काठमाडौं । अनुदानको लोभले जस्तो पायो उस्तै बस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन् ।
चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुईवटा अनुदान दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपैंयाँ घाटा ब्यहोरेर विक्री गर्ने निर्णय गरेको छ ।
निगमले ति जहाजको उडान स्थगन गरी विक्री प्रक्रियामा जाने निर्णय लिएको छ । निगमले सन् २०१४ र १५ मा एभिएसन इन्डस्ट्रिज कर्पोरेशन चाइनासँग ४ वटा विमान पौने चार अर्ब रुपैंयाँमा खरिद गरेको थियो । निगमले लगानी गरेको पौने चार अर्ब पनि सहुलियतपूर्ण कर्जाअन्तर्गत थियो ।
निगम बोर्डका एक सदस्यका अनुसार चिनियाँ जहाज ल्याएपछि राम्रोसँग उडाउनै सकिएन । कहिले पाइलट अभाव, कहिले मर्मत संभार त कहिले पाटपूर्जा अभाव जस्ता कारणले ती जहाज कुनै पनि बेला पूर्ण रुपमा उडाउन सकिएन ।
६ वटै जहाज एकैपटक उडाउन सकिएन । जसले नाफा कमाउनुको साटो निगमले सधैं घाटा बेहोर्नुपर्यो । ती जहाजबाट निगमले २ अर्ब रुपैंयाँ घाटा खाएको छ ।
नाफा कमाउन किनिएका चिनियाँ जहाज बोझ बन्दै गएपछि अन्ततः साउन १५ देखि उडान स्थगन गर्ने निर्णय निगमले गरेको छ । -नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्