सुर, ताल र लयको क्रमभंग नेकपा - Image Khabar
Everest Bank

सुर, ताल र लयको क्रमभंग नेकपा

-संजिव कार्की

कुनै पनि चिजमा तादम्यता भएन भने त्यसले सापेक्षित अर्थ राख्दैन । अनर्थ, अर्थ होइन तसर्थ अर्थ नहुनेको उदेश्य पनि हुँदैन । निरुदेश्य नै उदेश्य सिद्दान्त च्युत नै सिद्दान्त भएपछि, असिद्दान्त सिद्दान्तको पगरी गुथेर पनि सिद्दान्त बन्न सक्तैन । अविचारले विचारको निर्माण ,उत्पादन र प्रमोशन गर्न सक्षम बन्दैन । व्यक्तिको शैली सिद्दान्त बन्ने आचरण पथ बन्ने समय यो छैन । समयले सापेक्षित चेतना र उन्नत विचारको माग गर्छ । परम्परागत कम्युनिस्ट सिद्दान्त पुरानो भयो भन्नेले न नयाँ सिद्दान्त प्रतिपादन गर्ने क्षमता राखे न पुरानै सिद्दान्तमा अडन, टिक्न सके । यही समस्या र भुमरीमा परेको कारण नेकपा कुहिरोको काग बनेर आफ्नो साख गुमाउँदै छ ।

जनताको अपार समर्थन र सत्ता संचालनार्थ दिएको पाँच बर्षे लाल मोहोरको खिल्ली उडाएको पाइन्छ । जनताको मतादेशलाई आ आफ्नो पक्षमा भागबण्डा गरेर स्थिर सरकारको चाह र उदेश्यको मर्ममा घात गरिएको छ । दिशावीहिन, लक्ष्य बिहिन र आदर्श विहिन भएर नेकपा पार्टी र सरकार रहेको छ । अन्तरकलह ,सत्ता र शक्तिको तिकडममा पार्टी र सरकारको द्वन्द्व, नेकपाका नेता कार्यकर्ताहरुको प्रस्तुतिले परम्परागत पर्व गाइजात्रा ओझेलमा परेको छ । अनुशासन पार्टी आचरण बिधान र पद्दति मिचेर नेता कार्यकर्ता एक अर्कालाई खुइल्याउन जानेको सकेको तुच्छ र मर्यादाहीन शब्दमा प्रतियोगी झैँ लागिपरेका छन ।

सत्तासिन पार्टीको झगडाको असर र प्रभाव देशभर देखिएको छ । राजनीति ,प्रशासन र यत्रतत्र यसको प्रभावले जनताको दैनिकीलाई दुष्प्रभावले गाँजेको छ । एकातिर कोरोनाले देशलाई गाँजेर भयंकर संक्रमणको खतरा उन्मुख छ । देशको अर्थतन्त्र तहसनहस बनेर जनताको हातमुख जोर्ने समस्या देखिन थालेको छ अरु महासंकट आसन्न छ तर सत्ताको ठेक्दारी पाएका मान्छेहरु, नेकपाका नेताहरु मानवीय संवेदनालाई पर छोडेर आफ्नो लालची आकंक्षाको उडान भर्न मस्त र व्यस्त छन । लोकलाज हराएपछि बाँकी केही रहँदैन नेकपा अहिले यही स्थिति र मनस्थितिबाट लज्जाहीन कुरूप अनुहार लिएर अगतिशील छ । गतिशिलता आफ्नो गुट प्रवर्द्धन गर्न, घेरा बनाउन र एकार्काको बाहुल्यता बढाउनमा सिमित छ । भ्रमित पार्टी, सत्ता र शक्तिले प्रगतिशील कदम र कार्य गर्न सक्तैन । खराब नै सही आफ्नो पार्टी र सिद्दान्त यही हो भनेर जुन पार्टीले किटान गरेर तदनुकुल कार्य गर्दैन त्यो पार्टीको दशा र हैसियत निश्चयनै नेकपा भन्दा फरक हुन्न ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादले ज्वाजल्यमान भएको नेकपा एमाले, प्रचण्डसँगको पार्टी एकीकरण पछी प्रचण्ड पथ कि मदनपथ जनताको बहुदलीय जनवाद कि एक्काइसौं सताब्दीको जनवाद भन्ने सैद्दान्तिक विवादले निकास पाएको छैन । चुनावी मोर्चा जस्तो बनेर, बनाएर चुनाब जितेको नेकपा अन्तर अल्झनमा पर्नुको मुख्य कारण सैद्दान्तिक होइन यद्यपी, सिद्दान्त क्लियर नहुनु पनि विचार राजनीति समस्यामा पर्नुको कारण बन्छ । तर नेकपा भित्रको विवाद नेताहरुको शैली आचरण र सत्ता लोलुपताको कारण हो । पार्टी एकीकरण सिद्दान्तको लागि भएको थिएन सत्ताको लागि थियो । पदको सौदाबाजी गरेर पार्टीको एकीकरण भएको थियो । भन्छन अन्तर पार्टी जनवाद तर गर्छन सिन्डिकेटको समर्थन र प्रवर्द्दन । नेकपा संघर्ष र बेहालको एक चित्र डाक्टर कृष्ण ढकाल यसरी चित्रित गर्छन । “जिर्ण शरीर र बृद्द कायमा एक भोको गाई मैदानमा लडिरहेको छ ।

केही थान मोटा बलियाबंगा बाच्छाहरु घाँस ओगटेर बसेका छन र थुन चुस्न मारामार गरिरहेछन । थप केही बलिया बाङ्गा बाच्छाहरु समुह, समुहमा बाँडिएर तिनको रक्षामा सिंगौरी खेल्न तयार छन । त्यो भन्दा बाहिर भोका दुब्ला, ख्याउटे बाच्छा, बाच्छीहरु एक थोपो दुध र अलिकति घाँसको निम्ति तड्पिरहेका छन । र अलि पर एउटा विशाल ब्वाँसो यी सबलाई उकास्दै मुख मिठ्याएर बसेको छ ।’’आजको सत्ता राजनीति र नेकपा उल्झनको चित्र यो कथाको सारभन्दा फरक छैन । नेकपा स्थाई समितिको बैठक स्थगन र यसको सिलसिलमा हेर्दा लाज नलाग्ने कसलाई होला र ? पद्दति बिधि र नीति भन्दा फरक व्यक्तिको स्वच्छिक मनोमानी नै पार्टी भएपछि आउने परिणाम यस्तै हो । विचारको समागम थिएन पार्टी एकता अत पदको समागम थियो, व्यक्तिको स्वार्थको लेनदेनमा पार्टी बिघटन भएको थियो ।

पार्टी भनेकै दुई व्यक्ति मात्र स्वीकार गरिएको कारण पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेका लाखौं कार्यकर्ता विचार विहिन र आचरण विहिन भएका हुन् । नेताको जस्तो विचार र आचरण पनि पचाउनु पर्ने, ढाकछोप गर्नु पर्ने, आ-आफ्नो गुटको प्रमोशन र नेताको आशिर्वादको लागि खट्नु पर्ने नेकपाका युवा पुस्ताको नियति र नियत बनेपछि नेकपा अब हरियो भएर पलाउने सम्भावना देखिन्न । जुन पार्टीको पार्टी कमिटिका बैठकहरु बस्न सक्दैनन विवाद अप्ठ्यारा र आम सबालहरु कुनै कुनामा बसेर मिलाउनुपर्ने हुन्छ । सत्ता र स्वार्थको लागि प्रधानमन्त्रीले रातबिरात सौदाबाजी गर्न नेताहरुको घर घर कुद्नु पर्ने हुन्छ । दुई नेताको स्वार्थ व्यवस्थापन नै पार्टीको नीति सिद्दान्त बन्छ भने त्यसले दिने दुरगामी परिणाम कस्तो छ ? बर्तमानमा सबै मुहार प्रष्ट भएको छ ? हस्तक्षेपकारी राजनीतिक पुस्ता र दस्ताको अभावको कारण नेकपा अत्यन्त गम्भीर र कठोर मोडमा दुर्घटनाको डिलमा छ सम्भावित दुर्घटना सम्भवत टर्दैन यदि हाललाई टर्‍यो भने पनि भावी सम्भावना जीवित र अत्यासलाग्दो देखिन्छ ।

केपी ओली र प्रचण्डको स्वार्थ पूर्तिको लागि पार्टी पद्दती भत्काएर व्यक्तिको मर्जी र स्वेच्छाले चल्ने पार्टी निर्माण गरेपछि, लहड आवेग र स्वार्थसिद्दको लागि पार्टी बनाएर विचार, नीति र मार्गको एकता भनेर कम्युनिस्ट पार्टीको सैद्दान्तिक एकताको जामा भिराइयो गलत त्यहिँबाट शुरु भयो । पार्टी एकताको लागि प्रचन्ड र ओलीले कसैलाई सोध्नु परेन, पार्टी पंक्तिमा छलफल गर्नु परेन, नेता कार्यकर्ताको भावना कदर गर्नु परेन ।

आफ्नै पार्टीका आफ्ना समकक्षी प्रधानमन्त्री भै सकेका नेताहरुलाई समेत बाल नदिएर गरिएको पार्टी एकताको दिगोपन र एकताको आधार बलियो छैन, हुदैन भनेर धेरै पहिलेदेखि चर्चा र परिचर्चा गरिएको हो । वैचारिक सैद्धान्तिक आधार र धरातल उस्तै भनिए पनि नेकपा एमाले र नेकपा माओवादीका नेताकार्यकर्ताहरुमा आधारभूतरूपमा पृथकता र दुरी लामो थियो । पार्टी एकता पार्टी कार्यकर्ताको भावना चाहना र विचार पनि हो तर नेताको टुपी मिलेपछि सबथोक मिल्छ भन्ने गलत धारणा भएकोले एकताले गति लिन सकेन ।

चुनाब जित्नु, चुनावी मोर्चा बनाउनु र पार्टी एकता नै गरेर जानु नितान्त फरक कुरा थिए तर नेकपाका नेताहरुले यो कुरामा हेक्का पुर्‍याउन सकेनन र दोश्रो पुस्ताका नेताहरु नेकपा एमाले भित्रका र माओवादी भित्रका केवल ‘एस म्यान’ बने । भोलिको संकट र अप्ठ्यारोको द्रस्टा बन्न सकेनन । आशिर्वाद र टीका थापेर चल्ने, चलाउने पद्दति कै कारण युवा पुस्ता नेता निर्भर बने स्वनिर्भर बन्न सकेनन । यसर्थ जस्तो निर्णय नेताले गरेपनि शिरोपर गरेर जाने प्रवृति देखा पर्‍यो । भिजनवाला लिडर आज र अहिलेको कुरा हेर्दैन सोच्दैन भावी दिनको कल्पना र भविष्य हेर्छ तर सत्ता लिप्साको कारण अहिलेको पुस्ता तातै खाउँ जल्दै मरौंको स्थितिमा छ ।

देशको पार्टीको र आफ्नो भोलिको सुनौलो भविष्य हेर्दैन आजको र हातको सत्ता अवसरमा ध्यान दिन्छ । आशा लाग्दा भनिएका नेकपाका युवा पुस्ताको दुरदर्शिताको अभावले पनि नेकपा संकट, महासंकट र आपदमा छ । व्यक्ति इच्छा र लहड अनि सनकलाई सिद्दान्त भनिएपछि आउने आपद र विपद यही हो । पार्टी पद्दतिमा व्यक्तिको छाप हुन्छ तर व्यक्तिको लागी सिद्दान्त निर्माण हुँदैन । स्वार्थ ब्यबस्थापनको लागी पद्दति बलि चढदैन । व्यक्तिको अनुहार हेरेर सिद्दान्तको भास्य लेखिन्न । लय, सुर र ताल बिनाको नेकपा बनाउने स्वयं नेकपा कै नेता कार्यकर्ता हुन् जनताले पांच बर्षका लागि विश्वासको लालमोहर दिएका हुन जन्म जन्मान्तरको लागि होइन ।

प्रतिक्रिया दिनुहोस्