नेकपा र कांग्रेस अन्ततः सिद्धिने छन् ! « Image Khabar


नेकपा र कांग्रेस अन्ततः सिद्धिने छन् !


Imagekhabar
२४ श्रावण २०७७, शनिबार ०७:५३

-संजिव कार्की
कांग्रेस त्यस्तो पार्टी र शक्ति हो जसका नेताहरु एकापसमा गाँड कोराकोर गर्दा मात्र देशमा कांग्रेस पनि छ भन्ने अनुभूति र उपस्थिति देखाउँछन । कम्युनिस्ट पार्टीको आन्तरिक पार्टी जनवादको कुरूप चित्र र बिचित्र देखेर वाक्क दिक्क हुन लागेका जनतालाई अर्को गाईजात्राको सिरिज देखाउन कांग्रेस तम्सिएको छ । लोकतान्त्रिक पार्टीमा विवाद छलफल र बहस समान्य मानिए पनि वहस सैद्दान्तिक र नीतिगत नभएर व्यक्तिगत महत्वाकांक्षा र लालच सम्बद्द हुन्छ । विवाद झिक्दा बिधि ,प्रक्रिया पद्दति र नीतिको आवरणमा राखिन्छ तर सबै वहस विवाद नभएर झगडा हुन्, द्वन्द् हुन् , मनभेद हुन, लालचको अटुट शृंखला हुन् ।

बिधि, पद्दति र नीतिको सैद्दान्तिक बहस गर्ने फुर्सद प्रायः पार्टी र तिनका नेताहरुमा पाइन्न । लोभ, मोह, स्वार्थ र लालचको ब्यवस्थापन र भागबण्डाको लागि घनिभूत गुट उपगुट भेला, नारी सुर्कासुर्की, उस्तै परे सार्वजनिक स्थानमै मुक्का मुक्की आजको राजनीतिको पारदर्शी रुप भएको छ । सिद्दान्तको ट्रेड मार्क कम्युनिस्टहरुको आफ्नै छ भने कांग्रेसको आफ्नै वीपीवाद छ । बाद र सिद्दान्त केवल ट्रेड मार्क मात्रै हुन् । देखाउने दाँत र बजार बिज्ञापन भन्दा पर छैन, रहेन । कांग्रेस र कम्युनिस्ट इतरमा पनि ट्रेड मार्क सानितिनो छ तर ती सब सोकेशका माल मात्र हुन उपभोक्ताले खरिद गर्दा पाउने बस्तु होइनन ।

नेकपा सत्तारुढ दल अहिले आफ्नो स्थाई कमिटि बैठक बस्न सकिरहेको छैन । एक महिनामा दर्जन भन्दा बढी पटक स्थगित गरेर अनिश्चयको कष्टकर यात्रामा छ । सत्ता हाक्ने ओलीको लागि स्थाई कमिटिको बैठक अरुचिकर छ बरु सचिवालय बैठक जरुरी ठान्छन । प्रचण्ड खेमाका लागि स्थायी कमिटि बैठक नै प्रीतिकर र अपरिहार्य देखिएको छ । कारण प्रस्टै छ प्रचण्ड स्थायी कमिटीमा बहुमतमा छन भने ओली सचिवालयमा । तसर्थ ,आआफ्नो जुँगा जता बलियो देखिन्छ त्यति नेताहरु जान चाहन्छन । यो कुनै पक्षको पनि बिधि र प्रणालीको अभिमत होइन । केवल आफ्नो गुटको स्वार्थ साँध्ने अभिस्टमा सिमित कलह हो । निराशा नै निराशा बिचको अहम हो । आसाको उज्यालो नदेखिने लफडा केवल लफडा मात्रै हो नेकपा उर्जाहीन लफडा र अनिर्णित आन्तरिक जनवादको दलदले हिलोमा छ । निरुदेश्य फसेको छ ।

उज्यालो खोज्न होइन, अंध्यारोमा रमाउन गुट मौलाउन मात्रै समय र उर्जाको सत्यानाश गरिरहेछन नेकपाका नेताहरु, कार्यकर्ताहरु आ-आफ्ना गुटका नेताको भक्त भएर भजनमा लिप्त छन र अर्को गुटको नेताको इन्जार तान्न व्यस्त छन तर । कोहीपनि विसुद्द पार्टी हितको पक्षमा उभिएका देखिन्न । भएपनि नगन्य छन । तसर्थ नेकपा झगडा अन्तहिन, निरुदेश्य र अगतिशील पार्टीको भानाबैरी र स्वाभाविक हलचल हो ।

आशाको ज्योति बालेर निराशा चिर्ने कुनै अपेक्षा छैन । तसर्थ यो अनन्तः चलिरहन्छ । यसको आन्तरिक पार्टी जीवनले स्वाश लिएसम्म । नेकपा भित्रका युवाहरु नेताको फेरो समात्न र आशिर्वाद नलिएसम्म माथि पुग्न सकिन्न भन्ने जुन नियन्त्रणमुखी आत्मविश्वास तोडेर अब हामी गर्छौं पार्टीको नेतृत्व भनेर जबसम्म अघि आउँदैनन् तबसम्म यो पार्टीको राजनीतिक पुंजी र साख क्रमशःउल्टो ग्राफ ओर्लनेछ ।

‘जेठो मामाको त यो गति छ भने कान्छा मामाको झन् थाङ्नाको धोती’ भन्ने उखान जस्तो छ प्रतिपक्ष पनि । सत्तासीनको झगडामा आफ्नो उन्नति देख्ने र भावी चुनाव आफ्नो पक्षमा आउने दुस्प्नाले कांग्रेसका नेताहरु निदाउन छाडेका छन । यसर्थ आगामी १४औं महाधिवेशनबाट आफू कांग्रेसको मुखिया बन्ने दौडमा रामचन्द्र, प्रकाशमान, कृष्ण सिटौला, शेखर र शसांक कोइरालाहरु देउवालाई गलहत्याएर आफू पुग्ने योजना र घोषणा गर्दैछन । थाहा छैन, बाजी कसले मार्ने हो । तर कांग्रेसजन प्रचार र घोषणा गर्न थालिसके । उसै त अराजक अनुशासनहीन कांग्रेस एक अर्कालाई मुख छोड्न, निम्न कोटीको आरोप लगाउन थालिसके । मानौं कांग्रेस आफ्नासंग आन्तरिक प्रतिस्पर्धा होइन विपक्षीसँग कुनै चुनाव भिड्दै छ ।

पार्टी अनुशासन र बिधि पद्दति मर्यादा र सिमा भुलेपछि देखिने विचलन र स्खलन भनेको हेर्न सुन्न बुझ्न कांग्रेस नेता र कम्युनिस्ट नेताहरु हेरे पुग्छ । कांग्रेस र कम्युनिस्ट यतिबेला प्रतिपक्ष र सत्ता पक्ष छन यिनीहरुको स्थिति, अवस्थिति र मनोदशा हेरर देश कहाँ छ ? कस्तो मर्यादा र अनुशासनमा छ प्रष्ट तस्बिर देख्न सकिन्छ । सत्ता र प्रतिपक्षको प्रतिछाँया हो देश । अर्को कुनै वैकल्पिक पार्टीले आसलाग्दो प्रगति नगरेसम्म यी दुई पार्टीको मुहार हेरेर देश चिन्नुपर्ने हुन्छ । सत्तामा जानको लागि आजसम्म नेकपा र कांग्रेस कि गाई कि त्रिशुल मात्रै हुन् फेरि पनि ।

आफ्नो १४ औ महाधिवेशनको लागि कांग्रेस समग्रमा होइन खण्ड खण्डमा वार्मअप गर्दैछ । सिद्दान्त र नीतिको लागि पद्दति र प्रणाली ब्यबस्थित गर्न बहस कांग्रेस आवश्यक देख्दैन । तर एक अर्का सम्भावित प्रतिस्पर्धीलाई खुइल्याउन कांग्रेसको झगडा सतहमा आउँदैछ । बिपी र लोकतान्त्रिक पार्टी अनि एतिहासिक भूमिका निर्वाह गरेको ब्याज भन्दा कांग्रेससँग नयाँ पुस्ताको आशा र विश्वास अनुरुप आस्था जगाउने कुनै कार्यकर्म छैन ।

तन्नेरी पुस्ता आफ्नो नफुलेको जुँगा र बलियो हात पाखुरी आफ्नो योग्यता तोक्दछ । भने बुढा पुस्ता हिजोको लडाई संघर्ष र त्याग आफ्नो योग्यता मान्दछ । तर आजको देश दुनियाँ ब्यबस्थापन गर्न यी दुई कुरा भन्दा महत्वपूर्ण कुरा ब्यवस्थापन गर्ने शैली र क्षमता हो । सत्ता ब्यबस्थापन गर्न नजानेर नेकपा दुर्घटना समिप छ, कांग्रेस धेरैपटक दुर्घटनाग्रस्त भैसकेको पार्टी हो । अब उसको नेतृत्व क्षमता भनेको सत्ता चलाउने, सत्तामा पुग्ने भन्दा सत्ता चलाउने खुबीको अभावमा देश बर्बादीको खाडल तर्फ छ ।

तसर्थ आगामी नेतृत्व र सबाल हरेक पार्टीको सत्ता असमयमा दुर्घट्ना हुनबाट जोगाउनु हो । जसको लागि योग्य हुन वृद्द नै हुनुपर्ने र युवा नै रहनुपर्ने हुँदैन सत्ता कुशलतापूर्वक हाक्ने शैली, सोच र कार्यक्षमता, जनताको मनोविज्ञान पारख गर्ने ल्याकत इत्यादि आवश्यक हुन्छ । पार्टी राजनीतिमा आन्तरिक जय पराजयपछि पराजित आफ्नो स्थानमा बस्न नसक्ने अनि प्राबिधिक रुपमा जित्नेले पराजितलाई कदर गर्न नसक्ने परिपाटी नै पार्टीहरुको अर्को मूल समस्या हो । जित्ने मैमत्त हुने अनि हार्नेले जित्नेलाई नटेर्ने गलत सोच नै समस्या नसुल्झिने गाँठाहरु हुन् । आफू भए सब ठिक आफू नहुँदा सब खराब सोचेर बस्ने प्रथा नै घातक छ ।

कांग्रेसको १३औं महाधिवेशनमा रामचन्द्र पौडेल संस्थापन पक्षमा थिए उनीहरु पार्टीमा नयाँ क्रियाशील सदस्य थप्नुपर्छ भन्थे । तर देउवा बाहिर थिए सो कुराको बिरोध गर्थे । आज परिस्थिति उल्टो छ । देउवा पार्टी सभापति छन, रामचन्द्र आन्तरिक प्रतिपक्ष । देउवा पार्टी क्रियाशील सदस्य बढाउँदै लान चाहन्छन तर रामचन्द्र देउवाको फेरिपनि महाधिवेशन जित्ने दाउ भनेर सो कुराको बिरोधमा उत्रेका छन । यहाँ टिप्पणी गर्न सकिन्छ राजनीति केवल आफ्नो पृष्ठ पोषणको लागि गरिएको छ पद्दति र प्रणालीको लागि छैन । एकै कुरा आफू अनुकुल र प्रतिकुल हुँदा फरक देख्ने दोहोर मापदण्ड र लैबरी तालले पार्टी किन्चित उँभो लाग्दैन ।

नेताहरु कांग्रेस जिताउने हैन आफू जित्ने अभियानमा केन्द्रित छन । सिद्दान्त, मापदण्ड, अनुशासन र बिधि बिधान आफू अनुकुल पोलेर, उसिनेर, भुटेर, साँधेर , काँचो जसरी मन लाग्छ उसै गरि खाएपछि उत्पन्न हुने संकट र महासंकट यस्तै हुन्छन । तसर्थ नेताहरु आफ्नो अडान, इमान र नैतिकतामा टिक्न नसक्दा पार्टी प्रणाली ध्वस्त हुन्छ । जसरी अहिले कांग्रेस ध्वस्त छ, नेकपा ध्वस्त छ । व्यक्ति हेरेर नीति र समयको बहाब हेरेर व्यक्तित्व स्खलित गर्ने अदूरदर्शी नेता राजको कारण पार्टीहरु छिन्नभिन्न र संकटग्रस्त बनेका हुन् । इमान नदेखाउनेले इमानको कुरा गर्न कती पनि सुहाउन्न । कांग्रेस नेताहरु यतिबेला एक अर्काको हराएको इमान बारे प्रश्न गर्दैछन । नैतिकता सम्झाउदै छन तर इमान र नैतिकतामा प्वाँल परेको धेरै पहिले हो ।

नविन पुस्ताले इमान नैतिकता, इमान्दारी, अनुशासन पार्टी बिधि र पद्दतिको हेक्का राख्न सकेनन भने भोलिको कांग्रेस नेतृत्वमा जो पुगे पनि आज जे हाल छ त्यो भन्दा पर पुग्ने छैन । नीति बिधि र सिद्दान्तको बहस भन्दा टाढा बसेर आन्तरिक स्वार्थमा मात्रै केन्द्रित राजनीतिले कांग्रेसलाई आफ्नो साख फिर्ता गरेर सत्तामा जाने अवस्थामा पुर्याउन सक्दैन । नसुधारिएको कांग्रेस सत्ता चलाउने सामर्थ्य राख्छ भनेर जनताले विश्वाश गर्लान र ? आज कांग्रेस र नेकपा भित्रको गाँड कोराकोरले देश बर्बाद र ड़ामाडोल बन्दैछ । आन्तरिक जनवाद र आन्तरिक लोकतन्त्र भनेर आफ्नै नेताको गाँड कोर्ने र ठुंगने नियति एक अर्कोलाई भौतिक रुपमा समाप्त नपरेसम्म लड्ने जंगली पशुपंक्षी भन्दा फरक छैन ।

प्रतिक्रिया दिनुहोस्