सगरमाथाझैं नेपाल चीन सम्बन्ध « Image Khabar


सगरमाथाझैं नेपाल चीन सम्बन्ध


Imagekhabar
२१ श्रावण २०७७, बुधबार ०७:५२

-हरिविनोद अधिकारी
समस्यारहित छिमेकी सम्बन्धका वारेमा विश्वमा नै नेपाल र चीन सम्बन्धलाई पनि लिइन्छ । यसो हुनुमा नेपालले कहिल्यै पनि चीनको गुनासो हुने गरी कुनै काम गरेको छैन र नेपालको गुनासो हुनेगरी चीनले पनि कुनै त्यस्तो समस्या ल्याएको देखिँदैन । यसो हुनुमा नेपाल र चीनका बिचमा रहेको विश्वासको गाढा सम्बन्धले पनि काम गरेको हुुनुपर्छ ।

नेपाल र चीनका बिचमा दौत्य सम्बन्ध भएको इस्बी सन् २०२० अगस्ट १मा अर्थात् २०७७ साल श्रावणको १७ गते ६५ वर्ष पुगेको छ । यो सम्बन्ध सन् १९५५ को अगस्ट १ मा भएको थियो । त्यसबेलामा नेपालमा प्रधानमन्त्रीको पदमा टङ्कप्रसाद आचार्य हुुनुहुन्थ्यो । चीन १९४९ को अक्टुबर १ देखि साम्यवादी शासन सत्ताको स्वरुपमा आएपछि मात्र नेपाल र चीनका बिचमा दौत्य सम्बन्ध भएको देखिन्छ ।

चीनको राजतन्त्रकालमा या प्रजातान्त्रिक सरकारको बेलामा , पहिलेका सरकारहरुसँग नेपालको कुनै कूटनीतिक सम्बन्ध रहेको देखिँदैन । तर नेपालको उत्तरी सीमासँग जोडिएको तिब्बतसँग चाहिँ इतिहासमा युद्ध र सहमति धेरैपटक भएको पाइन्छ । जव तिब्बत चीनको अभिन्न अङ्गको रुपमा चीनमा विलीन भयो, त्यसपछि नेपालको सम्बन्ध स्वतन्त्र राज्य तिब्बतसँग नभएर चीनसँगै हुनुपर्ने भयो र १९५५ अगस्ट १मा नेपालको सम्बन्ध चीनसँग भयो । नेपालले एउटा सीमाना जोडिएको निकट छिमेकी देशसँगको सम्बन्धलाई आवश्यकता र असल छिमेकीसँगको न्यानो सम्बन्ध स्थापनाको आधारभूमिमा सम्बन्ध स्थापना र विस्तार भएको पाइन्छ ।

दौत्यसम्बन्ध स्थापना भएको ६५ वर्ष भयो । करिब १,३०० किलोमिटर लामो सीमाना जोडिएको चीनसँग आजसम्म कुनै त्यस्तो समस्या परेको छैन । अतीतमा परेका केही समस्याहरु पनि आपसी वार्ताबाट समाधान भएको पाइन्छ । अरु त अरु, विश्वको सबैभन्दा अग्लो शिखर या पहाडी चुचुरो सगरमाथाको वारेमा पनि नेपाल र चीनका बिचमा सौहार्दपूर्ण वातावरणमा छलफल भएर समस्या समाधान भएको इतिहास छ ।

नेपाल भौगोलिक क्षेत्रफलमा निकट छिमेकीहरु भारत र चीनभन्दा धेरै सानो भए पनि इतिहासमा कहिल्यै पनि कसैको पराधीन नभएको स्वतन्त्र राष्ट्रको रुपमा पौराणिक कालदेखि नै रहेको पाइन्छ । चीनको आन्तरिक राजनीतिमा उथल पुथल भएर कम्युनिस्ट शासनको एकाधिपत्य हुनुभन्दा पहिलेका तत्कालीन शासक च्याङ्काइसेक जब चीनबाट पलायन भएर फर्मोसामा अर्कै स्वतन्त्र चीनको नाममा ताइवानको स्थापना गरे(जो अहिलेसम्म पनि अस्तित्वमा छ र स्वतन्त्ररुपमा नै आफ्नो बेग्लै अस्तित्वसहित छु भन्ने गरेको छ), त्यसलाई नेपालले कहिल्यै पनि मानेन र संयुक्त राष्ट्रसङ्घमा चीनको अनिवार्य र प्राकृतिक सदस्यताका लागि सधैँ बोलिरह्यो , बोलिरह्यो ।

चीन विशाल देश भएकाले संयुक्त राष्ट्रसङ्घमा उसको भिटो अधिकार रहन्छ । मुख्य भूमि चीनको प्रवेश नहुन्जेल चीनको नाममा ताइवानले नै त्यो विशेषाधिकारसहितको निषेधाधिकार(भिटो) प्रयोग गरिरहेको थियो । अहिले पनि संयुक्त राष्ट्रसङ्घमा संयुक्त राज्य अमेरिका, रसियन फेडरेसन, फ्रान्स, बेलायत र चीनले नै त्यो निषेधाधिकार प्रयोग गर्न पाउँछन् ।

यिनै पाँच देशहरु नै स्थायीरुपमा संयुक्त राष्ट्रसङ्घमा सुरक्षा परिषदमा रहन्छन् । नेपालले पनि यता मुख्य भूमि चीनसँग दौत्य सम्बन्ध स्थापना गरेपछि नै त्यही सन् १९५५ डिसेम्बरको १४ मा नेपाल पनि संयुक्त राष्ट्रसङ्घमा सदस्य भएको हो । नेपालले आफू त्यहाँ सदस्य भएदेखि नै मुख्य भूमि चीनको संयुक्त राष्ट्रसङ्घमा सदस्यता हुनुपर्ने कुरामा जोड दिइरह्यो, अडान लिइरह्यो ।

पहिले नेपालको सम्बन्ध तिब्बतको बाटो हुँदै चीनसम्म पुगेको देखिन्छ । नेपाली कलाकार अरनिकोको कलाले चीनमा प्रख्याती पाएपछि नेपालको महत्व चीनमा बढेको बुझ्न सकिन्छ र आज पनि प्यागोडा शैलीको मन्दिरका रुपमा चीनको राजधानी पेइचिङ्मा नेपाली कलाकार अरनिकोको नाम इज्जतका साथ चिनियाँहरुले लिन्छन् । अतीतमा नेपाली राजकुमारी भृकृटीको विवाह सम्राट स्रङ्चङ् गम्पोसँग भएको र नेपाली बौद्ध सँस्कृतिले चीनमा पहुँच पाएको, चीनहुँदै कोरिया र जापान पुगेको भन्ने पनि मानिन्छ ।

खासगरी तिब्बतमा साम्यवादी चीनले स्वायत्तशासी राज्यको रुपमा प्रशासन सञ्चालन गरेपछि तिब्बती धर्मगुरु दलाई लामा तिब्बतबाट भागेर भारत प्रवासमा गएपछि तिब्बतका वारेमा उठेका प्रश्नहरुलाई निकट छिमेकीका नाताले नेपालले त्यसलाई चीनको आन्तरिक मामिलाका रुपमा स्वीकार गरेको छ, आज पनि एक चीनको नीतिमा नेपाल अडिग छ ।

ताइवान बेग्लै राज्यको रुपमा आफ्नो अस्तित्वको लडाइँ लडिरहँदा र केही पश्चिमा शक्तिशाली राष्ट्रहरुले ताइवानसँग भित्री सम्बन्ध राखिरहँदासमेत नेपालले एक चीन नीतिको पक्षमा आफ्नो राष्ट्रिय नीतिलाई कडाइका साथ पालना गरेको छ । नेपालले त्यसवारेमा चीनको संवेदशीलतालाई राम्ररी ख्याल गरेको छ र चीन त्यसमा विश्वस्त पनि छ ।

यी ६५ वर्ष हामी दुई देशका लागि गौरवका वर्षहरु हुन् । हामी दुईओटा ठुला छिमेकीहरु भारत र चीनका माझमा छौँ । उत्तरतिर चीन छ भने दक्षिण , पश्चिम र पूर्वमा भारत छ । भारतसँग नेपालको खुला सीमाना छ । भारतसँग सीमाका सम्बन्धमा समस्याहरु छन्, लुकाउनु पर्ने कुरा छैन । कहिले सुगौलीको सन्धिको वारेमा समस्या आउँछ , कहिले नदीलाई सीमाना मान्दा नदीले धार बदल्दा समस्या आउँछ त कहिले सीमा बाँध बाँधेर नेपालको भूमि जलमग्न हुँदा समस्या आएको छ । तर चीनसँग त्यसरी कुने समस्या आएको छैन ।

चीनसँगको सम्बन्ध स्थापना गर्न तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको देन रह्यो भने नेपाल चीन सम्बन्धलाई न्यानो रुप दिन र विस्तारका लागि नेपाली कांग्रेसका नेता तथा जन निर्वाचित पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको देन रह्यो । बीपीले नेपालको स्वतन्त्र अस्तित्वको लागि र असंलग्न अवस्थाको सही प्रयोगमा लागि भारत र चीनसँगको सम्बन्धलाई जोड दिँदै विश्व राजनीतिमा पनि स्वतन्त्र पहिचान राख्ने काम गर्नुभयो । त्यसैअनुसार आफ्नो संयुक्त राष्ट्रसङ्घमामा दिएको पहिलो भाषणमा नै चीनको प्रवेशलाई जोड दिनु भएको थियो ।

यता केही समयदेखि नेपालको आन्तरिक राजनीतिमा चीनले सूक्ष्म व्यवस्थापन गर्न थालेको भन्ने विश्लेषण गर्न थालिएको छ । सायद चीनको इच्छा नेपालमा सुरु भएको साम्यवादीको राज्य शासन प्रक्रियामा कुनै विवाद नदेखियोस् भन्ने हुनसक्छ ।

यहाँका कम्युनिस्टहरुले कम्युनिस्ट केन्द्रीयताको अभ्यास राम्रोसँग गरोस् भन्ने लागेको पनि होला तर चीनले यो पनि बुझेको छ कि नेपालमा जुन दल र जुन व्यक्ति शासनमा भए पनि चीनसँगको सम्बन्धलाई अति महत्व दिएकै छन् र एक चीनका लागि समर्थन गरिरहेका छन् । बारम्बार चीनले नेपालसँग चीनको पक्षमा सहयोग गर्न र चीनको सुरक्षामा नेपालबाट कुनै पनि प्रकारको कमी नहोस् भन्ने चाहना राखेको पाइन्छ र नेपाल त्यसका लागि प्रतिबद्ध छ । सरकारको स्तरबाट , जनस्तरबाट समेत ।

नेपाली नागरिक समाजसमेत अटुटरुपमा एक चीनको पक्षमा छ र चीनको विश्व राजनीतिमा अहस्तक्षेपकारी भूमिकाको सधैँ प्रशंसा गर्छ । अहिले हामी कोभिड-१९को संक्रमणमा पनि चीनको अनुभव र सहयोगको लागि धन्यवाद दिइरहेको छौँ । विश्वका १२४ ओटा प्रजातान्त्रिक देशहरुले वुहान भाइरसका वारेमा समीक्षा गरिनु पर्छ भन्ने प्रस्ताव राख्दा पनि नेपाल विवादमा नपरी चीनको अनुभवलाई नेपालमा प्रयोग गर्नतिर लागेको छ ।

चीनको विकासबाट नेपालले पनि फाइदा लिनका लागि नै बेल्ट एन्ड रोडको परियोजनामा हामी खुसीसँग चीनसँगै छौँ । नेपालको भूपरिवेष्ठित अवस्थाको अप्ठेरो समाधानका लागि समुद्रसम्मको पहुँच र चीनसँगको खुला आवत जावतका लागि हामी चीनको सहयोगको अपेक्षा गरिरहेका छौँ ।

नेपाल चीन सम्बन्धले सधैँ सगरमाथाको जस्तै उँचाइ लिइरहोस् भन्ने शुभकामना राख्दाराख्दै पनि के अपेक्षा गर्न सकिन्छ भने नेपाल चीनको समस्यारहित सम्बन्ध अरु विकसित होस् र चीनका लागि नेपालका सबै दलहरु एकैप्रकारले सहयोगी छन् भन्ने कुरामा विश्वस्त हुन अनुरोध पनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्