३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बालकोट पुगेर प्रधानमन्त्री ओलीको राजनीतिक सन्देशः ‘अब अढाई वर्षपछि मात्र घरमा बस्न आउँछु’


0
Shares

primeminister kp oli bhaktapur balkot baluwata prachanda

काठमाडौं, साउन १९ । पार्टीका शीर्ष तहका सबैजसो नेता, सचिवलाय, स्थायी कमिटी र केन्द्रीय कमिटीसमेतका नेताले पद त्याग्न दबाब दिइरहेका बेला प्रधानमन्त्री केपी ओलीले अढाई वर्ष त्यस्तो आश नगर्न सन्देश दिनुभएको छ ।

सोमबार अचानक भक्तपुरको बालकोटस्थित आफ्नै निवास पुग्नुभएका प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले आफू अढाई वर्षपछि स्थायी रुपमा बस्ने गरी आउने बताउँदै राजनीतिक सन्देश प्रवाह गर्नुभएको हो ।

बालुवाटारमा आफ्नो राजीनामा मागिरहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता झलनाथ खनालसँगको भेटलगत्तै बालकोट पुग्नुभएका उहाँले त्यहाँ पुगेका नेता कार्यकर्तासमक्ष बालुवाटार छाड्ने मिति तोकिदिनुभएको हो ।

झण्डै सवा घण्टा बालकोटमा रहँदा ओलीले घरको चोटाकोठा चहार्नेदेखि बगैँचा र फलफूलका बोटविरुवा समेतको अवलोकन गर्नुभएको थियो ।

ओली प्रधानमन्त्रीमा निर्वाचित भएर बालुवाटार सरेपछि ओली निवासमै बसिरहनुभएका पूर्वमन्त्री एवं काभ्रेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री अचानक बालकोट आउनु भएको र आफूले पनि अन्तिम समयमा थाहा पाएको बताउनुभयो ।

बालकोटमा प्रधानमन्त्री ओलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल र जिल्लाका केही कार्यकर्तासँग केहीबेर कुराकानी पनि गर्नुभएको थियो । त्यसक्रममा भक्तपुर जिल्लामा कोरोनाको प्रभाव र नियन्त्रणबारे कुरा भएको थियो ।

ओलीले दाहाललगायतका नेताहरुसँगको वार्ता जेरीजस्तै गुलियो भइरहेको भन्दै व्यंग्य गर्नुभएको थियो ।