Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


अख्तियारद्वारा ३० बर्षयताकै बढी मुद्दा दायर: अकुत सम्पत्ति मुद्दामै १ अर्ब ९ करोड विगो दाबी


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ ।

आयोगको विगत ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । सो अवधिमा अख्तियारले सबैभन्दा बढी घुस (रिसवत) लेनदेनका २०६ तथा नक्कली शैक्षिक प्रमाणपत्रका ८५ वटा मुद्दा दायर गरेको छ ।

यसैगरी, सार्वजनिक सम्पत्ति हिनामिनाका ७४, गैरकानुनी लाभहानिका ३६, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ तथा विविधका १० वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारले अकुत सम्पत्ति आर्जनका १८ मुद्दामा १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आव २०७६÷७७ मा आयोगमा २४ हजार ८ सय ९० उजुरी दर्ता भएको थियो ।

१६ हजार ५ सय ८६ वटा उजुरी फछ्र्योट भएको र १ हजार १ सय १४ को विस्तृत अनुसन्धान गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले दर्ता गरेकामध्ये १ करोड रुपैयाँभन्दा बढी बिगो कायम भएका मुद्दाको संख्या २८ रहेको छ ।-राजधानी दैनिकबाट