काठमाडौं, जेठ २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणमा भइरहेका काम–कारबाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै बस्नेतले विद्युत् प्राधिकरणको ९ अर्ब रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विषयमा छानबिन गर्न माग गरेका हुन् ।
विद्युत् प्राधिकरणको अर्बौं बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद अमनलाल मोदीले उठाएपछि उनीविरुद्ध नानाथरी आरोप लगाइएको भन्दै सांसद बस्नेतले सांसद मोदीले उठाएको विषय गम्भीर रहेको बताए ।
‘कुलमानजीले गर्नुभएका राम्रा काममा हामी सबैको साथ, समर्थन र सहयोग छ । माननीय अमनलाल मोदीजीले उठाउनुभएको कुरा गम्भीर छ’–उनले भने–‘यो विषयमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् र दोषीहरुलाई कारबाही गरोस् भन्न चाहन्छु ।’
केही दिनपहिले सत्तारुढ दल नेकपाका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिमा प्राधिकरणको बक्यौता रकम सम्बन्धमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका थिए ।
सम्बन्धित समाचार









प्रतिक्रिया दिनुहोस्