Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


दुबै सदनमा कांग्रेस सांसदद्वारा गुठी विधेयकको विरोध: संसद बैठक नै स्थगित


0
Shares

काठमाडौं । गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदन विरोध गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको बैठकको सुरुमै गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै संसद बैठकमा कांग्रेसका सांसदहरुले विरोध गरेका हुन् ।

उनीहरुले सरकारले जनभावनाविपरित गुठी विधेयक अघि बढाएको र त्यो तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले आइतवार मण्डलामा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाए ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकको शुरुमै बोल्दै गुठियारहरुले गरेको प्रदर्शनमा सरकारले गरेको दमन र गुठी विधेयकप्रति आपत्ति जनाउँदै सरकारको जवाफ मागेका थिए ।

तर सभामुख कृष्णबहादुर महराले सरकारलाई जवाफ दिन लगाउनुको साटो सत्तापक्षीय सांसद पम्फा भुषाललाई बोल्न समय दिएपछि संसदमा कांग्रेस सांसदहरुले आपत्ति जनाउँदै होहल्ला गरेका थिए ।

सांसद भुषालले गुठीयारमाथि गरिएको हस्तक्षेपको विरोध गरेपनि सभामुख महराले संसदीय पद्धति विपरित गएरसत्तापक्षका सांसदलाई बोल्न दिएको भन्दै कांग्रेस सांसदले आपत्ति जनाएका हुन् ।

भुषालले आफ्नो भनाई टुंग्याएपछि सभामुख महराले भूमिसुधार मन्त्री पद्यमा अर्याललाई बोल्न समय दिएका थिए । अर्यालले सरकारले संविधान अनुरुप विधेयक ल्याएकाले बाँकी प्रक्रिया संसदले नै टुग्याउने जवाफ दिएकी थिइन् ।

तर मन्त्री अर्यालको जवाफमा चित्त बुझेन भन्दै कांग्रेस सचेतक पुष्पा भुषालले सभामुखबाटै संसदीय पद्धति अनुरुप सदन सञ्चालन नभएकोमा आपत्ति जनाइन् । उनले मन्त्री अर्यालले दम्भपूर्ण जवाफ दिएको र यसलाई आफुहरुको चित्त नबुझेको भन्दै गृहमन्त्रीको धारणा मागिन् ।

गृहमन्त्रीको जवाफ नआउँदासम्म सदन चल्न नदिने अडानमा कांग्रेस रहेपछि सभामुखले १५ मिनेटका लागि सदनको कार्वाही स्थगित गरेका छन् ।

राष्ट्रियसभाको बैठक पनि स्थगित

उता राष्ट्रियसभाको बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामा नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आइतबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्सर्ना गरे । विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गरे ।

बैठकमा आजबाट प्रतिनिधिसभामा प्रस्तुत गरिएको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यक्रम छ ।

बैठकमा बजेटको मन्त्रालयगत विभिन्न शीर्षकमाथि छलफल सुरु गर्ने कार्यतालिका छ ।

सांसदहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे धारणा राख्ने छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेट पारित गर्न सांसदहरुबीच छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसद्मा प्रस्तुत विधेयकमा दुर्गा पौडेल, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मालगायतका सांसद्हरुले विभिन्न प्रस्ताव राखेका छन् ।

यही प्रस्तावबारे छलफल हुने र सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।