२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर


26
Shares

काठमाडौं । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ ।

चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीनजना चालक राखेर तलब खुवाउँदै आएको छ ।

बराहपोखरी गाउँपालिकाले १७ वटा मोटरसाइकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ ।

अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् ।

अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ ।

गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।

गाउँसभाले बनाएको कर्मचारी नियुक्तसम्बन्धी नियमावलीको प्राविधिक कर्मचारी नियुक्तसम्बन्धी व्यवस्थामा गाउँपालिकाले ह्याभी र हलुका सवारीसाधन चलाउन मात्रै चालक राख्न सक्ने उल्लेख छ ।

तर, गाउँपालिकाले भने अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउनका लागि चालक राखेको हो । नयाँ पत्रिका दैनिकबाट