
झापा । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा संकलन गर्ने राजस्वमा कमी आएको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व संकलन गरेको छ ।
कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट तीन करोड ९० लाख ८५ हजार राजस्व संकलन भएको जानकारी दिनुभयो ।
हातहतियार इजाजतबापत ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्प्युटर अपरेटरको परीक्षा संचालन गरेबापत सात हजार रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख दुई हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को भन्दा दुई करोड ५३ लाख ३५ हजार ६४८ रुपैयाँले कमी रहेको उहाँले बताउनुभयो ।
अघिल्लो वर्ष कार्यालयले छ करोड ५६ लाख ५१ हजार २८४ राजस्व संकलन गरेको थियो ।
लेखापाल नेपालले आर्थिक वर्षको दोस्रो चौमासिक सुरु नहुँदै लकडाउन भएकाले विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्