अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार ३ । प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा वक्तत्व दिनसमेत पाएनन् ।
भर्खरै सम्पन्न आफ्नो युरोप भ्रमण र सार्वजनिक महत्वको विषयमा बोल्न ‘रोष्ट्रम’मा पुगेका प्रधानमन्त्री ओली प्रतिपक्षको अवरोधका कारण वक्तव्य दिन नपाइ फर्किनुपरेको हो ।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेवित्तिकै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सामान्यतः सांसदहरु उठिरहेको बेलामा संसद बैठकअगाडि बढाइँदैन । तर, प्रमुख प्रतिपक्षको विरोधकैबीच सभामुख महराले सार्वजनिक महत्वको वक्तव्यका लागि प्रधानमन्त्री ओलीलाई रोष्ट्रममा बोलाइदिए ।
यसपछि आफ्नै स्थानमा उठेर विरोध गरिरहेका प्रतिपक्ष दलका सांसदहरु ‘बेल’ घेराउ गर्न पुगे । नाराबाजी चलिरहँदा सभामुखले पटक–पटक सांसदहरुलाई बस्न आग्रह गरे । तर, सांसदहरुले नाराबाजी गरिरहे ।
सभामुखले प्रधानमन्त्री बोलिसकेपछि प्रतिपक्षलाई बोल्न दिनेभन्दा पनि उनीहरु मानेनन् । उनीहरुको माग थियो, पहिला आफूले बोल्न पाउनुपर्छ ।
सभामुखको ‘रुलिङ’ र प्रतिपक्षको नाराबाजी चहिरहँदा प्रधानमन्त्री भने रोष्ट्रममै थिए ।
पटक–पटक रुलिङ गर्दा पनि विपक्षी दलका सांसदहरुले नाराबाजी र रोष्ट्रम घेराउ गरेपछि सभामुख महराले बैठक स्थगित गरे र प्रधानमन्त्री ओली पनि सम्बोधन नगरी रोष्ट्रमबाट फर्किए ।
बैठक स्थगित भएपछि प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले संसदमा प्रतिपक्ष दललाई जनताका विषय राख्न नदिएको प्रतिक्रिया दिए ।
यता, सत्तारुढ दल नेकपाका सांसद माधवकुमार नेपालले प्रतिपक्षले नाजायज माग राखेर संसद अवरोध गरेको प्रतिक्रिया दिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तापक्ष र प्रतिपक्ष दुवैले महत्वपूर्ण समय खेरफाल्नुको साथै संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाए ।
राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्ष दललाई कुरा राख्न नदिनु संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरे ।
सत्तापक्ष र विपक्षबीच प्रधानमन्त्रीले कि प्रतिपक्ष दलका नेताले पहिले सम्बोधन गर्ने भन्ने विषयमा सहमति नहुँदा प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको हो ।
सत्तारुढ दल पहिले प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुपर्ने अडानमा थिए भने प्रतिपक्ष दलका नेताले भने पहिले सम्बोधन गर्न पाउनुपर्ने अडान लिएका थिए ।
दुवै पक्षले आफ्नो अडानलाई प्रतिष्ठाको विषय बनाएपछि संसद बैठक अवरुद्ध भएको हो ।









प्रतिक्रिया दिनुहोस्