Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सडक विस्तारको विरोध गर्दै आएका व्यक्तिका कारण अप्रिय घटना’ (भिडियो)


0
Shares

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)

काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विरोधमा काठमाडौंको माइतीघर मन्डलामा आइतबार भएको प्रहरी धरपकडको विरोध गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसले प्रहरी दमनको भर्त्सना गर्दै गृहमन्त्री रामबहादुर थापाले जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएपछि बैठक स्थगित भएको हो ।

सोमबारको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिए ।

प्रमुख सचेतक खाँणले संविधानको भावनाविपरीत आएको गुठीसम्बन्धी विधेयकको विरोध गर्न शान्तिपूर्णरुपले भेला भएका नागरिकमाथि प्रहरीले दमन गरेको भन्दै दोषीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने चेतावनी दिए ।

तर, कांग्रेसको अवरोधकैबीच सभामुख महराले सत्तारुढ दलका सांसद पम्पा भुसाललाई आफ्नो कुरा राख्न निर्देशन दिए ।

सांसद भुसालले पनि माइतीघर मन्डलामा भएको शान्तिपूर्ण विरोधमा प्रहरी हस्तक्षेपको आलोचना गरिन् ।

तर, प्रतिपक्ष दलका सांसदले भने अवरोधकैबीच सभामुखले कार्यविधिविपरीत बैठक सन्चालन गरेको भन्दै आपत्ति जनाए ।

लगत्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सभामुखसँग समय मागेर विधेयकबारे सरकारको धारणा राखिन् ।

मन्त्री अर्यालले विधेयक सामाजिक मूल्य–मान्यता, धर्म–संस्कृतिमा असर पार्नेगरी नआएको भन्दै गुठियारहरुको विरोध प्रदर्शनमा सडक विस्तारको विरोध गर्दै आएका व्यक्तिका कारण अप्रिय घटना भएको दाबी गरिन् ।

मन्त्रीले जवाफ दिएपनि प्रतिपक्ष दलका सांसदहरुले विरोध जारी राखे ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले गृहमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने अडान दोहोर्‍याइन् ।

लगत्तै सभामुख महराले माइतीघरको घटना दुःखद् भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सभामुखको ध्यानाकर्षणका बाबजुद् कांग्रेसका सांसदहरुले विरोध जारी राखेपछि सभामुख महराले बैठक स्थगित गरे ।

त्यसपछि भएको छलफल पनि सकारात्मक नभएपछि सूचना टाँस गरी बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरियो ।

राष्ट्रियसभामा पनि विरोध

सोमबारको राष्ट्रियसभाको बैठकमा पनि कांग्रेसले माइतीघर मन्डलामा भएको प्रहरी दमनको विरोध गरेको छ ।

कांग्रेसका सांसदहरुले विरोध गर्दा राष्ट्रियसभाको बैठक पनि केहीबेर अवरुद्ध भएको थियो ।

भिडियो हेर्नुहोस्