समस्या नै समस्या • Image Khabar Image Khabar


समस्या नै समस्या


Imagekhabar
३१ श्रावण २०७७, शनिबार ०८:५०

समस्या नै समस्या

लाओस राई

सुन्दा अचम्म र गार्‍हो लाग्ने तर हरेक मान्छेको जीवनमा निरन्तर आइरहने अप्ठ्यरो नै समस्या हो । केवल यो मान्नेको जीवनमा मात्र आउने गर्दैन । परिवार, समाज तथा देशसंग पनि समस्याहरु हुन्छन् । आज तिनै समस्या भोगिरहेका देशका बारेमा चर्चा गर्दैछु ।

नाईजेरिया,तान्जानिया,इथोपिया, बुरुण्डी,रुवान्डा,केन्या तथा अफ्रिकी महादिपका अधिकांश देशहरुमा प्रायः विदोह, क्रान्ति र युद्ध भइरहने गर्दछन । त्यस्ता बिद्रोहहरु किन भयो होला ? के त्यस्ता बिद्रोहले सिंगो अफ्रिकाको भबिष्य के हुने हो ? भन्दै कारणहरु खोज्दै जाने हो भने धेरै कारणहरु नजिक पुग्नु सकिन्छ । जसलाई यहाँ उल्लेख गरेर साध्य हुँदैन । तथापी समस्याहरु दिनानुदिन बढ्दै जानुमा यी पक्षहरुमा देखिएका भेद भावपूर्ण समस्याहरुनै प्रमुख मान्न सकिन्छ ।

जस्तै धार्मिक, सामाजिक, आर्थिक, जातीय विभेद, र बर्गीय असमानता नै हो । जसले सिंगो अफ्रिकामा हिंसात्मक गतिबिधि बढ्नु महत्वपूर्ण भूमिका खेलिरहेका छन् । त्यसको एउटा उदाहरण सन् २०१४ मा इस्लामिक समूह बोकोहरामले २७५ भन्दा बढि स्कुलका छात्राहरुको अपहरण गरेको घटन र केहि दिनअघि १८ जना सर्बसाधारणको हत्याका साथै दर्जन बढी घाइते भएको घटनालाई लिन सकिन्छ । २०१४ को घटनामा राष्ट्रपति बुहारीले बिद्रोही समूह बोकोहरामसंग लामो समय वार्ता गरेर नै २७५ छात्राहरुको तीन वर्षपछी फिर्ता गर्न सफल देखियो । पछिल्लो घटनामा सर्बसाधारणलाई बचाउन सरकार असफल देखियो ।

त्यसैगरी ल्याटिन अमेरिकी मुलुका एल साल्भाडोर, ग्वाटेमाला, भेनेजुएला, होण्डुरस, मेक्सिको, क्यूबा, बोलिभिया र अर्जेन्टिना जस्ता देशहरुमा पनि नयाँ नयाँ समस्याहरु उत्पन्न भइरहेको देखिन्छ । चाहे ति समस्याहरु आप्रवासन गर्दा भएको होस् या बेरोजगारी र मानव तस्करीको कारणले भएका होस् । समस्या त छ नै । समय संगसंगै समस्या अझै जटिल बन्दै भइरहेका देखिरहेका छौँ । स्मरण रहोस सन् १९९० को दशकतिर अर्जेन्टिनामा हप्तैपिच्छे सरकार परिवर्तन हुन्थ्यो । हामीले ति घटना बिर्सेका छैनौं । त्यो राजनीतिक अस्थिरताले अर्जेन्टिनलाई ठूलै समस्यामा फस्न बाध्य बनायो । त्यसले गर्दा आर्थिक संकट निर्माण हुन गई बेरोजगारी समस्या उत्पन्न भयो । त्यो समस्याले अर्जेन्टिनालाई असफल राष्ट्र बनायो ।

त्यस्तै मेक्सिकोमा पनि पृथक खालको समस्या छ । त्यहाँ लागु् पदार्थ ओसारपसार तथा मानव तस्करको ठुलो चलखेल हुन्छ । ति तस्करहरुसंग मेक्सिकन सरकारले डटेर सामना गर्न सकेको छैन । गतिबिधि हेर्दा मेक्सिको माथि उनीहरुको दबदबाह कायम नै देखिन्छ । त्यसैले आप्रबासीहरुको ओहिरो र लागु पदार्थ तस्करहरुको गैरकानुनी गतिबिधि र तिनीहरुले निर्माण गर्ने समस्यालाई नियन्त्रण गर्न अमेरिकाले पर्खाल लगाउने निर्णय समेत गर्‍यो । मेक्सिकोमा तस्कर समूहहरुको गैरकानुनी गतिबिधिले सरकारलाई निकै महँगो चुनौती दिइरहेको देखिन्छ ।

यो ल्याटिन अमेरिकाकी क्षेत्रको स्थायी समस्याको स्वरूप हो । अर्को भेनेजुयला जहाँ सन् २०१९ को अन्त्य तिर एक देशमा दुई राष्ट्रपति पनि भए । हुवान गुवाईडोले आफैंलाई राष्ट्रपति घोषणा गरि निकोलस मधुरोलाई अपदस्त गर्न खोजेको घटना धेरै समय भएको छैन । छिमेकी देश बोलिभिया, ब्राजिलबाट ठुलो हुंकार गरेपनि निकोलस मदुरोको सामु गुवाइडोको केहि लागेन । उनलाई राष्ट्रपति बनाउनु पश्चिमा देशहरु र अमेरिकाले धेरै प्रयास गरे । तर शक्ति केन्द्रको मोहोरा हुवान गुवाईडो असफल भयो ।

अर्कोतर्फ एसियाली मुलुकहरु नेपाल, भारत, चीन् बंगलादेश, भुटान, पाकिस्तान, बर्मा, अफगानिस्तान र श्रीलंकामा पनि समस्या बग्रेल्ती छन् । ति समस्याहरु कुनै साझा छन् भने कुनै देशको भूगोल र राजनैतिक व्यवस्थाले उत्पन्न गरेको पृथक खालका समस्याहरु छन् । समस्याको समस्याको कोट्याईरहदा गिरिजा बाबुको भनाई उल्लेख गर्दै समस्याको सन्दर्भमा अझै चर्चा गरौंला । एक प्रसंगमा गिरिजा बाबुलाई कुनै व्यक्तिले ‘संबिधान सभाको चुनाव सार्दै जाँदा समस्या झन् बढ्दै जान्छ हामीले कहिले शान्ती पाउने ?’ भनि प्रश्न गर्दा गिरिजा बाबुले त्यो व्यक्तिलाई उल्टै प्रश्न गर्नुभएछ–‘तपाई, मलाई समस्या नभएको देश देखाई दिनुहोस त ?’

‘अमेरिकाको टुइन टावर माथि हमला भयो । त्यहाँ त्यत्रो समस्या छ । यहाँ पनि छ । दुनियाभरि समस्या छ । म समस्यासंग डराउँदिन । तपाई चुप लाग्नुहोस । तपाई के चाहनुहुन्छ मैंले तपाइको अनुहार हेरेर थाहा पाईसकें । तपाई जनजाती हो कि सुकुम्बासी हो पहिले बताउनुहोस् ?’ उनी गिरिजाबाबुको त्यस्तो कडा बोली सुनेर दङ्ग परे । घटना सामान्य छ । झट्ट सुन्दा गिरिजाबाबुको जवाफ पनि यथार्थपरक जस्तै देखिन्छ । कुरा पनि ठुलो हुँदै होइन । उनले प्रश्न गरे, गिरिजाबाबुले जवाफ दिए । तर त्यस प्रश्नले उठाउन खोजेको सिंगो समस्यालाई गिरिजाबाबुबाट चित्तबुझ्दो उत्तर नपाउनाले उ निरास भए ।

कुरा यति मात्र हो । तर त्यस प्रशंगलाई बिपक्ष पार्टीहरुले गलत व्यख्या गर्दै प्रचार गरे । नेपाली कांग्रेसले वर्ग उत्थान गर्दैन, कांग्रेस गरिवको पार्टी होइन । गरिव तथा श्रमजीवी वर्गको विरोधी पार्टी हो भन्ने लगायत धेरै नराम्रा कुराहरु । यद्यपी, त्यो प्रश्नले एक व्यक्तिको पीडाको आवाज मात्र बोकेको थिएन । बरु त्यो प्रश्नले वर्गीय असमानतालाई उजागर र स्वयं गिरिजाबाबुको शान्तिको एजेन्डाको प्रतिनिधित्व गरेको थियो । त्यसकारण सानो जिज्ञसाले निर्माण गर्ने समस्यालाई नेताले राम्रोसंग बिचार पु¥याउनु पर्छ । होस पुर्‍याइएन भने क्षति व्यहोर्न पनि तयार हुनुपर्छ । यति भनिरहंदा गिरिजाबाबुलाई उपक्षा गर्न खोजेको कदापी होइन । समस्यासंग नडराउने निडर हुँ भन्ने सन्दर्भलाई मात्र उद्ग्रित गर्न खोजेको हुँ ।

अर्को उदाहरणको रुपमा नाइजेरियालाई लिन सकिन्छ । २० करोड भन्दा ज्यादा जनसख्या रहेको र विश्वमा ७ औं स्थानमा रहेको देश नाइजेरियाको पनि समस्या उस्तै देखिन्छ । एकै वर्णको मान्छे बसोबास गर्ने भएर पनि त्यहाँ सँधै अस्थिरता हुन्छ किन ? किन हुन्छ ? वर्ण मिल्नासाथ समस्या नै नहुने भएको भए त्यहाँ द्वन्द्ध नै हुनु नपर्ने हो नि ? किन जन्मिरहेका छन् बोकोहरामहरु ? त्यसको कारणतिर जानु, समस्याको चुरोमा पुग्नु सबैभन्दा राम्रो हुन्छ । त्यसको अलावा समस्या के के हो र कहाँ छ भन्ने थाहा हुँदाहुँदै समाधान गर्ने प्रयास नगर्नु, वेवास्ता गर्नु र समस्यलाई दबाउनु खोज्नु सबैभन्दा निकम्मा र अकर्मण्यता हो । जुनकुरा राजनीतिज्ञले गर्नु हुँदै हुँदैन ।

विश्वका शक्तिसाली देशहरुमा पनि समस्याहरु धेरै छन् । अमेरिकामा गोरा र अश्वेत बिचको झगडा विश्वलाई थाहा छ । त्यसको पछिल्लो घटना अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या काण्ड र पुरै अमेरिकामा उर्लिएको बिरोधको आवाज र दन्किएको आगो देखाईहाल्यो । स्पेनमा क्याटोलोयन समस्या यथावत छ ।

अफ्गानिस्तानमा तालीवानी लडाकु समूह र राज्य पक्षको आतंक जनताले भोगिरहेका छन् । सानो देश भुटान लाख भन्दा ज्यादा मानिसलाई शरणार्थी बनायो । चीन र भारतको सीमा समस्या, नेपाल–भारत सीमा समस्या । वर्मामा रोहिंन्ग्या समस्या । हङ्गकङ्ग, तिब्बत, ताइवानमा अधिकारको समस्या । गिरिजाबाबुले भनेकै कुरालाई आधार मान्ने हो भने समस्या नभएको देश कहाँ छ ? तर समाधान यहि पुस्ताले गर्ने हो । समाधान हामीले नै गर्ने हो । डराउनु हुँदैन । आदि जहा हेर्‍यो त्यहीं समस्या नै समस्या देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्