काठमाडौं उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने


Imagekhabar
११ भाद्र २०७७, बिहीबार २०:२०

काठमाडौं उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

भक्तपुर, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने भएको छ ।

यसबारेमा बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गर्ने सहमति भएको छ ।

यसबारेमा बिहीबार उपप्रधान एवं रक्षामन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, स्वास्थ्य र गृह मन्त्रालयका सचिव र उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठको टोलीबीच छलफल भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो-‘छलफलमा उपत्यकामा तीन हजार बेड पुगिसकेको र अब तीन हजार थप्नेबारेमा छलफल गरी सहमति भएको छ । सहरी विकास मन्त्रालयले व्यवस्थापन गर्ने क्वारेन्टिनस्थलको स्थानीय तहसँगको समन्वयमा खोजी गरी पहिचान गरिने भएको छ ।’

उहाँकाअनुसार उपत्यकामा दुई हजार बेडको आइसोलेसन तयार भएको र स्थानीय तहसँगको समन्वयमा केही निजी अस्पतालको सहमतिमा थप एक हजार बेडको आइसोलेसन तयार गर्ने सहमति भएको छ ।

त्यसैगरी, यसअघि क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने संक्रमितको दैनिक खाना, खाजाका लागि सरकारले रु. १७५ निर्धारण गरेकोमा यो रकम बढाउनुपर्ने नगरपालिका फोरमले छलफलमा माग गरेको छ ।

श्रेष्ठले भन्नुभयो-‘दैनिक रु. १७५ मा ब्रेकफास्ट, खाजा, दुईछाक खाना खुवाउन सक्ने अवस्था छैन । थप रकम खर्च गर्दापनि बेरुजु निस्कन्छ, यो रकमलाई बढाएर दैनिक रु. ५०० बनाउनेबारे छलफल भयो । यसमा सीसीएमसीसँग मौखिक सहमति भएको छ । मन्त्रिपरिषद्ले यो निर्णय गर्ने आशा लिएका छौं ।’

उपत्यकामा बढ्दो संक्रमण रोक्न नगरपालिकाले क्वारेन्टिनदेखि आइसोलेसनसम्मको व्यवस्थापनमा सरकारसँग हातेमालो गर्दै जाने भएको छ ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टिन र आइसोलेसन बढाउने भएको हो ।

बिहीबारमात्रै उपत्यकामा ३७७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १२ हजार ६२९ को पीसीआर परीक्षण गर्दा थप एक हजार १११ मा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा अहिलेसम्म ३५ हजार ५२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसममध्ये १५ हजार ७३ जना आइसोलेसनमा छन् भने अहिलेसम्म २० हजार ७३ जना निको भएर फर्किएका छन् ।

देशभर हाल नौ हजार ४८८ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट १८३ को ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्