Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षककाबारेमा विवाद छताछुल्ल


0
Shares

काठमाडौं, जेठ १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षककाबारेमा विवाद भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले भारतीय प्रशिक्षक उमेश पटवाललाई एक वर्षका लागि जिम्मेवारी दिनेगरी सम्झौतामा हस्ताक्षर गर्ने भनी शुक्रबार काठमाडौंको एक होटलमा कार्यक्रम आयोजनाका लागि सन्चारकर्मी डाकिएपनि विष्ट कार्यक्रममा उपस्थित नभएपछि विवाद बाहिरिएको हो ।

विष्टले केही सन्चारमाध्यममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मासिक सात हजार अमेरिकी डलर तलब दिनेगरी पटवाललाई नियुक्त गर्न लागिएको जनाएका थिए ।

तर, एकाएक कार्यक्रमको आयोजना राखेपले नगरी अन्यत्रैबाट गरिएपछि सदस्यसचिव विष्ट सहभागी नभएको बुझिएको छ ।

विदेशी प्रशिक्षक आएपछि श्रम स्वीकृति नलिइ काम गर्न नपाइने भएपनि त्यो प्रक्रिया पूरा नगरी नियुक्त दिन लागिएसँगै विवाद बढेको पनि बताइएको छ ।

कार्यक्रममा उपस्थित पटवालले भने एकवर्षे सम्झौता हुने र आफूले यो समयमा नेपाली टिमलाई ब्याटिङमा अझ सशक्त बनाउने बताएका थिए ।

यसअघि, उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए ।

पटवालले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा प्रतियोगिता निर्देशकसमेत भएर काम गरेका थिए ।

राष्ट्रिय टिमका सदावहार मुख्य प्रशिक्षक जगत टमाटालाई विस्थापित गर्दै पटवाल आउन लागेका हुन् ।