काठमाडौं, असार १ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले गुठीका सम्बन्धमा आएको पछिल्लो विधेयकले समस्या समाधान गर्ने नभइ थप बल्झाउने टिप्पणी गरेका छन् ।
‘विनियोजन विधेयक २०७६’ अन्तर्गत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकअन्तर्गत्का शीर्षकमाथि छलफलमा भाग लिँदै सांसदहरुले गुठी नेपालको संस्कृति र परम्परासँग जोडिएकाले त्यसलाई खन्डित नगर्न आग्रह गरे ।
सर्वपक्षीय छलफलका आधारमा सरोकार भएका व्यक्ति, संस्था वा निकायलाई सहमतिमा ल्याएरमात्रै गुठी विधेयक ल्याउनुपर्ने उनीहरुको जोड थियो ।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले गुठीसम्बन्धी विधेयकमा देखिएको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण पनि गरे ।
कांग्रेसकै सांसद गगन थापाले अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि बजेट कम भएको भन्दै गुनासो गरे ।
उनले काठमाडौं उपत्यकाका लागि गुठी रैथाने सभ्यताको पहिचान भएकाले त्यसलाई जोगाउनुपर्ने बताए ।
कतिपय गुठी सामन्ती संरचनाका कारण पनि बनेका भएपनि नेवारी समाजलाई एकीकृत बनाउने काम गुठीले गरेको उल्लेख गरे ।
‘गुठीका विषयमा देखिएको समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्छ । त्यसका लागि सर्वपक्षीय छलफलको जरुरी छ’–उनले भने ।
सोही दलका सांसद लक्ष्मी परियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमाथि खर्च कटौती प्रस्ताव प्रस्तुत् गर्दै बजेटले गरिबी निवारण हुन नसक्ने बताइन् ।
कांग्रेसकै रंगमती शाहीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकअन्तर्गत्को खर्च कटौती प्रस्ताव प्रस्तुत् गर्दै न्यायालयका नयाँ भवन बनाउन बजेट विनियोजित नहुनु दुःखद् रहेको बताइन् ।
सांसद राजेन्द्र केसीले गुठी नेपालको मौलिक संस्कृति भएकाले यसलाई कोही–कसैले पनि मास्न नपाइने भन्दै सरकारले धर्म, संस्कृितमाथि हस्तक्षेप गरेको आरोप लगाए ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कानुन, न्याय तथा संसदीय मामिला र गृह मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत् गर्दै भूमि व्यवस्थापन गर्न, न्यायालयलाई राजनीतिक भागबन्डाबाट नियुक्त गर्ने परम्परा अन्त्य गर्न, शान्ति–सुरक्षामा ध्यान दिन माग गरे ।
सांसद चन्द्रकान्त चौधरीले जनतालाई कानुनी शासनको प्रत्याभूति दिलाउन निःशुल्क कानुनी सेवा प्रवाह गर्न जरुरी रहेको बताए ।
मानवअधिकारमैत्री कानुनी शासनको विकास, समाजमा गढेका, भेदभाव, छुवाछूत तथा विकृति र विसंगतिको अन्त्य गर्नेगरी कानुनी सुनिश्चितता गरिनुपर्ने धारणा राखे ।
सांसद सरिताकुमारी गिरीले भूमि स्वामित्वका लागि स्पस्ट कानुन ल्याउन जरुरी भएको बताइन् । जबसम्म भूमिहीन र सुकुम्बासीको कानुनी सम्बोधन हुँदैन, तबसम्म जग्गा अतिक्रमण नरोकिने बताइन् ।
जनतालाई भ्रम नछर्न आग्रह
गुठी विधेयकको विषयलाई लिएर अनावश्यक भ्रम छरिएको भन्दै नेकपाका सांसद मेटमणि चौधरीले आपत्ति जनाए ।
‘विगतमा कम्युनिस्ट सरकारमा आए भने ६० वर्ष पुगेकालाई छानी–छानी मार्छन् भनेर भ्रम फैलाइएको थियो । यतिखेर पनि त्यस्तै भ्रम छरिएको छ । त्यो सर्वथा गलत छ’–उनले भने ।
नेपालको भौगोलिक क्षेत्रको पुनः नापजाँच गर्न माग गर्दै उनले आफ्नो जिल्लामा पनि ठूलोमात्रामा जग्गा गुठीको नाममा रहेको भन्दै विगतमा जनताबाट लिएको जग्गा जनतालाई फिर्ता गर्नुपर्ने बताए ।
छलफलमा भाग लिँदै सोही दलका सांसद खगराज अधिकारीले भूमिहीन सुकुम्बासीका लागि बासको व्यवस्थापन संविधानको मौलिक हकमै व्यवस्था रहे पनि कार्यान्वयन हुन नसकेको बताए ।
भूमाफियाले अतिक्रमण गर्नेक्रम तीव्र रहेको उदाहरणस्वरुप पोखराको फेवातालको २० हजार रोपनी जग्गामध्ये १२ हजार रोपनी जग्गा व्यक्तिले अतिक्रमण गरेको उल्लेख गर्दै उनले ती जग्गा कसरी फिर्ता ल्याउन सकिन्छ भन्नेमा सोच–विचार गर्नुपर्ने सुझाव दिए ।
यस्तै नेकपाकै सांसद कृष्णप्रसाद दाहालले जमिन नपाएका भूमिहीनलाई जमिन उपलब्ध गराउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले तराई, मधेस, भित्री मधेसका क्षेत्रमासमेत हजारौं नागरिक भूमिहीन रहेकाले उनीहरुलाई मानवीय जीवन जिउने वातावरण बनाउन पनि व्यवस्थित बसोबास गर्नेगरी काम गर्न आग्रह गरे ।
सोही दलका सांसद विमला विकले मालपोत र नापी कार्यालयमा नागरिकले सहज सेवा पाउने अवस्था नभएको भन्दै सरकारले त्यसतर्फ किन ध्यान नदिएको भन्नेतर्फ ध्यानाकर्षण गराइन् ।
उनले विश्वकै सर्वोच्च शिखरको नापजाँच यही सरकारले गरेकामा धन्यवाद दिँदै अब देशको साँध–सिमानासमेत नाप्न आग्रह गरिन् । रासस









प्रतिक्रिया दिनुहोस्