‘मैले राजनीति छाडेँ, चीनले घोषणा गरेको दलाई लामालाई तिब्बतीले मान्दैनन्’– दलाई लामा • Image Khabar Image Khabar


‘मैले राजनीति छाडेँ, चीनले घोषणा गरेको दलाई लामालाई तिब्बतीले मान्दैनन्’– दलाई लामा


Imagekhabar
६ श्रावण २०७७, मंगलवार १५:३१

‘मैले राजनीति छाडेँ, चीनले घोषणा गरेको दलाई लामालाई तिब्बतीले मान्दैनन्’– दलाई लामा

एजेन्सी, साउन ६ । तिब्बतका नेता एवं धार्मिक गुरु दलाई लामाले आफूले राजनीति छाडेको घोषणा गर्नुभएको छ ।

चीनद्वारा अपदस्थ गरिएपछि ६० वर्षदेखि भारतीय भूमिमा शरण लिएर बसिरहनु भएका बुद्ध धर्मका गुरु दलाई लामाले राजनीति छाडेको घोषणा गर्नुभएको हो ।

तिब्बतियन बुद्ध धर्मावलम्बीहरुका पवित्र धार्मिक गुरु दलाई लामाले आफूपछि कस्लाई दलाई लामा बनाउने भन्ने निर्णय गर्ने सर्वाधिकार तिब्बतीहरुमा मात्र रहेको प्रष्ट गर्नुभएको छ ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले घोषणा गरेको व्यक्तिलाई तिब्बतीहरुले कुनै हालतमा दलाईका रुपमा नस्वीकार्ने पनि स्पष्ट गर्नुभयो । तिब्बतमा रहेका दलाई लामासम्बन्धि अनेकन संस्थालाई राख्ने नराख्ने भन्ने निर्णय पनि तिब्बतीले मात्र गर्न सक्ने प्रष्ट सन्देश उहाँले दिनुभयो ।

६० लाख तिब्बतीको विश्वास आफूमा रहेको दाबी गर्दै उहाँले ती ६० लाख तिब्बतीको प्रतिनिधित्व दलाई लामाबाहेक अरु कसैले गर्न नसक्ने र त्यो आफूले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

तुलनात्मक रुपमा केही क्षेत्रमा भने तिब्बतियन बुद्धिज्म र तिब्बतीहरुप्रति चिनियाँ शासकको रवैया उदार देखिएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

चिनियाँहरुमा दलाई लामालाई हेर्ने दृष्टिकोण गहिरिँदै गएकाले एक दुई वर्षमा केही न केही परिवर्तन हुनसक्ने आशा पनि उहाँले गर्नुभएको छ ।

आफूले राजनीति छाडिसकेकाले चिनियाँ बुद्धिज्मका लागि सेवा गर्ने इच्छा व्यक्त गर्दै उहाँले त्यही माध्यमबाट चिनियाँ नैतिक मूल्यमा परिवर्तन गराउने चाहना रहेको उल्लेख गर्नुभयो ।

६ दशकदेखि आफ्नो मातृभूमि फर्कने उत्कट इच्छा बोकेर बस्नु भएका लामाको यस भनाइले उहाँ कतै न कतै बइजिङका शासकसँग एउटा बलियो र राम्रो समझदारी बनोस् भन्ने पक्षमा हुनुहुन्छ कि भन्ने पनि देखिन्छ ।

अर्को प्रसंगमा उहाँले पृथ्वी हामी सबैको साझा घर हो भन्दै ७ अर्ब मानिस एक भएर यस ग्रहलाई जोगाउनुपर्ने पनि बताउनुभयो ।

वैज्ञानिक र वातावरणविद्हरुले अबको केही दशकमा जलवायु परिवर्तनका कारण पानीका सबै स्रोत सुक्ने चेतावनी दिएकाले पर्यावरण जोगाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले आफू तिब्बतको राजनीतिबाट म रिटायर भइसकेँ पनि त्यहाँको पर्यावरण अनि संस्कृतिप्रति सधैँ समर्पित रहिरहने बाचा गर्नुभयो ।
–टाइमबाट

प्रतिक्रिया दिनुहोस्