कोरोना परीक्षणमा नयाँ विधिः के हो ‘एन्टिजेन’ परीक्षण ? • Image Khabar Image Khabar


कोरोना परीक्षणमा नयाँ विधिः के हो ‘एन्टिजेन’ परीक्षण ?


Imagekhabar
२० श्रावण २०७७, मंगलवार १५:५८

coronavirus

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन २० । कोरोनाभाइरस परीक्षणको नयाँ मापदण्डले आगामी दिनमा ‘पीसीआर’ र ‘एन्टिजेन’ परीक्षण गर्ने जनाइएको छ ।

‘आरडीटी’ परीक्षण रोकेर एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको सरकारले संक्रमण कसरी फैलिएको छ भन्ने अध्ययन–अनुसन्धान गर्न ‘ल्याब बेस एन्टिबडी’ परीक्षणसमेत गर्ने निर्णय गरेको छ ।

यी दुवै परीक्षण पीसीआर परीक्षणभन्दा सस्तो मानिन्छ ।

मानिसको शरीरमा कोरोनाभाइरस छ कि छैन भन्ने पहिचान गर्ने एकमात्र विधि भनेको परीक्षण नै हो । जसका लागि नेपाल सरकारले पीसीआर र आइडीटी परीक्षण गराउन सुरु गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडीटी परीक्षण धेरै व्यक्तिमा हुन थालेपछि त्यसको निकै विरोध भयो । आरडीटी परीक्षण रोक्न युवाहरु सडकमै उत्रिए । माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै उनीहरु अनशनमा समेत बसे ।

जसमा हाल स्वास्थ्य मन्त्रालयले भने आरडीटी परीक्षणलाई रोकेर एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । यो परीक्षण आरडीटी परीक्षणभन्दा फरक हो ।

नयाँ मापदण्डले संक्रमितको पहिचान गर्न पीसीआर र एन्टिजेन परीक्षण गरिने जनाएको छ ।

अमेरिकालगायत युरोपेली देशहरुमा प्रयोगमा ल्याइएको यो परीक्षण नेपालमा कहिले सुरु गर्ने भन्ने निर्णय भने भइसकेको छैन ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भविष्यमा यो परीक्षण गर्ने योजना रहेको बताउनुभयो ।

यस्तै, सरकारले ल्याब बेस एन्डिबडी टेस्ट गर्ने निर्णयसमेत गरेको छ । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्देशिका नै बनाएर मन्त्रालयलाई बुझाइसकेको छ । तर, त्यसमा कुनै निर्णय भएको छैन ।

यस्तै, एन्टिजेन परीक्षण भने स्वाबबाट गर्ने गरिन्छ । एन्टिजेनले जीवित भाइरसलाई देखाउँछ ।

‘क्वालिटी एस्योरेन्स’विज्ञ सुशील थापाले एन्टिजेनबाट भाइरसले निकाल्ने ‘पोइजन’ देखाउने हुँदा छिटो र सजिलै संक्रमण भए/नभएको पत्ता लगाउन सकिने बताउनुभयो ।

नयाँ मापदण्डमा संक्रमण कसरी फैलिएको छ भन्ने पत्ता लगाउन, निगरानी गर्न ‘सेरोलोजिकल टेस्ट’ गर्ने उल्लेख गरिएको छ । त्यो भनेको समुदायमा संक्रमण छ कि छैन ? कतिजनामा छ ? संक्रमण कसरी फैलिएको छ ? भन्ने पत्ता लगाउन एन्टिबडी टेस्ट गर्नु हो ।

एन्टिबडी परीक्षण संक्रमण भइसकेको १४ दिनपछिमात्र गर्ने गरिन्छ ।

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले ल्याब बेस एन्टिबडी परीक्षण नेपालका धेरै प्रयोगशालामा गर्न सकिने र यो सस्तोसमेत पर्ने बताउनुभयो ।

नेपालमा कोरोना संक्रमणको बढ्दो गतिले आगामी दिनमा संक्रमण कसरी जान्छ भन्न नसक्ने अवस्था छ । उपचार नै पत्ता लाग्न नसकेको रोगको परीक्षण नै प्रमुख उपाय हो ।

त्यसकारण विश्वस्तरमा नै भरपर्दो मानिएका यस्ता परीक्षण धेरैभन्दा धेरै व्यक्तिमा गरी संक्रमण नियन्त्रण गराउन सरकारले ढिलाइ भने गर्नहुँदैन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्