काठमाडौं, असार ४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीतका जुनसुकै विधेयक आएपनि पारित हुन नदिने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै उनले संविधानविपरीत सरकारले संसदमा ल्याएको गुठी विधेयकसँगै मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयक खारेज गर्न माग गरे ।
उनले मिडिया काउन्सिल, सन्चार तथा प्रविधि, मानवअधिकार आयोगसम्बन्धी विधेयकले प्रजातन्त्रमाथि नै आक्रमण गरेको भन्दै विधेयक जबर्जस्ती संसदमा पेस गरे परिणाम नराम्रो हुने चेतावनी दिए ।
सभापति देउवाले गुठीसम्बन्धी विधेयक फिर्ता गर्ने मन्त्रीको घोषणा संसदीय विधि र प्रक्रियाविपरीत भएको भन्दै संसदमा प्रवेश गरिसकेको विधेयक संसदले नै फिर्ता लिनुपर्ने प्रक्रिया रहेको बताए ।
उनले संसदमा प्रतिपक्ष उठेपछि पहिले बोल्ने समय दिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको भन्दै प्रतिपक्षले उठाएका विषयहरु सरकारले पूरा गर्नुपर्ने बताए ।
सभापति देउवाले प्रधानमन्त्री ओलीको एकहप्ते युरोप भ्रमण उपलब्धिविहीन र कच्चा कूटनीतिक भ्रमण भएको टिप्पणी गरे ।
जेपनि हुनसक्ने चेतावनी
यस्तै, विशेष समय लिएर बोल्दै राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सरकारले आफूहरुले उठाएका मागको सुनुवाइ नगरेको भन्दै सरकारको रवैया कायम रहे रोष्ट्रम घेराउमात्र नभइ संसदमा जेपनि हुनसक्ने चेतावनी दिए ।
उनले सरकारले फेरि एकपटक मधेसमा आन्दोलन होस् भन्ने चाहिरहेको भन्दै आफ्ना माग सम्बोधन नभएर सदन छाडेर सडकमा जाने चेतावनी दिए ।
प्रमुख सचेतक कर्णले संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका माग पटक–पटक राखेपनि सुनुवाइ नभएको गुनासो गरे ।









प्रतिक्रिया दिनुहोस्