३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


जो कोरोना भगाउँछु भन्थे…


0
Shares

पोखरा । कोरोना भाइरसको महामारी भर्खर सुरु हुँदाताका पोखरामा क्रिश्चियन धर्म प्रचारक कोरोना भगाउने जादु आफूसँग भएको दाबी गर्थे।

प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्दै धर्म प्रचार गरेका पास्टर केशवराज आचार्यलाई चैत ११ मै प्रहरीले पक्राउ गरेको थियो।

चर्चमा मान्छे भेला पारी प्रभु यशुले कोरोना भाइरस नास गरिदिनुहुन्छ भन्ने उनी अहिले जेलमा छन्।

सरकारले भिडभाड नगर्ने भनेको बेला भिड गरेको र कानुन विपरीत धर्म प्रचार गरेर भ्रम फैलाएको आरोप उनीमाथि थियो।

पोखरा १९ लामाचौरमा त्यसरी नै धर्मकै आडमा भिड जम्मा गर्दै आएका र कोरोना नलाग्ने र आफूले भगाउने दाबी गर्ने एकजनाको भने ज्यानै गएको छ। उनको ज्यान जानुको कारण अरु केही नभएर कोरोना भाइरस नै रहेको पुष्टि भएको छ।

लामाचौरमा ६२ वर्षे उनले ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ चलाउँदै आएका थिए।

केन्द्रमा उनले प्रवचन दिन्थे। ज्वरो र रुगाखोकी लागेकाले १६ असारमा आफैं अस्पताल पुगेका उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

त्यसयता पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका उनको शनिबार राति मृत्यु भएको पुष्टि अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले गरेका छन्। वृद्ध मधुमेहका बिरामीसमेत थिए। -अन्नपूर्ण पोष्ट दैनिकबाट