आधुनिक कंक्रिट निर्माणसँगै मौलिक पाटी-पौवा र चौताराहरु लोप हुन थाले • Image Khabar Image Khabar


आधुनिक कंक्रिट निर्माणसँगै मौलिक पाटी-पौवा र चौताराहरु लोप हुन थाले


Imagekhabar
१४ श्रावण २०७७, बुधबार ०८:३३

आधुनिक कंक्रिट निर्माणसँगै मौलिक पाटी-पौवा र चौताराहरु लोप हुन थाले

-केदार कटुवाल/ईमेज
उदयपुर । पछिल्लो समय गाउँ बस्तीमा सडक निर्माणसंगै मौलिक पाटी–पौवा र चौतारा भत्किन थालेका छन ।

आधुनिक पक्की सडक र यातायातको बिस्तारसंगै पाटी–पौवा र चौतारा बिनास हुँदै गएका हुन ।

परम्परागत मौलिक चौतारा पाटीपौवा मासेर तडक भडकका साथ फलामे डण्डी , सिमेण्ट कंक्रिट प्रयोग गर्दै पार्क बन्न थालेका हुन ।

त्यसैको एउटा उदाहरण बनेको छ बेलका नगरपालिका–४ को पुरानो र ऐतिहासिक बजार ।

त्यहाँको लाल हाटक‍ो चौतारो, जहाँ करिब दुई सय मानिस बसेर समाजका वहस चलाउँथे । समुदायका झैझगडा हुँदा पनि भद्रभलाद्मीहरु बसेर कचहरी, छलफल र निर्णयमा पुग्ने गर्थे ।

तर यतिबेला किसान, मजदुरलगायतका आमा नागरिकहरुले सुस्केरा लगाउने र बटुवाहरु बिसाउने उक्त चौताराहरु मासिदै गएका हुन ।

लालहाट उदयपुर जिल्लाको सबैभन्दा पुरानो हाट हो । राणा शासनका बेला १९७८ तिर सप्तरीको फत्तेपुरमा त्रियुगा नदीलाई मुहान बनाइ निर्माण गरिएक‍ो चन्द्र नहरको निर्माणमा चन्द्रशम्सेर जबराले अनुगमन निरिक्षण गर्दा बेलका जंगलमा शिकार खेल्दै लालहाटलाई बासस्थल बनाएको इतिहास छ ।

त्यसपछि उक्त ठाउमा मासिक रुपमा औसीका दिन हाटको थालनी भएको थियो । पूर्णिमाका दिनमा पनि हाट लाग्न थालेपछि मासिक दुई दिन र पछिल्लो समय मंगलबार हाट लाग्न थालेको थियो । त्यसैले यो स्थान धेरै उदयपुरबासीको जक्सन बनिरहेको हो ।

मदन भण्डारी लोक मार्गको चतरा बसाहा खण्डमा पर्ने यो स्थान लाल सिसुवाबाट परिचित छ ।

अहिले यहाँ लालगेडी पार्क निर्माणका लागि करिब २० लाख रकम नगरपालिकाले बिनियोजना गरेको पार्क उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र राइले बताए ।

मौलिक र परम्परागत शैलिका पौवा–पाटी चौतारालाई संरक्षण गरिनु पर्नेमा उल्टै बिनास गरिएको छ ।

जसका कारण पुराना पहिचान र चिनारी संकटमा पर्दै गएका हुन । बुढापाका बसेर जीवनका सुख–दुःख साटासाट गर्ने ठाउँ मासिएकोमा स्थानीय बुढापाकाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्