्रश्न • Image Khabar Image Khabar


प्लाज्मा थेरापीबाट उपचारमा विशेषज्ञहरुले उठाए प्रश्न


Imagekhabar
१६ भाद्र २०७७, मंगलवार २०:३२

प्लाज्मा थेरापीबाट उपचारमा विशेषज्ञहरुले उठाए प्रश्न

काठमाडौं, भदौ १६ । कोरोना संक्रमणलाई जितेकाहरुको शरीरको प्लाज्मा संक्रमितलाई ‘क्लिनिकल ट्रायल’ नै नगरिकन दिन सुरु गरिएको भन्दै विशेषज्ञहरुले प्रश्न उठाएका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभरका २२ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गराउन सुरु गरेको छ ।

जसमा विशेषज्ञहरुले विनापरीक्षण नै प्लाज्मा थेरापीबाट उपचार गर्दा त्यसले बिरामीको शरीरमा गम्भीर असरसमेत पार्नसक्ने जनाएका हुन् ।

रक्तविशेषज्ञ डा. विशेष पौडेलले प्लाज्माबाट हुने उपचार कोभिड-१९ को लागि प्रमाणित भइनसकेको बताउनुभयो ।

उहाँले ‘उपचारका लागि केही पाइएन, अब प्लाज्मा दिऊँ’ भनेर बिरामीको जीवनमाथि खेलबाड गर्ने काम नगर्नसमेत आग्रह गर्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का खोप वैज्ञानिक डा. तीर्थराज घिमिरेले प्लाज्मा विधिबाट गरिने उपचार शतप्रतिशत सफल नहुने बताउनुभएको छ ।

कुनै व्यक्ति कोभिडको बिरामी भए उक्त व्यक्तिको रगतमा कोभिड-१९ विरुद्धको ‘एन्टिबडी सर्कुलर’ हुने र यो विधिबाट गरिने उपचार शतप्रतिशत नहुने भएको थाहा हुँदा-हुँदै पनि नेपालमा किन आयो ? भन्ने बुझ्न नसकेको बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने प्लाज्मा थेरापीबाट क्लिनिकल परीक्षण भन्दापनि ‘अब्जरभेसन’ परीक्षणको रुपमा उपचार गरिएको बताउनुभयो ।

अहिले नै उपचारको विधिको रुपमा सबै बिरामीलाई प्रयोग नगरिएको भन्दै उहाँले पहिलो चरणमा प्लाज्मा थेरापी गराइएका संक्रमित र नगराइएका संक्रमितको बीचमा तुलना गरी निष्कर्षमा पुग्नका लागि परीक्षण गरिएको बताउनुभयो ।

यता, नेपाल चिकित्सक संघले भने संक्रमणलाई जितेकाहरुलाई प्लाज्मा दान गर्न आग्रह गरेको छ ।

संघले संक्रमणलाई जितेका व्यक्तिहरुको एक पिन्ट प्लाज्माले हजारौं व्यक्तिहरुलाई बचाउन सकिने भन्दै दान गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्