Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


कम्युनिस्टहरु संविधान र कानुन मान्दैनन् भन्ने तथ्य चरितार्थ : सांसद केसी


0
Shares

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले कम्युनिस्टहरु संविधान र कानुन मान्दैनन् भन्ने तथ्य चरितार्थ भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले भने, ‘कम्युनिस्टहरु धर्म मान्दैनन्, संस्कृति र सम्पदामा विश्वास गर्दैनन्, चाडपर्वमा विश्वास गर्दैनन् भन्ने कुरा स्कुल पढ्दा मैले सुनेको थिएँ, आज चरितार्थ भएको छ ।’

सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सरकारले दमन गरेको भन्दै संसदमा कांग्रेस सांसदहरुले विरोध प्रकट गरेपछि सभामुख कृष्णबहादुर महराले उनलाई बोल्न समय दिएका थिए ।

सांसद केसीले भने, ‘कम्युनिस्टहरु संविधान र कानुन पनि मान्दैनन् भन्ने आज चरितार्थ भएको छ ।’

सरकारले ल्याएको विधेयकले गुठीयारहरु आक्रोसित भएको उनले बताए । देशभरीका गुठीलाई समाप्त पार्ने र चाडपर्व र जात्रा परम्पराको सहरका रुपमा रहेको काठमाडौंको पहिचान मेट्ने प्रयास भएको उनको आरोप थियो ।

विरोधमा उत्रिएका जनतालाई लाठी चार्ज गरेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने हक सरकारले खोस्न थालेको आरोपसमेत उनले लगाए । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने खेल राजधानीबासीलाई सरकारले नदेखाओस्,’ उनले भने ।