Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पाँचजनाविरुद्ध मुद्दा


0
Shares

काठमाडौं, जेठ २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारकाअनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमुना मच्छिन्द्र क्याम्पस लगनखेलको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गा गैरकानुनीरुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाउने गरी श्रेस्ता कायम गरेको पाइएको छ ।

मन्जुतारा शाक्यको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर १००१ र १००२ गरी जग्गाको एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साविक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाइ भ्रष्टाचार गरेको पाइएको छ ।

गैरकानुनीरुपमा व्यक्ति विशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र नमुना मच्छिन्द्र क्याम्पस लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको आयोगले आरोप लगाएको छ ।

उनीहरुविरुद्ध आयोगले उक्त जग्गाको मूल्य रु १७ लाख ८१ हजार २५० बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस