तीन अर्ब अनुदान र पौने चार अर्ब ऋणमा ल्याइएका निगमका ६ जहाज निजीलाई दिने तयारी • Image Khabar Image Khabar


तीन अर्ब अनुदान र पौने चार अर्ब ऋणमा ल्याइएका निगमका ६ जहाज निजीलाई दिने तयारी


Imagekhabar
२८ असार २०७७, आईतवार ०७:११

तीन अर्ब अनुदान र पौने चार अर्ब ऋणमा ल्याइएका निगमका ६ जहाज निजीलाई दिने तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट अनुदान पाएका तथा किनेर ल्याएका जहाज बेच्ने तयारी गरेको छ । पौने सात अर्ब लगानी भएका जहाज चलाउन नसक्ने भनेर निगम बोर्डले निर्णय गरेको छ ।

नेपालका दुर्गम क्षेत्रका विपन्न जनता महँगो भाडा तिरेर निजी एयरलाइन्समा यात्रा गर्न बाध्य छन् । निजी एयरलाइन्सले नाफा कमाउन सक्ने रुटमा निगमले व्यावसायिक सेवा दिन भनेर चीनबाट जहाज अनुदानमा तथा खरिद गरेर ल्याएको हो ।

निगमले ५६ सिट क्षमताका दुई र १९ सिट क्षमताका चार जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा ती जहाज ल्याइएका थिए ।

चिनियाँ एक्जिम बैंकमा ब्याज बढेकोबढ्यै छ, तर यता जहाज उड्दै नउडी ग्राउन्डेड छन् । सुरुमा ०७१ मा एउटा एमए ६० र एउटा वाई १२ ई जहाज अनुदानमा ल्याइएको थियो ।

०७३ मा निगमले एउटा एमए ६० र एउटा वाई १२ ई जहाज खरिद गरेर ल्याएको थियो । अर्को वर्ष ०७४ मा दुईवटा वाई १२ ई जहाज ल्याइएको थियो ।

दुई जहाजको मूल्यबराबर दुई अर्ब ९४ करोड अनुदान प्राप्त भएको थियो । बाँकी तीन अर्ब ७२ करोड रुपैयाँ भने १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । जसको ऋण तिर्न बाँकी छ ।

अनुदान तथा ऋण ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ जहाजमध्ये अहिलेसम्म एउटा एमए ६० र एउटा वाई १२ ई ले मात्रै उडान गरेका छन् ।

ती दुई जहाज पनि केही समय मात्र उडाइएको थियो । चार जहाजले त हालसम्म उडान नै गरेका छैनन् । तर, उड्दै नउडेका र उडेका सबै जहाज बेच्ने तयारी भएको छ ।

चिनियाँ जहाज आएदेखि नै पूर्ण क्षमतामा नउडाइएकाले तीबाट निगमले आम्दानीभन्दा नोक्सान व्यहोर्दै आएको छ । निगमले चिनियाँ जहाजबाट ६ वर्षमा पौने दुई अर्ब रुपैयाँ घाटा खानुपरेको बोर्डको भनाइ छ ।

निगमका एक पाइलट भन्नुहुन्छ, ‘दुर्गम उडानमा एकाधिकार भएको यतीको तारा एयरको बजार सुरक्षित गराउन निगमका जहाज थन्क्याएर राखियो, यसले चीनको अनुदान र निगमको लगानी खेर गयो, त्यति मात्र होइन, ब्याज तिर्दा निगमलाई भन् धेरै घाटा भएको छ ।’

निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले चिनियाँ जहाजको अध्ययन गर्न निमित्त प्रबन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा अध्ययन समिति गठन गर्नुभएको थियो ।

सो समितिले चिनियाँ जहाज बिक्री वा भाडामा दिनुपर्ने वा फिर्ता दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

खरेलले दुई जहाज मासिक २० हजार डलरमा यतीलाई भाडामा दिने तयारीसमेत गरेका थिए । तर, कर्मचारी युनियन र पाइलटहरूले समेत विरोध गरेपछि सो प्रक्रिया रोकिएको थियो ।

‘यती समूहले पटकपटक चिनियाँ जहाजमा आँखा लगाएको छ, कहिले सफल हुने हो, थाहा छैन,’ निगमका एक अधिकारीले भन्नुभयो ।

निगमका तत्कालीन कार्यकारी अध्यक्ष खरेलले गत माघमा राजीनामा दिनुअघि नै चिनियाँ जहाज बिक्री गर्ने प्रस्ताव प्रधानमन्त्री केपी ओलीसमक्ष राख्नुभएके थियो ।

उहाँ निगमबाट बाहिरिएपछि प्रक्रिया रोकिएको थियो । तर, अहिले निगम बोर्डले ती जहाज चलाउन नसक्ने निर्णय गरेको छ ।

‘लामो छलफलपछि अघिल्लो १७ असारमा बसेको सञ्चालक समितिको बैठकले यो विषयमा निर्णय गरेको छ । चलाउन नसक्ने भनेको बेच्ने वा भाडामा लगाउने हो, यो निर्णयको जानकारी पयर्टन मन्त्रालयलाई गराइएको छ, निर्णय सरकारबाट गराउने तयारी भइसकेको छ,’ निगमका अधिकारीले भन्नुभयो ।

यसरी निगमको घाटा बढ्दै गएकोले बिक्री गर्नुपर्ने निष्कर्ष बोर्डले निकालेको छ । यतीले विगतमा निगमका ट्विनअटर लिएकै शैलीमा सकेसम्म चिनियाँ जहाज कौडीका मोलमा किन्ने वा भाडामा लिने अवस्था सिर्जना गराएको निगमका अधिकारी बताउँनुहुन्छ।

सन् १९९६ मा फ्लाइट केयर एयरलाइन्स सञ्चालनमा आएको थियो । सन् १९९९ मा बन्द भएको सो एयरलाइन्सले वाई १२ ई उडान गथ्र्यो ।

सो कम्पनी बन्द भएपछि जहाज भने यती एयरलाइन्सले लिएर चलाएको थियो । तर, २० वर्षपछि निगमले ल्याएको त्यही जहाज चलाउन नसकेर फेरि निजी कम्पनीलाई जिम्मा लगाउन थालेको छ ।

चिनियाँ जहाज उडाउन नसक्दा निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ ।

यी जहाजबाट चालू आर्थिक वर्ष ०७६/७७ मा ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने निगमको अनुमान छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा दुईवटा एम ६० बाट २९ करोड ८४ लाख र चारवटा वाई १२ ई बाट २२ करोड ३६ लाख गरेर ५२ करोड २० लाख रुपैयाँ घाटा व्यहोरेको छ,’ निगमले उपलब्ध गराएको विवरण भन्छ, ‘आर्थिक वर्ष ०७४/७५ मा एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ ई बाट २८ करोड ९६ लाख गरेर जम्मा ६० करोड ६० लाख रुपैयाँ नोक्सान भएको छ ।’

त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा १० करोड ३१ लाख नोक्सानी भएको थियो । आर्थिक वर्ष ०७२/७३ मा नौ करोड रुपैयाँ र आर्थिक वर्ष ०७१/७२ मा तीन करोड रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।आजको नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्