Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


म्याग्दी पहिरोमा पुरिएकामध्ये २० जनाको शव फेला (अपडेट)


0
Shares

म्याग्दी, असार २७ । म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।

बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेलापारेको हो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार हालसम्म धवलागिरि–६, मराङका ११, मालिका–७, बिमका आठ र रघुगङ्गा–६, ठाडाखानीका एकजनाको शव भेटिएका छन् ।

धवलागिरि–६, कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशीष दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ ।

यसअघि, शुक्रबार पहिराले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको थियो ।

यसैगरी, बिमकी विष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको शव भेटिएको छ ।

लापु खोलाले बगाएर रघुगङ्गा–६, ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मराङको रिखको पहिरोमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिष्मा जुग्जाली, आठ वर्षीया कञ्चन जुग्जाली, पाँच वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, तीन वर्षीय दिप्ती जुग्जाली र एक वर्षीय दिवन जुग्जाली बेपत्ता छन् ।

कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भइरहेको छ ।

दुखु खोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की ४० वर्षीया गीता रोकाको अवस्था पनि अज्ञात छ ।

बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण २४ घन्टापछिमात्रै सुरक्षाकर्मी पुगेका हुन् ।

पहिरोमा परेर घाइते भएका मराङका दुई र बिमका एकजनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एअरको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र सात वर्षीय सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा ‘रिफर’ गरिएको छ ।

बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

ताकममा दुई, कल्लेनीमा दुई र राम्चेमा दुईजना घाइतेको उद्धार गर्न बाँकी छ । रासस

Skip This