Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’ (भिडियो)


0
Shares

काठमाडौं, असार ४ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले बेलायतको संसदमा ‘ब्रेक्जिट’ विधेयक पारित हुन नसकेपछि प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिएको उदाहरण दिँदै गुठीसम्बन्धी विधेयकबाट प्रधानमन्त्री ओली पछि हटेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे ।

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले अछामका एक युवालाई पक्राउ गर्न तीनजना भारतीयहरु अछाम पुगेको घटनाप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गरे ।

सत्तारुढ दलका सांसदहरु नवराज सिलवाल र निरुदेवी पालले संसदमा प्रतिपक्षले प्रधानमन्त्रीलाई बोल्न नदिएकोप्रति आपत्ति जनाए ।

यस्तै, सांसदहरु दिलेन्द्रप्रसाद बडू, टेकबहादुर बस्नेत, देवप्रकाश तिमिल्सिना, पुष्पा भुसाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

यसैबीच, प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकहरुमाथि जारी छलफलअन्तर्गत् श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको शीर्षकमा छलफल भएको छ ।

सांसदहरु डिला संग्रौला, सञ्जयकुमार गौतम, ज्ञानेन्द्रबहादुर सार्की र प्रेम सुवालले मन्त्रालयगत शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत् गरे ।

भिडियो हेर्नुहोस्