कस्तो थियो बीपीको प्रजातान्त्रिक समाजवाद ? - Image Khabar
Everest Bank

कस्तो थियो बीपीको प्रजातान्त्रिक समाजवाद ?

-नारायण पौडेल
‘समाजवाद’ शब्दको प्रयोग, अर्थ र आशंका एउटा कोण हो । सतहमा हेर्दा कुरा सरल छ । तर गहिरिएर हेर्दा यसले केही गम्भीर विरोधाभाष सिर्जना गर्दछ । विश्वभर समाजवाद शब्दलाई हेर्ने तीन खाले दृष्टिकोण छन् । पूँजीवादीहरु समाजवादले आर्थिक, सामाजिक र राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने ठान्छन् भने माक्र्सवादीहरु समाजवादलाई माक्र्सवादको आधारस्तम्भ मान्छन् ।

माक्र्सवादी अर्थमा समाजवाद बिनाको कम्युनिष्ट व्यवस्था हुँदैन । समाजवाद सर्वहारा वर्गले बनाउँछ र यो साम्यवादको आधार हो । त्यस्तै प्रजातान्त्रिक समाजवादीहरु न पुँजीवादी हुन् न त साम्यवादी । उनीहरु समाजवादी त हुन् तर माक्र्सवादी होईनन्, बरु प्रजातन्त्रवादी हुन् ।

तत्कालिन राणा प्रधानमन्त्रीलाई फाटेको कपडाको पोको उपहार पठाएर निरंकुश शासकको आँखा खोल्न साहसिक आँट गर्ने पिता कृष्णप्रसाद कोइरालाका छोरा बीपी कोइरालाको जन्म वि. सं. १९७१ भदौ २४ गतेका दिन भएको थियो ।

तीक्ष्ण बुद्धि र स्मरणशक्तिका हिसाबले मेधावी युवाका रुपमा छाप छोड्न सफल बीपीले प्रथम जननिर्वाचित प्रधानमन्त्रीको इतिहास समेत निर्माण गरेका छन् । नेपालमा राणाविरोधी आन्दोलनको नेतृत्व सँगै लोकतन्त्र स्थापनामा सफलता प्राप्त भएपछि बीपीले आर्थिक र मौलिक अधिकारका निम्ति प्रजातान्त्रिक समाजवादको अवधारणा सार्वजनिक गरेका थिए ।

जब औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेको युरोपमा कार्लमाक्र्सको पुँजी र विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रले उथलपुथल ल्यायो, तब सोही घटनाबाट व्यक्तिको स्वतन्त्रताप्रति माक्र्सले गरेको उपेक्षाको पाठ सिक्दै बीपीले व्यक्तिको आर्थिक समानता र न्यायपूर्ण व्यवस्थामा मात्र नेपालको गरिबी हटाउन सकिन्छ भन्ने निष्कर्ष निकालेका थिए ।

यसैको जगमा बीपीले अगाडि सारेको समाजवादी विचारबाट २०१२ सालमा नेपाली काँग्रेसले आफूलाई समाजवादी पार्टीमा रुपान्तरण गरेका कारण वि.सं. २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा पार्टीले एकलौटी रुपमा दुईतिहाइ बहुमत ल्याउन सफल भएको थियो ।

नेपालको राजनीतिक इतिहासमा तहगत हिसाबले तीन राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका, राणाशासक तथा पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै नझुकेका, आफ्नो सिद्धान्तमा सगरमाथाझैं सदैव अडिग र अटल रहने राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान बीपी कोइरालाले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर स्थापित गरेको बाटो वास्तवमा प्रजातान्त्रिक समाजवाद हो ।

बीपीले जबसम्म ९० प्रतिशत गरिब एवं विपन्न जनताका प्रतिनिधी राज्यको नीति निर्माण तहमा पुग्दैनन्, तबसम्म जनता कुनै न कुनै रुपमा शोषित र पिडित भईरहन्छन् भन्ने निष्कर्ष निकालेका थिए । तर २०१७ सालमा षडयन्त्रकारी राजा महेन्द्रको कारण लोकतन्त्र बचाउन बीपी असफल भए र उनको आर्थिक न्याय तथा समानताबाट जनताको जीवनस्तर उठाउने अभियानमा समेत गम्भीर धक्का लाग्यो । किनकी आर्थिक समानता र राजनीतिक स्वतन्त्रताको मिलनबिन्दुबाट मात्र राष्ट्रियता बलियो हुने बीपीको ठम्याई थियो ।

नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एक विशिष्ट धरोहरका रुपमा बीपीलाई चिन्ने गरिन्छ । किनकी नेपालमा प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको बिस्तार र प्रजातान्त्रिक समाजवादको आधारशीला निर्माणमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जना थप्ने बीपी कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा अहिलेपनि अनुभूत गर्न सकिन्छ ।

पुँजीवादी राज्य व्यवस्थाका कडा आलोचक बीपी पुँजीवादी व्यवस्थालाई तीव्र उपभोक्तावादी, अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित व्यवस्था मान्थे । काँग्रेस सामन्तवाद, पुँजीवाद र साम्यवादको पक्षपाती नभएर प्रजातान्त्रिक समाजवादी पार्टी भएको उनको मत थियो भने आर्थिक समानता सहितको लोकतान्त्रिक व्यवस्था मुलुकको आवश्यकता भएको कुरामा बीपी स्पष्ट थिए ।

यसर्थ प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी पनि थिए । जीवनभर देश र जनताकै लागि संघर्ष गर्दै अटुट रुपमा सत्ताको विपरित धारमा उभिईरहने बीपीलाई उनका समकक्षीहरु एक निर्भिक नेताको रुपमा व्याख्या गर्दछन् । किनकी बीपी स्वार्थ र त्रासले अधिनायकवादी शासकहरुको पक्षमा कहिल्यै उभिएनन् र उनले लोकतन्त्रका लागि धेरैपटक आफ्नो जीवनको जोखिम उठाए ।

त्यस्तै बीपी कोइरालामा साम्यवादीहरुप्रति विश्वास थिएन र उनी कार्लमाक्र्सले प्रतिपादन गरेको वैज्ञानिक समाजवादका पक्षपाती थिएनन् । तर उनी लोकतन्त्रवादी र राष्ट्रवादी निश्चय नै थिए । तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा बसेर नेपाल सरकार विरुद्ध काम कारवाही गर्न नदिएपछि र नेपाललाई भारतमा गाभ्ने षडयन्त्र रचेपछि आफ्ना साथीहरु सहित विदेशी भूमीमा मर्नुभन्दा आफ्नै मातृभूमिमा अधिनायकवादी शासकहरुको पञ्जामा परेर मर्नु उचित सम्झी २०३३ साल पुष १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

सबै नेपालीको एउटा सानो घर होस्, गरी खान पुग्ने खेतबारी होस्, एउटा दुहुनो गाई होस्, छोराछोरी स्कुल पढ्न पाउन्, बिरामीले स्वास्थ्य उपचार गर्न पाउन् भन्ने मुख्य योजना सहितको प्रस्ताव नै बीपीको प्रजातान्त्रिक समाजवाद थियो । बीपीले साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ भन्दै साम्यवाद र प्रजातन्त्रिक समाजवाद बीचको भिन्नता भनेकै प्रजातन्त्रको उपयोग हो भनी व्याख्या गरेका छन्

जबसम्म गाउँको विकास हुन सक्दैन, तबसम्म देश विकास नहुने र गाउँलाई पाखा लगाएर गरिएको विकासले समृद्धि हासिल नहुने जुन सिद्धान्त थियो, त्यो नै नेपालका सन्दर्भमा बीपीको प्रजातान्त्रिक समाजवाद हो । यसैगरी साम्यवादको गन्तव्य निरकुंशता र सर्वसत्तावाद भएकाले समाजवादले पुँजीवादसँग सहकार्य गरी त्यही पुँजीवादले उत्पादनमा वृद्धिमा जोड दिने र समाजवादले उत्पादनको न्यायोचित वितरणलाई प्राथमिकता दिने भएकाले यस्तो प्रक्रियाबाट नै मुलुकको विकास गर्न सकिन्छ भन्ने मान्यता बीपीमा थियो ।

साम्यवादमा पनि पुँजीवादको स्थान हुन्छ । यसकारण पुँजीवादलाई चाहे समाजवाद होस् या साम्यवाद दुवैबाट अलग गर्न मिल्दैन, केवल फरक यतिमात्र हो कि समाजवादमा पुँजीको स्वामित्व व्यक्तिमा निहित हुन्छ भने साम्यवादमा सरकारको हुन्छ । यो नै बीपीले अवलम्वन गरेको प्रजातान्त्रिक समाजवादको नेपाली ढाँचा थियो । त्यस्तै जनताले आफ्ना अधिकारहरु राम्ररी प्रयोग गर्न अवसर पाउँदा राष्ट्रियता मजबुद हुने उनको धारणा थियो र राष्ट्रियताले जनता, भौगोलिक अखण्डता, सार्वभौमिकता सहित राष्ट्रको पहिचान निर्माण गर्ने कुरामा उनी प्रतिबद्ध थिए ।

मुलुकको आर्थिक योजना बनाउने सवालमा बीपीले योजना आयोगको बैठकमा भनेका थिए, ‘तपाईंहरु भित्तामा राजाको तस्विर राख्नुहोस् र साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झुपडी अगाडि उभिएको चित्र पनि राख्नुहोस् र त्यसको अनुहार हेरेर योजना बनाउनुहोस् र सोध्नुहोस् यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ? यसबाट प्रष्ट हुन्छ बीपी सँधै नेपाली माटो बुझेकाले मात्रै योजना बनाउनुपर्छ भन्ने सोचमा रहन्थे ।

बीपीको प्रजातान्त्रिक समाजवाद राजनीतिक अधिकार सहितको आर्थिक समानतामा आधारित छ । किनकी गरिब केन्द्रित बीपीको प्रजातान्त्रिक समाजवादले प्राथमिक रुपमा अत्यधिक उत्पादनमा र उत्पादनपछि त्यसको समान वितरणलाई जोड दिएको छ । यसरी राष्ट्रिय अर्थतन्त्रमा उत्पादन वृद्धि भई सकारात्मक नतिजा प्राप्त गरेपछि मात्र समाजवादको गन्तव्यमा पुग्न सकिने बीपीको निष्कर्ष थियो ।

वास्तवमा साम्यवादको कठोर तथा क्रुर तानाशाही र पुँजीपतिहरुको शासनबाट सम्पूर्ण जनतालाई मुक्त पार्नेखालको मध्यमार्गी अवधारणा बीपीको प्रजातान्त्रिक समाजवाद हो र राष्ट्रलाई समृद्ध बनाउन सकिएन भने लोकतन्त्र अर्थहिन र राष्ट्रियता खोक्रो हुने बीपीको धारणा थियो ।

प्रजातान्त्रिक समाजवाद मूलतः राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिब जनतालाई सामाजिक न्याय दिने खालको थियो र यी दुई पक्ष विना गरिबी उन्मुलन गर्छु भन्नु र स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव सावित हुने कुरा बीपीले बुझेका थिए । नेपालको प्रमुख पेशा कृषि भएकाले उत्पादनको प्रमुख साधन, जग्गामा निश्चित हदबन्दी, जोत्नेको अग्राधिकार अनि कमाई अनुसारको करको दरमा फरक जस्ता उपायहरु आर्थिक न्यायको सूचक भएको र समाजमा दबिएका वा हेपिएका समुह तथा वर्गहरुको उत्थान, आरक्षण तथा सकारात्मक विभेदजस्ता प्रक्रियाहरु प्रजातान्त्रिक समाजवादका औजारहरु हुन् ।

सानो पुँजी तथा उद्योग व्यवसायले मात्र मुलुकको आर्थिक उन्नती सम्भव नहुने भएकाले प्रजातान्त्रिक समाजवादले सःशर्त स्वदेशी तथा विदेशी पुँजीको स्वागत गर्ने गर्दछ, जुन कुरा साम्यवादी समाजवादमा हुँदैन । यसकारण पनि बीपीले आफ्नो शासनकालमा योजना आयोगमा गरिब किसानको फोटो राख्न लगाउँदै ठूला पक्की बाटाहरुको बदलामा दिनहुँजसो सर्वसाधारणको प्रयोगमा आउने गोरेटो घोडेटो बाटो निर्माण कार्यलाई विशेष जोड दिनुपर्ने तर्क गर्दथे ।

बीपी कोइरालाले उठाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आज हरेकको आवश्यकता भएको छ । उनको सिद्धान्तले वादलाई भन्दापनि सर्वसाधारणलाई अधिकार सहितको सम्पन्नतालाई जोड दिएकाले आज साम्यवादी चरित्र पनि प्रजातन्त्रमा अटाएर देश विकासको अभियानमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने परिस्थिती आएको छ ।

बीपीको समाजवाद माक्र्सवादी नभएर गान्धीवादी थियो । माक्र्सवादी ढाँचामा सबै चिज राज्यको नियन्त्रणमा हुने र गान्धीवादी समाजवादमा सहकारीसँग आबद्ध भएका साना साना इकाईहरु हुने र परिवार उत्पादनको अंग हुने भएकाले परिवारले उत्पादन गर्न सक्ने वस्तुको उत्पादनको लागि सरकारले सहयोग दिने वा गाउँका बासिन्दाहरु यदि विद्युत उत्पादन गर्न उत्सुक देखिए भने सरकारले त्यसलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड देखिन्थ्यो ।

नेपाली काँग्रेस अहिले मध्य वामपन्थी पार्टी भएको छ । किनकी काँग्रेसको समाजवाद बजार नियन्त्रित समाजवाद हो । यसले सामाजिक न्यायलाई भन्दा कुलिन अहंकारलाई प्रोत्साहित गर्दछ । त्यसैले यो बीपीको काँग्रेस रहेन र काँग्रेस जसले जस्तो देख्यो, त्यस्तै पार्टी भयो । यसको कुनै धार, पक्षधर र आधार समुदाय छैन । यसर्थ काँग्रेसको समाजवाद उदार छ भने व्यापक केन्द्रिकरण र राज्य नियन्त्रित उत्पादन तथा वितरण प्रणालीको समाजवाद उसको समाजवाद भित्र पर्दैन ।

अहिले नेपालका प्रायः सबै स्थानमा बाटोघाटो पुगेको छ, तर धुलै र हिलै छ । पुल पुलेसा बनेका छन् अनि बन्ने क्रममा पनि छन् । पुल नभएर विद्यालय जान नसकेको, बजार जान नसकेको, बिरामीलाई अस्पताल लैजान नसकेको, कृषि उपजहरुको व्यवस्थापन सहित उचित मूल्य निर्धारण हुन नसकेको, कृषिमा आधुनिकीकरण गर्न नसकिएको, युवाशक्ति विदेश पलायन भएको जस्ता घटनाहरुको प्रतिशतमा खासै कमी आउन सकेको अवस्था छैन र प्रतिव्यक्ति आय बढेको भएपनि वा फाटेका लुगा लगाउने जनसंख्यामा घटोत्तरी आएपनि समग्र गरिबीको प्रतिशत घटेको छैन । त्यसैले मुलुकको यस्तो अवस्थामा बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद अहिलेपनि उत्तिकै सान्दर्भिक र व्यवहारिक देखिन्छ । (लेखक अधिवक्ता हुन्) ।

प्रतिक्रिया दिनुहोस्