Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सभामुख चुकेको चुक्यै


0
Shares

काठमाडौं, असार ४ । सत्तापक्ष, प्रतिपक्ष र सभामुखको हठका कारण मंगलबार संसदमा असहज स्थिति उत्पन्न भयो ।

यस्तो नहोस् भन्नका लागि संसद सुरु हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा विस्तृत् छलफल गर्ने गरिन्छ ।

यसैगरी, सभामुखलाई सहयोग गर्न संसद सचिवालय पनि हुन्छ । तर, मंगलबार संसद सन्चालनमा सभामुख फेरि एकपटक चुकेका छन् ।

सभामुख कृष्णबहादुर महरा संसद सन्चालनमा पटक–पटक चुक्दै गएको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन् ।

चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुँदा होस् या प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा प्रयोग गरेको शब्दलाई लिएर उत्पन्न विवादका विषयमा नै किन नहोस् ।

यसैगरी, लोकसेवा आयोगको विज्ञापनका विषयमा प्रतिपक्ष उठिरहेका बेला सत्तापक्षलाई बोल्न दिएको विषय होस् वा असार ३ गते हुनसक्ने सम्भावित विवादका विषयमा पूर्वजानकारी हुँदाहुँदै संसदअघि बढाउने विषय होस् ।

सबैमा सभामुखको भूमिकामा प्रश्न उठिरहेको छ । असार ३ गते त सभामुख, सत्तापक्ष र प्रतिपक्षको हठकै कारण संसद नै लज्जित बन्नुपर्‍यो ।

मंगलबारको घटनापछि सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई अमर्यादितको संज्ञा दिए ।

सभामुखले बैठक डाक्नु र प्रधानमन्त्रीलाई बोल्न दिनु । प्रतिपक्ष उठिरहेको समयमा प्रधानमन्त्री रोष्ट्रममा बोल्न जानु । प्रधानमन्त्री नै बोल्न गइसकेपछि असहिष्णु भएर प्रतिपक्षले सभामुखको आग्रह नमानी ‘वेल’ घेराउ गर्नु । यी सबै प्रकरणमा तीनै पक्ष उत्तिकै जिम्मेवार देख्छन्, संसदका पूर्वसचिव सोमबहादुर थापा ।

सभामुखको सहजताका लागि सत्तापक्ष र प्रतिपक्ष सम्मिलित कार्यव्यवस्था परामर्श समिति बनाइएको छ । हरेक दिन संसद सुरु हुनुअघि सभामुखको नेतृत्वमा कार्यव्यवस्थाको बैठक बस्ने गरेको छ ।

जहाँ सम्भावित गतिविधिको पहिल्यै छलफल हुन्छ र असहज हुने भए सभामुखले बैठक स्थगित पनि गर्नसक्छन् । अर्कोतर्फ सभामुखलाई सहजीकरण गर्न संसद सचिवालय नै खटिएको हुन्छ ।

तर पनि किन चुक हुन्छ त ? भन्ने प्रश्नमा नेकपा सांसद रामकुमारी झाँक्री भन्छिन्–‘यसमा सचिवालयको पनि कमजोरी छ ।’

नेपालको संसदीय अभ्यासमा विगतका अनुभव पनि त्यति मीठा छैनन् । तर, केही संसदीय मूल्य–मान्यता र संसदको गरिमाका विषयमा नेपालको योगदान अन्तर्राष्ट्रियस्तरमा पनि छ ।

विश्वका संसदीय अभ्यास भएका मुलुकका राम्रा पक्षको अनुशरण गरेर पनि सभामुखले संसदीय गरिमा कायम राख्न सक्छन् । तर, सत्तापक्ष र प्रतिपक्षको सदैवको जबर्जस्ती हठको दबाब र चेपुवामा पर्दा उनी चुक्दै आएका छन् ।

भिडियो हेर्नुहोस्