Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


हरिवंश आचार्यको दाबीः ‘गाईजात्रे क्यासेट बेचेरै दुइटा घर बनाएँ’


0
Shares

काठमाडौं । आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो ।

उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको थियोे ।’

गाईजात्रा क्यासेट बेचेरै आचार्यले दुइटा घर बनाए, जुन कुरा धेरैलाई पत्यार नलाग्न सक्छ ।

आफूले गाईजात्रे क्यासेटको बिक्रीबाटै काठमाडौंको घट्टेकुलोमा दुइटा घर बनाएको स्मरण गर्दै आचार्यले सुनाए, ‘२०३८ सालमा मदन दाइ र मैले गाईजात्राको अवसर पारेर एक घण्टाको क्यासेट ‘यमलोकको यात्रा’ बजारमा ल्यायौं ।

जसमा एकापट्टि आधा घण्टाको ‘यमलोकको यात्रा’ र अर्कोपट्टि आधा घण्टाको प्यारालाइसिस प्रहसन राखेका थियौं ।’

उनले भने, ‘त्यो क्यासेट त्यतिबेला डेढ लाखभन्दा बढी बिक्री भयो । एउटा क्यासेटबाट ९ रुपैयाँको रोयल्टीको हिसाबले हामीले १३ लाखभन्दा बढी पैसा त्यसै वर्ष पायौं ।’

यसरी क्यासेट निकालेको केही महिनामै लगातार पैसा आएपछि आचार्यले सोही वर्ष घट्टेकुलोमा घडेरी किनेर घर बनाएका रहेछन् ।

त्यस वर्ष उनको भागमा करिब ७ लाख रुपैयाँ परेको थियो । त्यसपछि उनले मदनकृष्णसँग मिलेर ‘अंशबन्डा’, ‘रद्दीको टोकरी’, ‘होस्टे हैंसे’, ‘कक फाइट’लगायत थुप्रै गाईजात्रे एल्बम निकालेको स्मरणे गरे ।

क्यासेट बिक्रीको पैसाले फेरि अर्को घर थपेका उनले २०४८ पछि भने गाईजात्रे क्यासेट निकाल्न छाडे । -राजधानी दैनिकबाट