राष्ट्रकविको महाप्रस्थान • Image Khabar Image Khabar


राष्ट्रकविको महाप्रस्थान


Imagekhabar
६ भाद्र २०७७, शनिबार ०९:०९

राष्ट्रकविको महाप्रस्थान

-संजिव कार्की

औसत मान्छेहरुको आयु भन्दा बेसी अर्थात एक युग १०१वर्ष यो धर्तीको भागभोग सकेर राष्ट्रकवि माधव घिमिरे हामीबाट कुशे औंसीको अघिल्लो दिन भाद्र २ गते २०७७ साँझ ५ः५५ मा सदाको लागि भौतिक शरीर छोडेर गए । १०२ वर्ष पुग्न ३१ दिन बाँकी हुँदै उनको मानो दैवले खोस्यो । नेपाली साहित्य आकाशका उज्जल नक्षत्र घिमिरे दीर्घ साधक र दीर्घ जीवन व्यतित गर्ने लोकप्रिय श्रस्टा हुन् । आफ्नी जीवन संगिनी महाकाली घिमिरको जन्म दिन २०१३ साल देखि मनाएका कविले अब कहिल्यै नमनाउने गरि बिश्राम लिए । आफ्ना छोराछोरीले बाबुको मुख हेर्ने कुशे औंशी कविवरको महाप्रस्थानको संयोग पर्‍यो ।

आफ्नो जन्म दिनमा संधै आफ्नो बंगैचाको सुन्दर फूल उपहार दिने श्रीमान् माधव घिमिरेलाई अन्तिम बिदाईमा पुष्प गुच्छा अर्पण गर्नुपर्‍यो श्रीमती महाकाली घिमिरेले । बाबुको मुख हेर्ने दिन भौतिक शरीरमा मुखाग्नी अर्पण गर्ने दुखद संयोग बन्यो दुई छोरा इन्दिवर घिमिरे र राजिव घिमिरेको । घिमिरेका छोरीहरु शान्ति, कान्ति, मंजु, उषा, किरण र ज्योति जसरी शोकाकुल बने त्यस्तै शोकाकुल बन्यो देश पनि । नेपाली साहित्य आकाशको गर्विलो तारा गुमाए नेपाली जगतले । नेपाली साहित्य सर्जकहरुको लागि दुःखको महासागर खसेको दिन बन्यो भाद्र २ गतेको दिन । अपुरणीय क्षति भयो नेपाल र नेपालीको लागि ।

सरकारका उप प्रधानमन्त्रीले राष्ट्रिय झन्डा ओडाएर घिमिरेलाई राजकीय सम्मानका साथ बिदाई गरे भने नेपाली सेनाले आफ्ना मानार्थ जर्नेललाई सैनिक औपचारिक सलामी र सम्मानका साथ सवयात्रा चलायो । एउटा सर्जकको यो भव्य बिदाई आम श्रष्टाको आत्मसम्मान र स्वाविमानसँग जोडिएको छ । श्रष्टाको राष्ट्रका निधि हुन् सम्पति र शोभा हुन् पुष्टी भएको छ ।

माधव घिमिरे बहुआयामिक कर्म गरेका कलमवीर हुन् । अध्यापन, पत्रकारिता, प्रशासक र सिर्जनाकर्मको माध्यमबाट नेपाली माझ चिनिएका घिमिरे राष्ट्रकविको सम्मान र उपाधि पाएर २०६० देखि १७ वर्ष नेपाली वांगमयको जीवित शोभा बनेर रहे । अत्यन्त लोकप्रिय गीतहरु, कविता , नाटक र साहित्यको माध्यमबाट नेपाली जनमानसमा राष्ट्रकवि अजर अमर रहनेछन । उनको योगदान नेपाली साहित्यले कहिल्यै भुल्ने छैन, आफ्ना कृतिहरुका साथ कवि युग युग बाँचिरहने छन् । नेपाली साहित्य भण्डार कविवरको कृतिले सम्वृद्द छ । शोभनीय छ ।

राष्ट्रकवि घिमिरेको नश्वर चोला उठ्यो । १०१ वर्षको भौतिक जिन्दगी जिएर माधव घिमिरेले उन्नत मानव, सिर्जनशील मानव भएर कहिल्यै नमर्ने अजर अमर, अविनाशी साहित्यिक कृति र कर्म छोडेर यो संसार त्यागे । पन्च भौतिक तत्व निर्मित मानव शरीर पशुपतिमा राजकीय सम्मानका साथ खरानीमा परिणत भयो । भौतिक देह अवसान भएपनि अमर कृति गीतसंगीत, कविता ,नाटक, साहित्यका दर्जनौं कृतिमा घिमिरे जीवन्त र कालजयी छन । प्रत्येक नेपालीले यिनको नाम श्रद्धापुर्वक उच्चारण गर्नेछन ।
‘आएर कहिल्यै ऋतु सिद्दिदैन
लाएर माया मुटु रित्तिदैन’

नेपाली वाङ्गमयका अथक साधक घिमिरेले आफ्नो महाकाव्य ऋतम्भारा लेखिसक्ने समय पाएनन् । पारिवारिक श्रोतका अनुसार यही भाद्र महिनाभित्र उक्त महाकाव्य सक्ने कविको अठोट र इच्छा थियो । तर दैवको लिला त्यो सपना अधुरै रहयो । नेपाली साहित्यमा अनवरत लेखिरहने घिमिरे परिस्करवादी शैली र स्वच्छन्दतावादका अग्र लेखक हुन् । वि.सं २००१ मा क्वीन्स कलेज बनारसबाट भारतमा शास्त्री अध्ययन गरेका घिमिरेले जीवनकालमा लेखनका अलवा निम्न कामहरु पनि गरे ।

लेखक, नेपाली भाषानुवाद (१९९९) ,सहसम्पादक, गोरखापत्र (२००२–००४ ) ,प्रधानाध्यापक, यशोब्रम्हा आधार स्कुल ,लमजुंग (२००५–२००८ ) प्राध्यापक, कलेज अफ एजुकेसन (२००९–२०१४) सदस्य, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, (२०२४–२०१८, २०२६–२०३५)आजीवन सदस्य, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (२०२८) ,उपकुलपति, नेराप्रप्र (२०३६–२०४५) ,कुलपति, नेराप्रप्र (२०४६–२०४७),अध्यक्ष , नेपाल भारत मैत्री संघ (२०५५) ,सदस्य राजपरिषद (२०५९–२०६३), कृतिहरूमा नवमञ्जरी (कविता संग्रहः १९९४ ,नयाँ नेपाल (गीतिकाव्यः २०१३),गौरी (शोककाव्यः २०१५) ,राजेश्वरी (खण्डकाव्यः २०१७),पापिनी आमा (खण्डकाव्यः २०१७) ,राष्ट्रनिर्माता (खण्डकाव्यः २०२३) ,धर्तीमाता (खण्डकाव्यः २०३०) ,किन्नर किन्नरी (गीत संग्रहः २०३३),बोराको परदा (खण्डकाव्यः २०५७),इन्द्रकुमारी (खण्डकाव्यः २०५७),गौथली र गजधम्मे (खण्डकाव्यः २०५७) ,चैत वैशाख (कविता संग्रहः२०६०)

गीतिनाटक
शकुन्तला (२०३७),मालती मङ्गले (२०३९) ,विषकन्या (२०५०),अश्वत्थामा (२०५३),हिमालपारि हिमालवारि–२०५४, देउकी (२०५५), बालकुमारी (२०६१) ,निबन्ध र प्रबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत (२०३०),चारु चर्चा (२०५८)

बालसाहित्य
घामपानी (कविता ससंग्रह २०१०), बाललहरी (कवितासंग्रहहः २०२६),सुनपङ्खी चरी (गीतसंग्रह २०५३),मनचिन्ते मुरली (कथासंग्रह: २०५७) ,बिजुले र बिजुला (कवितासंग्रह २०६३)

अनुवाद
उषाचरित्र (चम्पूकाव्यः १९९८)
नागानन्द (गीतिनाटकः २००२)
दुर्गासप्तशती (काव्यः२०५८)

उपाधि
राष्ट्रकवि (२०६०),मानार्थ विद्यावारिधि (त्रिभुवन विश्वविद्यालयः २०७३),मानार्थ सहायकरथी (२०७४)

विभूषण
सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (२०५६) ,वीरेन्द्र ऐश्वर्य सेवापदक (२०५८) ,महाउज्ज्वल राष्ट्रदीप (२०७५)
पुरस्कार– सरस्वती काव्य पुरस्कार (२००४),राजकीय प्रज्ञा विशिष्ट पदक (२०२२),त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३) ,सीताराम पुरस्कार (२०५०),आदिकवि भानुभक्त पुरस्कार (२०५२),भूपालमानसिंह कार्की प्रज्ञापुरस्कार (सार्कस्तरीयः २०५५) ,वसुन्धराश्री पुरस्कार (२०५७),साझा पुरस्कार (२०५४ र २०५८) ,राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकारः २०५९) भानुभक्त पुरस्कार (नेपाल सरकारः २०७२) ,यात्री वाङ्मय पुरस्कार (२०७३) ,मनिराज वाङ्मय पुरस्कार(२०७४)

सम्मान
सिलसिलाद्वारा रथयात्रा (२०५१) देवकोटा शताब्दी सम्मान (२०६६)पद्मश्री साधना सम्मान, शताब्दी उक्लेर एक वर्ष नाघेका देश प्रेमका गीत लेख्ने, माटोको माया बोल्ने कवि माटोका सच्चा भक्त हुन् । हामी धर्ती पुत्र हुनुको नाताले हाम्रो पहिलो धन माटो र पानी हो भन्ने उनको विश्वास थियो ‘तराई सुनको टुक्रा र हिमाल हिरा हो’ भन्ने कविले तराई र पहाडको महत्व देखेका थिए ।

नेपालीलाई माटोको माया र धर्तिको पहिचान गराएका थिए । माहकाव्य पुरा गर्न नपाए पनि खण्डकाव्य मार्फत उनको ख्याती चुलिएको छ । पापिनी आमा ,नयाँ नेपाल ,गौरी , राजेश्वरी , रास्ट्रनिर्माता ,धर्तीमाता जस्ता दर्जनौ खण्डकाव्य र मालती मंगले , शकुन्तल, देउकी जस्ता गीति नाटकमा राष्ट्रकवि सदैव जीवित र पुजनीय छनः

तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको ।
माटो र पानी पहिलो धन धर्तीका छोराको ।

धेरै मान्छे, व्यक्ति र व्यक्तित्वलाई भेट दिने श्रष्टा घिमिरे राष्ट्रकविको उपाधि र सेनाको मानार्थ जर्नेल सम्मानमा बिबादमा पनि तानिए । वैचारिक रुपमा उनका केही सिर्जना र कर्ममा यथास्थितिदेखि शासक स्तुतिसम्मको आरोप लागे पनि पुराना पुस्ताका यी श्रष्टामा ठयाक्कै आजको चेत खोज्नु मूर्खतापूर्ण नै रहन्छ । बान्की मिलेका, सुललित पदावलीबाट सिर्जना गर्न खप्पिस घिमिरे शव्द र भावमा छोइएर रचना गर्थे ।

आफ्ना रचना प्राय कण्ठस्थ राख्ने घिमिरे नेपाली नोबेल पुरस्कार ‘मदन पुरस्कार’ पाउन नसकेकोमा यदाकदा खिन्नता प्रकट गर्थे । लामो उमेर भन्दा सार्थक समय व्यतित गर्नुलाई उपलब्धि मान्ने घिमिरे लामो तर सार्थक जीवन बाँचे । पत्नी गौरीको निधनले बिब्हल बनेर गौरी शोककाव्य रचना गरेका घिमिरेको गौरीका श्लोक थुप्रै निरक्षर महिलाको मुखाग्र हुनुले यिनको लोकप्रियता बुझ्न सकिन्छ ।

थर्थाराएको आवाजमा बोल्ने कविको ध्वनि आम साहित्य अनुरागिको लागि सांगीतिक धुन झैँ प्रतीत हुन्छ । उनले आफू मरेपछि मात्र सार्वजनिक गर्न भनेर २०१६ सालमा लेखेको कविता आशिष अविरल संगीत भरेर कर्ण दासको स्वरमा सार्वजनिक भएको छ । उनको मरण इच्छा प्रतिबिम्बित भएको पाइन्छ । यो जन्ममा नेपाल मन पराएका माधव घिमिरे अर्को जन्ममा पनि नेपालमै जन्मन पाउ भनेर आफ्नो अर्को जुनीको रहर प्रायः सबैलाई सुनाउथे ।

१९७६ असोज ७ गते लमजुंङको पुस्तुनमा आमा द्रौपदी र बाबु गौरीशंकर उपाध्यायको पुत्र रत्नको रुपमा जन्मिएका घिमिरे नेपाली साहित्यका अनमोल रत्न बनेर रहे । देश विषम महामारीको कारण लक डाउन रहेको बेला आम सर्वसाधारण सब यात्रामा सहभागी बनेर आर्यघाटसम्म जान सम्भव भएन तर आफ्ना श्रद्देय कविको नाममा सार्वजनिक संजालको भित्तो कविको दुखद निधनमा श्रद्दान्जली भनेर रंगियो शोक मग्न बन्यो । राष्ट्रकविको महाप्रस्थानले देशमा रिक्तता छाएको छ । तर मृत्यु अन्तिम सत्य स्वीकार गर्नुको विकल्प छैन । महाबिश्राम पछिको माहा यात्रा सहज होस् । हार्दिक श्रद्दान्जली कविवर ।

फूलको थुंगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला हो राजै यो जिन्दगानीमा

प्रतिक्रिया दिनुहोस्