Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गुठी विधेयक फिर्ता लिन कांग्रेसको माग


0
Shares

काठमाडौं, असार २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकविरुद्ध जारी सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा जारी आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरे ।

दमनको बाटोबाट नभइ वार्ता र संवादबाट समाधान खोज्न उनले सरकारलाई आग्रह गरे । उनले सरकारले ल्याएको विधेयक नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यताविरुद्ध रहेको जिकिर गरे ।

विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति उत्पन्न हुनेतर्फ सचेत रहन सरकारलाई आग्रह गर्दै उनले त्यस्तो परिस्थितिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनीसमेत दिए ।

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ’ भन्ने र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिँदै आएको भन्दै उनले ‘कुटेजस्तो र रोएजस्तो’ सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।

बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्ष्मण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए ।