काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् ।
उनले कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म विगतको इतिहासलाई भजाएर आफूतिर तान्न नसकिने उल्लेख गरे ।
आइतवार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले कांग्रेस आफू पनि सच्चिन तयार रहनुपर्ने बताए ।
उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लािग पार्टीभित्रको संस्थागत सुधार गरेर, विधि विधानबाट चलाएर मात्रै कांग्रेस एकढिक्का बनाउनुपर्ने उल्लेख गरे ।
गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझावहरु आएको हुँदा नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने र त्यही अनुसार परिवर्तन गर्नुपर्ने जनाए । उनले नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।
यसैगरी उनले संसदमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गरे ।
दुई तिहाईको सरकारले गरेको मनपरी र अधिनायकवाद शैलीको कदमको सशक्त प्रतिकार गर्दै आएको बताए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी, पूर्व मन्त्री खड्गबहादुर बस्याल, पार्टीका पूर्व सभापति गोविन्दबहादुर मल्लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्