२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना, कविता रचेर सुनाए भावना


39
Shares

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहेका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन् ।

आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै उहाँले आज सहभागीको आग्रहमा उक्त सात मिनेट लगाएर शीर्षकरहित नौ लाइनको कविता रचिएको बताए ।

प्रधानमन्त्री ओलीले आफू कवि नभएको जिकिरसमेत गरे ।

प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको ‘खर्पन’ कविता केही वर्षअघि सार्वजनिक भएको थियो । उनले जेल जीवनमा धेरै कविता र गीत लेखेको भए पनि तिनको संरक्षण गर्न नसकिएको बताउँदै आएका छन् ।

 

प्रधानमन्त्रीको कविता 

परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?

बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ  

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकम 

सगरमाथा, लुम्बिनी, मेची र महाकाली 

हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली 

सपनामा भए पनि देख्न पाउँ 

चन्द्रागिरिको डाँडोमा आएर सपनामा 

भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ 

तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ 

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।

(रासस)