२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


१२० दिनमा देश ‘अनलक्ड’: कुन देशमा लकडाउनको अवस्था कस्तो छ ?


0
Shares

काठमाडौं । कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छ ।

मन्त्रिपरिषद्को मंगलबारको निर्णयले ११ चैतदेखि लागू गरिएको लकडाउन ६ साउनको राति १२ बजेदेखि अन्त्य भएको छ ।

सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय छ ।

कुन देशमा लकडाउनको अवस्था कस्तो छ ?

अमेरिका : कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले पनि सामाजिक दूरीसहितको बन्देज क्रमशः खुला गरिरहेको छ । विभिन्न राज्यका गभर्नरले वस्तुस्थिति हेरेर निर्णय लिइरहेका छन् । सबै राज्यले लकडाउन गरेका थिएनन् । अमेरिकाका ५० राज्यमध्ये अधिकांशमा रात्रि क्लब, बार तथा भिडभाड हुने समारोहमा रोक लगाइएको छ ।

भारत : भारतले ८ जुनदेखि रेस्टुरेन्ट, कार्यालय, सपिङ मल खुला गरेको छ । आन्तरिक उडान २५ मेदेखि खुला छ । बस र रेलसेवा चालू छ । सिक्किम, छत्तिसगढ, केरला, कर्नाटक, जम्मु–कस्मिर, महाराष्ट्र र पश्चिम बंगालका सीमित क्षेत्रमा मात्रै लकडाउन जारी रहेको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जनाएको छ । भारतमा प्रतिदिन ३० हजारभन्दा बढी नयाँ संक्रमित भेटिइरहेका छन् भने प्रतिदिन औसत पाँच सयजनाभन्दा बढीले संक्रमणबाट ज्यान गुमाइरहेका छन् ।

चीन : चीनले संक्रमित देखिएका स्थानलाई मात्रै सिल गर्ने गरेको छ, बाँकी ठाउँ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खुला गरेको छ । पछिल्लो समयमा बेइजिङ, मुस्लिम बाहुल्य सिन्जियाङलगायत क्षेत्रमा संक्रमित देखिएका छन् ।

हङकङ : हङकङमा दैनिक सयको संख्यामा कोरोना संक्रमित भेटिएपछि बार, जिम, क्लबमा कडाइ गरिएको छ ।

बेलायत : बेलायतले २५ जुलाईदेखि लागू हुने गरी जिमखाना, स्विमिङ पुल, खेलमैदान तथा खेलकुदका क्षेत्र खुला गरेको छ । १ अगस्टदेखि विभिन्न कार्यालय कसरी खोल्ने र स्टाफहरूले सुरक्षित रूपमा कसरी र कहाँबाट काम गर्ने भन्ने तय गरिने बिबिसीले जनाएको छ ।

त्यही दिनबाट क्यासिनो, सैलुन, ब्युटिपार्लरसहित मनोरञ्जनका क्षेत्र पनि खुला गरिनेछन् । सामाजिक दूरीसहित कन्सर्ट पनि आयोजना गर्न पाइनेछ । एक महिनासम्मका लागि वैवाहिक समारोहका पार्टीमा बढीमा ३० जना सहभागी हुन पाउनेछन् । सेप्टेम्बरदेखि विद्यालय, किन्डर गार्डेन तथा क्याम्पसहरू पूर्ण रूपमा खुला हुनेछन् । विश्वविद्यालयहरूले पनि यसका लागि गृहकार्य गरिरहेका छन् । अक्टोबरदेखि रंगशाला खुल्नेछन् । सभा, सम्मेलन तथा व्यापारिक समारोहहरू सुरु हुनेछन् ।

जर्मनी : जर्मनीले कतिपय विद्यालय, खेलमैदान, सैलुन, गिर्जाघर, संग्रहालय खुला गरेको छ । तर, स्वास्थ्य प्रोटोकल अनिवार्य गरेको छ ।

स्पेन : स्पेनले २१ जुनबाट लकडाउन हटाएको छ । देशभित्र यात्रा पूर्ण रूपमा खुला छ । बाहिरबाट जाने यात्रुले क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य छैन । तर, बार्सिलोनालगायत केही ठाउँमा भने अत्यावश्यक कामबाहेकको अवस्थामा बाहिर नजान सरकारले आग्रह गरेको छ ।

इटाली : इटलीले १० हप्ता लामो लकडाउन खुला गरेको छ र पर्यटन प्रवद्र्धनका लागि गृहकार्य गरिरहेको छ ।

इजरायल : इजरायलले बजार, विद्यालय, खेलमैदानलगायत पूर्णतः खुला गरेको छ । तर, संक्रमित बढेपछि सरकारको आलोचना भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

न्युजिल्यान्ड : २५ मार्चबाट जारी गरेको लकडाउन ८ जुनबाट हटाएको छ । सार्वजनिक स्थल खुला गरिएका छन् । सामाजिक दूरी बाध्यकारी बनाइएको छैन । सामाजिक कार्यक्रममा बन्देज छैन । -नयाँ पत्रिका दैनिकबाट