Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


मनपरीतन्त्रले सरकार सन्चालन : महत


0
Shares

पोखरा, जेठ २५ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार मनपरीतन्त्रले चलेको आरोप लगाएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको शनिबार पोखरामा समापन गर्दै उनले जनभावनाअनुसार काम नगरी मनपरीतन्त्रले सरकार सन्चालन भइरहेको बताए ।

नेता महतले सरकारमा रहेकाहरु नै भ्रष्टाचारमा संलग्न रहेपनि उनीहरुको प्रतिरक्षामा सरकार उत्रिएको जिकिर गरे ।

आफैं भ्रष्टाचार गर्ने आफैं छानबिन गर्दा भ्रष्टाचार मौलाउँदै गएको उनको भनाइ थियो ।

वर्तमान सरकारले प्रेसमाथि आक्रमण गरी अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको आरोपसमेत उनले लगाए ।

यसअघि, पोखराको पृथ्वीचोकबाट सुरु भएको र्‍याली नयाँबजार, महेन्द्रपुल हुँदै चिप्लेढुंगा, बीपीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

गएको वैशाख २५ गतेदेखि सुरु पहिलो चरणको जागरण अभियान देशका ७७ ओटै जिल्लामा एक महिना चलेको हो ।

शनिबार देशभरि नै कार्यक्रमको आयोजना गरी पहिलो चरणको जागरण अभियान कार्यक्रम समापन गरिएको कांग्रेसले जनाएको छ ।