नवीन शर्मा र भरत केसी (इमेज)
काठमाडौं, जेठ २३ । समाजवादी पार्टी नेपालले संविधान संशोधन नभए सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सरकारले विगतका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको निष्कर्ष सो पार्टीले निकालेको हो ।
संघीयताको भावनाअनुरुप संविधान संशोधन नभए आन्दोलन गर्ने र सरकार पनि छाड्ने चेतावनी दिँदै आएको समाजवादी पार्टी नेपालले संविधान संशोधनलाई विशेष मुद्दा बनाउन लागेको हो ।
विगतका सम्झौताहरुप्रति सरकार उदासीन बनेकाले सरकार छाड्ने र आन्दोलन सुरु गर्ने पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सार्वजनिकरुपमै बताइसकेका छन् ।
त्यसो त अन्य मधेसवादी दलहरुले पनि पटक–पटक संविधान संशोधनकै विषयलाई मुख्य मुद्दा बनाइरहेका छन् ।
संसदमा पटक–पटक यो विषयलाई लिएर सरकारको आलोचना भएपनि संविधान संशोधनको विषय प्रवेश भएको छैन ।
राजनीतिक विश्लेषक डा. राजेश अहिराज संविधान संशोधनको मुद्दा बेमौसमी बाजा भएको बताउँछन् । यो खाली घुर्कीको राजनीतिमात्र भएको र सत्ता प्राप्त गर्ने राजनीतिक हतियार बनेको अहिराजको तर्क छ ।
समाजवादी पार्टी नेपालका नेता डम्बर खतिवडा अब अन्तिमपटक सरकारलाई ‘अल्टिमेटम’ दिने र सरकारले अटेर गरे सरकार छाड्ने र सशक्त आन्दोलन सुरु गर्ने बताउँछन् ।
संघीयताको भावना र मर्मबमोजिम संविधान जारी नभएकाले आन्दोलनमा जाने निर्णय पार्टीले गरिसकेकाले अब पछाडि नहट्ने खतिवडाको भनाइ छ ।
जाति, भाषा, धर्म र इतिहासअनुरुप प्रदेशको पुनः संरचना गरिनुपर्ने, महिला र पुरुषको नागरिकता सम्बन्धमा समान अवधारणा हुनुपर्ने, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन हुनुपर्नेलगायतका संविधान संशोधनका मागहरु समाजवादी पार्टीका रहेका छन् ।
राजनीतिक विश्लेषक डा. अहिराज भने कुनै जाति, वर्ग र समुदायका लागिमात्र संविधान नभएकाले यसको दूरगामी प्रभाव कस्तो हुन्छ भन्ने सोचेरमात्र कुनैपनि माग र सम्झौताहरु कार्यान्वयन गरिनुपर्ने सुझाव दिन्छन् ।









प्रतिक्रिया दिनुहोस्