टेकु अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्यो • Image Khabar Image Khabar


टेकु अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्यो


Imagekhabar
३१ असार २०७७, बुधबार १५:५०

टेकु अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्यो

काठमाडौं, असार ३१ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् ।

बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ ।

सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताउनुभयो ।

बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उहाँका अनुसार अहिले काठमाडौं उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् ।

उहाँले भन्नुभयो, “निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।”

कोभिड–१९ को उपचारका लागि तोकिएको अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ ।

प्राविधिक रुपमा कठिन हुने भएकाले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालको एउटा कुनाबाट खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा. राजभण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाले बिरामी टाढाटाढाबाट समेत आइरहेका छन् ।”

अस्पतालमा कोभिड–१९ को परीक्षण भइरहेको छ । दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म परीक्षणका लागि आइरहेका छन् ।

अस्पतालले भने आवश्यक भए/नभएको हेरेर मात्रै परीक्षण गर्दै आएको छ । अस्पतालमा पिसिआर परीक्षणका लागि आएकामध्ये २० देखि २५ प्रतिशको मात्रै परीक्षण भइरहेको छ ।

अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक श्यया पनि बढाइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्