
काठमाडौं, भदौ ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर कार्यदलका सदस्यहरुले प्रतिवेदन बुझाएका हुन् ।
पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल ८ दिनअघि गठन गरिएको थियो ।

कार्यदलले पार्टीभित्रको वर्तमान अवस्था समीक्षा गर्दै पार्टी एकमत बनाएर लैजान चालिनुपर्ने कदमका बारेमा सुझाव दिएको छ ।
अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका दाहाल–माधव नेपालसहितका नेताले ओलीलाई दुबै पदबाट राजीनामा गर्न दबाब दिए पनि उहाँले ठाडै अस्वीकार गर्दा नेकपा लामो समयदेखि अनिर्णयको बन्दी बनेको थियो ।
यस्तोमा ओलीले नटेरेपछि दाहाललगायतका नेता आफ्ना मागबाट पछि हटेर कार्यदल बनाई टालटुले समाधान खोज्न बाध्य भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्