
काठमाडौं । कोरोना भाइरस संक्रमितमध्ये पाँच प्रतिशतलाई आइसियूसहित भेन्टिलेटर आवश्यक पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, नेपालमा भने पर्याप्त भेन्टिलेटर थपिएका त छैनन् नै भएका भेन्टिलेटर पनि मर्मतसम्भार नगर्दा थन्किएका छन् ।
पछिल्लो समय कोरोनासँगै आइसियू र भेन्टिलेटर आवश्यक पर्ने संक्रमितको संख्या पनि बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेका आइसियू र भेन्टिलेटरको संख्या बढाउनुपर्ने देखिएको छ ।
तर, देशका विभिन्न सरकारी अस्पतालमा ठूलो संख्यामा भेन्टिलेटर बेवारिसे अवस्थामा छन् । विभिन्न अस्पतालको तथ्यांकअनुसार ४५ भन्दा बढी भेन्टिलेटर मर्मत गरेर चलाउन सक्ने अवस्थामा छन् । सम्बन्धित अस्पतालहरूले भने वास्तै गरेका छैनन् ।
अहिले त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्रै ४५ वटा भेन्टिलेटर बिग्रिएका छन् ।
अस्पताल स्रोतका अनुसार शिक्षण अस्पतालमा १०, वीर अस्पतालमा आठ, राष्ट्रिय ट्रमा सेन्टरमा सात, कान्ति बाल अस्पतालमा पाँच, गंगालाल अस्पतालमा पाँच र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० वटा भेन्टिलेटर मर्मत गरेर चलाउन सक्ने अवस्थाका छन् ।
अस्पताल मात्रै होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अस्पतालमा सघन उपचार कक्षको अवस्था र त्यहाँ चाहिने आइसियू भेन्टिलेटरको अवस्थाबारे जानकारीसमेत लिएको छैन । बरु राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न अस्पतालमा बिग्रिएका भेन्टिलेटर निःशुल्क मर्मत गरेको छ ।
गंगालाल, वीर, ट्रमा, कान्ति बाल अस्पतालका ४५ वटा भेन्टिलेटर मर्मत गरेको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए । अध्यक्ष पुनका अनुसार भेन्टिलेटर मर्मतमा चार लाख ३५ हजार खर्च भएको छ ।
आफूहरू बनाउन तयार रहे पनि अस्पतालले चासो नदिएको गुनासो गर्दै अध्यक्ष पुनले भने, ‘हामीले ४५ वटा बनायौँ, अझै केही बनाउनुपर्ने अवस्थाका छन् । तर, हामीले मात्रै प्रयास गरेर हुँदैन, जसलाई चाहिएको छ उसले अग्रसरता देखाउनुपर्छ । निःशुल्क पनि बनाउनुपर्छ, भाउ पनि खोज्नु त भएन नि ।’
उनका अनुसार अस्पतालले सामान किन्न सहयोग गर्नेभन्दा पनि किनेर ल्याइदिए आफैँ बनाउने बताउँदै आएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रले बनाएका कुनै पनि भेन्टिलेटरले काम नगरेको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए ।
‘उहाँहरूले आएर बनाइदिनुभएको हो, तर ती भेन्टिलेटरले केही काम गरेनन्,’ डा. सेन्चुरीले भने । वीर अस्पतालले खरिद गरेका नयाँ १० भेन्टिलेटर भन्सारमा पुगेका छन् ।
अहिले वीर र कान्ति बाल अस्पतालमा २६–२६, ट्रमा सेन्टरमा २५, शिक्षण अस्पतालमा २० र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ भेन्टिलेटर छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार आठ सय आठ आईसियू र एक हजार ७० भेन्टिलेटर छन् । यीमध्ये कोरोना संक्रमितका लागि चार सय ५० शय्या आइसियू र एक सय ६४ भेन्टिलेटर छुट्याइएको छ ।
कोरोना संक्रमण सुरु भएपछि सरकारले एक सय २० शय्या आइसियू थपेको छ भने दाताको सहयोगमा ७४ भेन्टिलेटर थपिएका छन् ।
सरकारले भने नयाँ भेन्टिलेटर खरिद गरेको छैन । सोमबार साँझसम्म देशभर कोरोना संक्रमित एक सय एकजना आइसियूमा र ६ जना भेन्टिलेटरमा छन् ।नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्