Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


नेकपामा फेरि किचलो : ओलीको राजीनामाको मागलाई नै निरन्तरता


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे।

त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए।

दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको देखाएको छ।

दाहाल र नेपाल दुवैजना ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए। दुवै नेता नेकपाका अर्का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा ललितपुरको कुम्भेश्वरमा आयोजित कार्यक्रममा पनि सँगै थिए।

दाहाल र नेपालले असार १६ यता ओलीको राजीनामा माग गर्दै आएका छन्।

गत शनिबारको सचिवालय बैठकमा ओलीले गरेको पार्टी एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए। त्यसले नेपालसँगको सम्बन्धमा अविश्वास पैदा गरेको थियो।

दाहाल र नेपालले शुक्रबार भने प्रधानमन्त्री ओलीले आफूलाई मात्र राष्ट्रवादी देखाउन खोजेको, पार्टीको सामूहिक निर्णय नमानी पार्टीको अधीनस्थ सरकार सञ्चालन गर्ने कम्युनिस्ट पार्टीको बाटोविपरीत हिँड्न थालेको आरोप लगाए।

‘तथाकथित एकताको माला जपेर एकता हुने होइन’, दाहालले भने, ‘संघर्षबाट एकता मात्रै प्राप्त हुन्छ भन्ने जरुरी छैन। एकता संघर्ष र रूपान्तरण, नयाँ आधारमा नयाँ एकता हासिल गर्ने विधि पद्धति र सोच अवलम्बन गर्नुपर्छ।’-अन्नपूर्ण पोष्ट दैनिकबाट