काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अझै समुदायमा नपुगेको बताएको छ ।
उपत्यकामा गरिएको नमुना परीक्षणमा समुदायमा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले एक हप्ताभित्र अतिप्रभावित ठाउँहरूबाट पाँच हजार नमुना संकलन गरी परीक्षण गर्ने योजना बनाएको थियो ।
शुक्रबारसम्म संकलन गरिएका पाँच हजार नमुनामध्ये चार हजार आठ सयको रिपोर्ट आइसकेको छ । जसमा तीनजनामा मात्रै कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बताए ।
महाशाखाका अनुसार संक्रमित देखिएकाहरू टोखा नगरपालिका–६ हरियाली बस्तीका हुन् ।
उनीहरूमध्ये दुईजना एक महिनाअघि बेलायतबाट फर्किएका हुन् । एकजना भने काठमाडौंकै ब्युटिपार्लरमा कार्यरत थिइन् ।
उनको ‘ट्राभल हिस्ट्री’ खुलेको छैन । उपत्यकाकै कुनै अस्पतालबाट उनमा संक्रमण भएको महाशाखाको अनुमान छ । अहिले ‘कन्ट्र्याक्ट ट्रेसिङ’ भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण अतिप्रभावित क्षेत्रमा बसोवास गर्ने नागरिकको वर्गीकरण गरेर स्वाब संकलन गरेको थियो ।
कपन, बुढानीलकण्ठ, भैँसेपाटी, तिनकुने, चाँगुनारायण, गोदावरी, लुभु, कालिकास्थान, महाराजगन्ज, कलंकी, बल्खु, जगती, टेकुका विभिन्न स्थानमा ‘मास’बाट नमुना संकलन गरिएको थियो । नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्