चहरर्‍याइरहेको छ भाग्य अचेल • Image Khabar Image Khabar


चहरर्‍याइरहेको छ भाग्य अचेल


Imagekhabar
२७ असार २०७७, शनिबार १०:२०

चहरर्‍याइरहेको छ भाग्य अचेल


डिएर एन
म जन्मेको दिन लक्ष्मी आइन् भनेर घरमा हर्ष बढाई भयो रे । सबैमा खुशी साटासाट भयो । छोरोपछि रहरमा जन्मेकी म । आमा बुबाको रहरमै हुर्के । ठूली भएँ । पढें, बढें । आफ्ना इच्छाको काम गरें । जब विवाह भयो खुशीहरु कसैलाई लोभ लाग्यो कि ? एक एक गरी लुटिदैछन् म बाट । अहिले त केवल एउटा मान्छेको रुपमा छु । खुशीहरु मेरो जीवन देखेर नै पर पर भागे । माइतीको दुखको पहाड भएकी छु । आफ्नै जीवन भारी लाग्न थालेको छ । मेरा पिता अहिले योे संसारमा हुनुहुन्न । यदि मरेर पनि देख्न सकिन्छ भने मेरो हालत देखेर मेरो पिता रोइरहनुभएको होला । आमाका आँखा त मलाई सम्झेर कहिल्यै ओभाउन पाएनन् । आजकाल पनि एकान्त खोजेर रोइरहन्छिन् ।

विवाह भएको नि लगभग नौ वर्ष पुगेछ । भर्खरै आफ्नै जन्मदिन आएर गयो । जन्मदिनले उमेर सँगसँगै मेरा पीरहरु थप्यो । खुशी खै किन थपेन ? सम्झिदा यस्तो अत्यास लाग्छ । विवाह पछि बिताएका यी नौ वर्ष नौ वटा जुनी जस्तै लाग्छ । विवाहका सुरुका केही दिन त राम्रै थियो । नयाँ ठाउँ नयाँ मान्छे म आफैलाई पनि रमाइलो लागेको थियो । आफ्नाहरुलाई पराई बनाउँदैं अर्काको सबैलाई आफ्नो बनाउन आएकी म दंग पनि थिए । एउटा राजकुमारको कल्पनामा हराएकी म जीवनसाथी पाएपछि फुरुगं नहुने कुरै थिएन । एक किसीमको माया प्रेम स्नेह पाएर म धन्य महसुस गरिरहेको थिए । तर त्यो धेरै दिन टिक्न पाएन ।

जब मध्यरातमा लोग्नेको मोबाइलमा कोही अर्को केटीको फोन आएको थाहा पाएँ म उभिएको जमिन भासिन थाल्यो । मन चिसो भए । एक किसिमको अत्यासले मैंले एक्लो महसुस गरें । फोन आउनु नराम्रो होइन अँगालोको श्रीमती छाडेर घण्टौं कुरा गर्ने भएपछि यो मन कस्तो भयो होला ? त्यो केवल म अनुभुत गर्न सक्छु । मैंले सर्वस्व गुमाएको अनुभुति गरें । सम्बन्ध त कति कच्चा धागोमा उनिएछ । मन रोयो,अत्तालियो । केही सोध्ने साहस गरिन् । नयाँ-नयाँ घर र मान्छे के गर्ने के नगर्ने आफैं अन्योलमा थिए ।

म र उनी विवाह भएलगतै सँगै बस्न सकेनौं । म पढ्दै थिए । त्यसलाई सक्न म काठमाडौंमै बस्नुपर्ने भयो । उनी घर छेउमा जागिरे थिए । केही समय सँगै भएपनि हामी जागिर र पढाईको कारण लामो समय अलग थियौं । जीवनले यस्तो दोधारमा ल्याएर खडा गर्‍यो कि । पढाई छोडेर उनैसँग बसौं आफ्नो पढाई बिग्रने । नछोडौं सम्बन्ध बिग्रने । जीवन कसरी अगाडि बढाउने ? यही सोच्दासोच्दै थुप्रै रातहरु अनिद्रामा बिते । उनी आफ्नै प्रेमिकासँग मस्त गफमा थिए । म जीवन कहाँ गएर डुबाए भन्ने चिन्तामा । एकसाथ देखिएपनि मानसिक रुपमा एक हुन नसकेको अवस्था पीडादायक हुनेरहेछ ।

उनी विवाहपछि पनि प्रेमिकासँग गफ गर्ने गरेको उनका आमा र बहिनीलाई थाहा रहेछ । तर उनीहरु केही भन्दैनथे । म अन्योलमा थिए मेरो जीवन के गर्न लागे यिनीहरुले भनेर । लोग्नेको यस्तो हर्कतले आजित भएपछि मैंले नन्दसँग कुरा गरें । म नभएको समयमा सम्झाएछन् । त्यसपछि प्रेमिकासँग रात रातभर गफ गर्ने काम बन्द भयो । विवाह भएको दुई वर्षसम्म हामी सँगै भएनौं । आउजाउ चलिरह्यो । तर घरको चालामाला देखेर मेरो हाँसो बन्दप्रायः भइसकेको थियो । वेचैनीले मनमा डेरा जमाएको थियो । के गर्ने ? कहाँ बस्ने ? म दोधारमा थिए । मैंले आफ्नो घर आफैं गर्ने निधो गरे । स्नातकोत्तरको पढाइ सकिएपछि मैंले घरमै बस्ने निर्णय गरें । थेसिस पनि कर्मघरकै सेरोफेरोमा रहेर गर्ने योजना बनाएँ ।

म घर गएपछि घरको वातावरण सामान्य थियो । श्रीमान स्नातकोत्तरको भर्ना गरेर परीक्षा नदिइ घरमै बसिरहेका थिए । दिउसोमा करारको जागिर थियो । आम्दानी एकदमै कम थियो । विवाह भएको दुई वर्ष बितिसक्दा पनि कर्मघरको वातावरण मेरा लागि नयाँ थियो । घरमा ससुरा बुवा बस्नुहुन्नथ्यो । आमाहरु दुईजना भएकाले बुवा जेठी आमासँगै बस्नुहुन्थ्यो । घरमा हामी जम्मा ५ जना थियौं । सासुआमा, नन्द, जेठाजुको सानो बच्चा, श्रीमान् र म । घरमा भैसी थियो । खेतिपाती पनि थियो । घर सानो (मुन्ना) छ । त्यसमा कुनै दुःख लागेन । घरमा बस्नेको मन सानो हुनुहुन्न यही सोचें ।

म सानैदेखि सरसफाइ गर्नुपर्ने । घरमा जताततै फोहोर थियो । यत्र तत्र छरिएका भाडा, मैंला झुन्ड्याइएका लुगाहरु, मुसाले धान खाएर फालेका धानका बोक्रा र गुहुँ, मुसाको लेडमाथि धेरै दिनदेखि नमाझेर सजाइएका भाडा । दुध तताउदा तताउँदै डढेको कालो कराई र खुल्ला दुधमा डुबुल्की खेलेर हिड्ने छुचुन्द्राहरु देख्दा मलाई घिन पनि लाग्थ्यो । सफा चाहनेले आफै सफा गर्नुपर्छ त्यहाँमाथि म बुहारी भनेर चार दिन लगाएर घर सफा गरे ।

भैसीको गोबर किचनको बेसिनमा धुने, खकार थुक्ने, खाना खाएका भाडामाथि ब्रस गरी थुक्ने त दैनिक नै हुन्थ्यो । मलाई सुरु सुरुमा खान पनि घिन लाग्यो यो सब देखेर । बिस्तारै बानी पार्दै गए । जन्मघरमा जेजति गरेपनि कर्मघरको चलनचल्ती अनुसार हिड्नै पर्ने रहेछ । सम्झाएर कोही सम्झने थिएनन् । त्यसैले यी सबैमा आफैलाई अभ्यस्त गराउँदैं गए ।

घरको आर्थिक अवस्था न्युन देखेपछि मैंले काम गर्न थालें । मैले कलेजमा केही घण्टी पढाउने काम पाए । मेरो लागि कलेज नयाँ थियो । सबै प्राध्यापकहरु पनि नयाँ थिए । तैपनि आफ्नो लगनशीलता र मेहनतले कामलाई निरन्तरता दिएँ । पहाडमा जन्मेकी म एसएलसी पास गरेपछि उच्च शिक्षा काठमाडौंबाट सकें । विवाह भने काठमाडौंबाट तराईमा भएको थियो । मलाई केही पनि सवारी साधन चलाउन आउँदैनथ्यो । बिहानै गाडी एकदमै कम चल्थे । बिहान ६ बजेदेखिको एक घण्टा हिंडेर कलेज पुग्थें । मलाई गार्‍हो भयो । केही समय श्रीमान्ले बाइकमा पुर्‍याउने र ल्याउने गरे । तर यो धेरै दिन टिक्न पाएन । कलेजले मासिक तलब दिएन । एक महिनामा आउनुपर्ने तलब तीन महिना बित्दा बल्ल एक महिनामा आउँथ्यो । अरुले सोध्दा कलेज पढाउने । वास्तविकता यस्तो थियो कि भाडा तिर्ने र खाजा खाने पैसा पनि हुँदैनथ्यो । तलब समयमा नआएपछि घरमा दिन रात किचलो सुरु भयो । श्रीमान्लाई मेरो काम मनै परेन ।

जुन कामबाट महिनामा खनखनी पैसा आउन्न त्यो कसलाई मन पर्ला र ? श्रीमानले बिस्तारै वेवास्ता गर्न थाले । सासुले सँधै ‘खै पैसा ?’ भन्दै हैरान पार्थिन । कलेजले नै पैसा नदिएपछि मैंले कहाँबाट घरमा बुझाउनु । अन्यौलमा परें । काम त पाए तर तलबको कुनै ठेगान भएन । कलेजलाई लाग्ला दुई पीरीयडको पैसा त हो । यहाँ मान्छेको चुल्होको सवाल छ । जीवनको सवाल छ । कति कति कलेजमा पढाउने को हालत मेरो जस्तै त होला । सबैतिरबाट ठगिएको जस्तो लाग्थ्यो । जीवन झन झन कठिन बन्दै गयो ।

पढेर काम गर्न सक्ने बनाएका बुबा आमाबाट के दाइजो लानु । परिवार पनि त दाइजो दिन सक्ने थिएनन् । म आफं जे पनि गर्न सकिहाल्छु नि भन्ने थियो । त्यसैले बिहेमा म मात्रै भित्रिएको थिए त्यो घरमा । अनि साथै मेरा केही जोर लुगा थिए । कलेजबाट पैसा नआउनु । तर म कलेज पढाउन गइराख्नु । घरको काममा ध्यान दिन नसक्नु । घाँस काट्ने समय नहुनु । कोदाली खन्न नसक्नुले मेरो जीवनको गतिलाई कमजोर बनाउदै थियो । मैंले कलेज पढाएकै निहुँमा यी काम गर्न नभ्याउनु र नसक्नुले जीवन थप कष्टकर बन्दै थियो ।

मलाई मानसिक रुपमा सासुले दुःख दिन थालिन् । ‘तेरो यहाँ केही छैन, घर ठाटी भयो, केही नदेखेकी, खान मात्रै जानेकी, रित्तै आएकी के छ र ?’ भन्ने शब्दहरुले म माथि दिनकै प्रहार हुन्थ्यो । म निशब्द हुन्थें । एउटा सुन्दर भविष्यको आशामा विवाह रोजेकी मैंले आफ्नो जीवन विस्तारै नर्क जस्तो भएको हेरिरहेकी थिए । यस्ता कुरा श्रीमान्लाई थाहा हुदैनथ्यो । एक्लो पारेर बोल्ने गर्थिन् । म उनलाई भन्दिनथे । तर उनले मलाई गाह्रो भएको कुरालाई कहिल्यै बुझेनन् ।

माइती घरमा ठूलो स्वर पनि नसुनेकी मैंले कर्मघरमा पाएको व्यवहारले खाना खान पनि छाडेकी थिएँ । धेरैदिन खाना नखाएपछि र ननिदाएपछि म बिरामी परेकी थिएँ । एकाबिहानै नजिकैको क्लिनिकमा लगेर जचाउँदा तीन बोतल स्लाइन चढाउनुपर्छ । उहाँले अन्न भन्ने खानुभएको छैन जस्तो छ । के भयो यस्तो ? भनेर डाक्टरले सोध्दा श्रीमान् जिल्ल परेर मेरो मुखतिर हेरे । करिब नौ बजेतिर मलाई क्लिनिकमै स्लाइन चढाउन एक्लै छोडेर उनी घर गए । दिनभर फर्केर आएनन् । कोही चिनेको मान्छे थिएन । खाना नखाइ घरबाट आएकी थिएँ । मलाई अत्यास लागिरहेको थियो । कहाँ जाने ? कसरी जाने ? भन्ने चिन्ताले सताउदै गर्दा बेलुका छ बज्यो । डाक्टरले किन कोही नआएको ? क्लिनिक बन्द गर्ने बेला भयो भनेर सोधे । फोन गर्न पनि पाइँन । घरमै छुटेछ मोबाइल । त्यसैले रुदै नबोली बसँे ।

मनमा डर लागिरहेको थियो, कतै मेरो जीवनले अर्को मोड लिन त थालेन ? यस्तै सोच्दै बसेको बेलुका ७ बजेतिर बल्ल श्रीमान् आए । दिनभर स्लाइनको भरमा बसेंकी म भोकै थिएँ । तर अन्न भने हेर्नै मन लाग्दैनथ्यो । त्यो दिन पनि घर गएर भोकै सुतेँ । आमा भएकी भए के खान्छ्यौं छोरी भन्नुहुन्थ्यो, सासुले के भयो भनेर पनि सोधिनन् मलाई । नरमाइलो लाग्यो । आमा त आमै हो मन कति फरक सोचिरहें । न मेरो चिन्ता मेरो श्रीमान्लाई नै थियो । उनी पनि खान नपाएर माग्न आएजस्तो व्यवहार देखाउथे । घरका सदस्यहरु पनि त्यस्तै । केही दिनको आराम पछि म जेनतेन उठें । र पुनः काम सुरु भयो ।

थेसिस पनि यत्तिकै थन्किरहेको थियो । जीवनमा आशा भरोसा विश्वास भए पो जे गर्न पनि जाँगर लाग्थ्यो । मानसिक रुपमा म विक्षिप्त भएकी थिएँ । केही गर्ने चाहना नै हुँदैनथ्यो । कमजोरीका कारण बेलुका भएपछि मेरो हात चल्न छाड्थे । खुट्टाले टेक्न हुँदैनथ्यो । सुत्ने बेला सँधै १२ बज्थ्यो । लगातारको कामले म आजित भइसकेको थिएँ । नयाँ घर भरपर्दो कोही थिएन मनमा डर मात्रै लाग्थ्यो । मलाई खर्च गर्ने पैसा पनि थिएन । माइती पनि टाढा । बुवाआमासँग के भनेर माग्नु ? स्नातकोत्तरसम्म काठमाडौंमा राखेर पढाएर आफ्नो सम्पत्ती सकेका बुवाआमालाई ऋणमा डुबाउन मन लागेन । सासुले दाइजो ल्याएन भनेर दिनकै कचकच गर्थिन । मेरो पढाइको कुनै मूल्य थिएन ।

दिनप्रतिदिन घरमा झगडा बढ्दै गयो । श्रीमान्ले कलेज पुर्‍याउन जान छाडिसकेका थिए । कलेजमा पढाउने काम पनि नयाँ थालेकाले आफूले धेरै पढ्नुपर्ने थियो । मेरै उमेर समानकी नन्दले कहिल्यै काममा सघाइनन् । न मसँग राम्रो व्यवहार नै गर्थिन । अष्ट्रेलिया जाने चक्करमा अङ्ग्रेजी भाषा पढिरहेकी थिइन् । त्यसो हुनाले मैंले पनि केही भन्दिनथे । नसकी नसकी आफै काम गर्थे । घरका सबैका लुगा, चुल्हो, जागिर सम्हाल्दा सम्हाल्दै म त आफैलाई भुल्न थालिसकेकी थिए ।

यसै क्रममा एकदिन ठूलो दुर्घटना भयो । बाईक पल्टिदा श्रीमान्को खुट्टा भाचियो भने मेरो हात भाचियो । टाउकोमा चोट लाग्यो । यो दुर्घटनाबाट बाहिर निस्कन झण्डै एक वर्ष लाग्यो । यता मेरो कलेज थियो । उता श्रीमान् श्रीमती दुवै घाइते भएका थियौं । त्यसपछि त घरमा मेरो स्थानले मलाई गिज्याइरहेको थियो । नाना तरहका कुराहरुले मलाई पगालिरहन्थे । ‘तैंले लगेर पल्टाइस मेरो छोरो, एक्लै गएर उतै मरेको भए पनि हुन्थ्यो’ भन्ने वाक्य सासूको मुखबाट बारम्बार आइरहन्थ्यो । श्राप दिइरहन्थिन् । मेरो कुनै उपाय थिएन । बल्ल तल्ल खुट्टाले र एउटा हातले श्रीमान्को बाबु र मेरा लुगा धुन्थे ।

यसैगरी जेनतेन एक वर्ष बित्यो । सवा एक घण्टाको बाटो हिंडेर कलेज नौ महिनासम्म जाने आउने गरें । दुर्घटना हुनु अगावै एफएम्तिर पनि काम सुरु गरेको थिए । एफएम् छाडें । कलेजलाई भने निरन्तरता दिएँ । सँधैको कचकच, छड्के हेराइले मलाई घरमा जान मन लाग्न छाड्यो । मनमा एकप्रकारको हुण्डरी मच्चिरहेको थियो ।

एकदिनको कुरा हो । कलेजबाट घर पुग्दा सबैले खाना खाइसकेका थिए । श्रीमान् खाना खाएर बैशाकीको साहराले घर नजिकै अफिस भएकोले साथीहरुसँग जानुभएछ । उता सासुले खाना खाएर बाँकी रहेको जुठो खाना कुकरमा राख्दै थिइन् । मैंले देखें । नरमाइलो लाग्यो । कोठामा पसेर एकछिन रोएँ । अनि बिहानदेखि थुप्रिएका भाडा माझें र फेरि कोठामै बसेर रोइरहें । दिन बित्यो । आँखा सुन्निएका थिए ।

श्रीमान् र नन्द घर आउने बेला भएपछि निस्केर खाजा बनाए । सबैलाई दिए । मैंले खाइन । आशु थामिएकै थिएन । कसैलाई मेरो परवाह पनि भएन । बरु सासुले दिनभर कोठामा बसेको कुरा एकान्तमा लगाइछन् । उल्टै गाली खाएँ । ‘तँ नभएर मलाई केही फरक पर्दैन, जहाँ जान मन लाग्छ जा’, ‘मेरो अगाडि नपर’, ‘तेरो कारणले मेरो खुटटा भाचिएको हो’ भनेर श्रीमान रिसाए । मेरो उनीप्रतिको विश्वास टुट्दै गइरहेको थियो । जो आफ्नो भनेर त्यो कहालीपूर्ण जीवन बिताइरहेकी थिएँ । आज उसैले नराम्रो लाञ्छना लगाउँदा मनमा गहिरो चोट प¥यो ।

म एक्लै रोइरहेँ । उनले मेरो छटपटाहट कहिल्यै बुझ्न सकेनन् र कोशिस पनि गरेनन् । उनले मलाई राम्रो मान्न छाडिसकेका थिए । तैपनि हिम्मत हारिन । उनले जेसुकै भनेपनि मैंले मिहेनत गर्न छाडिन् । घरमा एकैछिन बस्न गाह्रो भइरहेको थियो । कतै कसैले नदेख्ने गरी टाढा भागेर जाउ जस्तो लाग्थ्यो । तर जन्मदिने बुवा आमा र दाजुहरुको मलाई पढाउनका लागि गरेको मिहेनत खेर फाल्नु हुँदैन भनेर मैंले आफ्नो मन आफैं सम्झाउथें, मिहेनत गर्थें ।

गर्मी महिना थियो । कलेज पढाएर घर फर्कदैं थिएँ । घर फर्किन साह्रै गाह्रो भएको थियो । ११ बजेको त्यो चर्को घाम हातमा छाता थिएन, बीच बाटोमा पुगेपछि हिंड्नै सकिन । ठूलो फराकिलो चौर थियो । लिची पाकिसकेर हागा लुछिएका थिए । त्यही बसें दिउँसोको दुई बजेसम्म । त्यतिन्जेल म घर नफर्किदा मेरो खोजी कसैले गरेन । अलि बढी झाडी जस्तो थियो त्यो बाटो । दिउँसोमा एक्लै हिड्न हुन्न भन्थें । तर मेरो पीडाले मलाई मर्न डर लाग्दैनथ्यो । कसैले यही मारिदिए हुने जस्तो लाग्थ्यो । तर किन त्यसो हुन्थ्यो र कहिल्यै कसैले केही गरेन । मलाई अझै कत्ति रुनुछ, कति दुःख खेप्नुछ ।

त्यसपछि आफैं उठेर घर गएँ । नन्द र सासुले आँखा तरे । तर श्रीमान काममा गएका रहेछन् । उनलाई त मेरो वास्ता थिएन । घर भएकाले पनि सोधेनन् । तर मैंले कसैलाई केही भनिन । त्यो समय यत्तिकै बित्यो ।

त्यसपछि कुनै पनि दिन मेरो लागि खुशी बोकेर आएनन् । उता एफएम दुर्घटना भएकै कारणले छोडेको थिए । यता कलेज जाने आउने चलिरह्यो । घरका कामहरु पनि भइरहे । बिहे पछि काठमाडौंको बसाई दुई वर्ष र एक वर्ष दुर्घटनाको गरी तीन वर्ष यत्तिकै बिते । त्यसपछि श्रीमान्लाई बच्चाको रहर जाग्न थाल्यो र मलाई पनि । हामीले सुरुमा वंशज वृद्धिका लागि ५/६ महिना यत्तिकै प्रयास गर्यौं । तर बच्चा भएन । त्यसपछि नजिकैको अस्पताल पुगेर चेकजाँच गर्‍यौं । मलाई औषधी खानु भनियो ।

श्रीमानको ‘स्पर्म काउन्ट’ शून्य भएकाले डाक्टरले औषधी एक महिनाका लागि लेखिदिए । त्यसपछि पनि भएन । ओम अस्पताल पुग्यौं । मेरो ‘सिष्ट’ छ भनेर अप्रेसन पनि भयो । त्यसपछि पनि थुप्रै समय प्रयास गरिरह्यौ । तर बच्चा भएन । टेष्ट्यूब बेवी एक पटक राख्यौं त्यसले पनि सफलता प्राप्त हुन सकेन । हामी निराश थियौं । श्रीमान् सुरुबाटै मदेखि झर्कोफर्के गर्थे । अझै टाढिदै थिए । म उनीहरुको नजरमा मान्छे हो कि जनावर हो उनलाई वास्ता थिएन ।

त्यसपछिका मेरा दिन मेरा लागि अभिशाप जस्तै भइरहेका छन् । पलपल छटपटिन थालेँ । म पूर्ण रुपमा घर परिवारबाट एक्लो भइसकेको छु । बच्चा नभएकाले घरमा घृणाको पात्र बनिरहेको छु । उदासीन र छटपटिले घर बनाएको छ मनमा । नरोएको रात छैन । रातभर ऐठन हुन थालेपछि झन् मेरो दिन र रात बराबर हुन थाल्यो ।

बिहे भएर घरमा प्रवेश गरेको तेस्रो दिनदेखि ऐठन हुन थालेको बाइक दुर्घटना पछि बढ्न थाल्यो । ३/४ महिनामा एक पटक हुन्थ्यो भने यसको क्रम हप्तामा दुई पटक जस्तो हुन थाल्यो । दिल्ली उपचारबाट फर्केपछि झन् दिनहुँजस्तो हुन थाल्यो । त्यसपछि चीना–टिप्पण हेर्ने काम भयो ।

घर छाडेर बाहिर बस्नु । बच्चा हुन्छ भनिसकेपछि म घर सल्लाह गरेर बाहिर कोठा खोजेर बसेको लगभग दुई वर्ष हुन लाग्यो । यो बीचमा दुई पटक बच्चा भयो र दुवै पटक गयो । उपचारले थिलो थिलो परेको शरीर । आराम पुगेन । श्रीमान् घर घर भन्दै बिहान ६ बजे गएको मान्छे बेलुका ८ बजे कोठामा आउँछन् । उठ्ने डुल्ने गर्न अनुमति थिएन चिकित्सको सल्लाह थियो । तर के गर्नु माइती टाढा, घरमा सबैले आँखा तर्थे । यसैक्रममा घरमा आउजाउ कम हुन थाल्यो । मेरो आफ्नो भन्ने कोही रहेन । सबैले कामलाई प्यारो ठान्थें ।

मेरी सासु आमाले पनि गाई पालेर गोबर– सोत्तर गर्ने, घाँस काट्ने, बाहिरी अफिसका कामहरु छोडेर मेलापात गएको भए उनको प्यारो हुन सक्ने वातावरण थियो । तर मलाई मेरो बुवाले हाड छाला घोटेर, भारी बोकेर पढाएको सम्झदा दिनमा अफिसका काम बिहान बेलुका घरका काम गर्नुपर्छ भन्ने थियो । माइति घरमा स्कूल टाढा भएकोले विदामा मात्रै काम गरे हुन्थ्यो । त्यसैले सबै कुराको त्यत्ति ज्ञान थिएन । तर कुनै पनि काममा मैले जान्दिन भन्दिनथे । काम गर्दा गर्दा हात दुखेर राती सुत्न हुँदैनथ्यो । तर उनका घरका सबै दिदी बहिनीको जमघटमा रोगी रहिछे । यस्ती विहे गरेर, राम्रो मान्छे खोज्न पर्ने थियो भनेर सधै गनगन गरिरहन्छिन् ।

भाइको सरकारी जागिर भएकाले अर्को विवाह गरेर उसको राम्रो घरजम बनाइदिने उनको इच्छा छ । केटी पनि भित्रभित्रै खोजिरहेकी छन् । घरबाट माइती आएर उक्साएर जान्छिन् । त्यो दिन श्रीमान् झन् झगडा गर्छन् । कन्या केटी खोजेकी छन् रे । मलाई सम्वन्ध विच्छेद गराइदिने उनको मन छ । मैंले के गर्ने अब ? सोच्नै सकेको छैन । बच्चा पाउने रहरले, उनलाई बुवा बनाउने रहरले मैंले औषधोपचारमा ज्यान सकेको छु । केही काम गर्न सक्दिन । बच्चाकै लागि कामधाम छाडेर बसें । बेरोजगार भएको छु ।

बाहिर बस्न थालेपछि आउजाउ हुन कम हुन थाल्यो । साइकल चलाउन आउँदैन, स्कुटी श्रीमान्ले नै लिएर हिड्छन् । घर र मेरो कोठा लगभग एक घण्टाको अन्तरालमा पर्छ । मलाई यसपछिका दिनहरु कहाली लाग्दा भइरहेका छन् । श्रीमान्को साथ पाउला भनेको झन् झन् एक्लो हुँदै गइरहेको छु । उनी रात बिताउन आउँछन्, जान्छन् । त्यो पनि उनको मनले मानेको बेला मात्रै । नत्र त्यही पनि आउँदैनन् । मैले पनि बच्चा नजन्माउने भनेर होइन । कुनै पनि दिन बच्चा नहुने औषधी खाइन । उमेर पुगिसकेकोले छिटो बच्चा होस् भन्ने चाहना मेरो थियो । तर दुर्भाग्य, मलाई के भयो थाहा भएन । पल पल रोएर बितेका छन् दिनहरु आज । सबैको नजरमा घृणा भरिएको छ । भगवान्ले किन हेला गरे थाहा भएन । उनैको देन होला यो …. ।

जिन्दगीको हरेक गोरेटोमा बाँच्न सिक्नुपर्छ अनि मात्र थाहा हुन्छ, एउटा जीवन बिताउनलाई कति संघर्ष गर्नुपर्दो रहेछ । कहिले पहाड त कहिले नरोकिने ओरालाहरु । पटक पटक आइरहन्छ र लडाइदिन्छन् । संघर्ष गर्दै जीवन दुःखेको बिर्सिएर बल्लतल्ल उठेर फेरि लड्खडाउदै हिड्ने आँट गर्‍यो, फेरि सामुन्नेमा ठडिएको ठूलो पहाडको उकालो कसरी पार होला र खिसिक्क हाँस्न पाइएला ?

प्रश्नहरुको यति धेरै खात लागिसक्यो कि कही कतै ठाउँ छैन, ती प्रश्नहरुको जवाफ कति त मरिसके । कति मनमै भतभती पोलिएर राप बाहिरसम्म निस्केका छन् । शान्त कसरी गर्ने भनेर सताइरहेको छ अचेल । आफ्नो भन्ने कोही छैन । विश्वासको डोरो आफ्नो वरीपरी रहेकाहरु सबैसँग यसरी चुड्यो कि त्यहाँ घात मात्रै छरपष्ट छरिएको छ । जहाँ पाइला टेकेपनि कोपिरहन्छ र रगत बगिरहन्छ । चहरर्‍याइरहेको छ भाग्य अचेल ।नोटः ब्यक्तिगत गोपनीयताका कारण लेखकको नाम र तस्विर काल्पनिक राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्