नेपालमा कोरोना संक्रमितको संख्या घटेको देखिनुको कारण के ? • Image Khabar Image Khabar


नेपालमा कोरोना संक्रमितको संख्या घटेको देखिनुको कारण के ?


Imagekhabar
२६ असार २०७७, शुक्रबार १६:२७

corona pcr hospital

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, असार २६ । पछिल्लो सात दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ ।

दैनिक ७०० सम्म संक्रमित फेलापर्न थालेकामा अहिले आएर १०० को हाराहारीमा झरेको छ ।

के अब नेपालमा संक्रमितको संख्या घटेको नै हो त ? जनमानसमा प्रश्न उठ्न थालेको छ ।

यसलाई विज्ञहरु भने परीक्षण ‘क्वारेन्टिन’भन्दा बाहिर विस्तार हुन नसकेकालेमात्र संख्या घटेको देखिएको विश्लेषण गर्छन् ।

गत असार १७ गते एकैदिन ७४० जनामा संक्रमण पुष्टि भयो । यो संख्या संक्रमित बढ्न थालेको दुई महिनायताकै उच्च संख्या थियो ।

त्यसदिन त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा भएका ‘पीसीआर’ परीक्षणमा शतप्रतिशत व्यक्तिमा नै संक्रमण पुष्टि भएको थियो ।

यस्तै, असार १५ गते त्रिवि शिक्षण अस्पतालमा ११४ जनामा भएको परीक्षणमा सबै व्यक्तिमा नै संक्रमण पुष्टि भएको थियो । त्यसदिन पनि देशभर ४८२ जना संक्रमित भेटिए ।

परीक्षण भएका शतप्रतिशत व्यक्तिमा संक्रमण पुष्टि हुनै सक्दैन भनेर विज्ञहरुले विरोध गरेपछि मन्त्रालयले दिनहुँ कुन प्रयोगशालाबाट कति व्यक्तिको परीक्षण भयो भन्ने तथ्यांक नै प्रकाशन गर्न छाडेको छ ।

नेपालमा असार २० गतेयता भने संक्रमितको संख्या घट्दै गएको छ । असार २० मा २२० जनामा संक्रमण देखिएकोमा असार २५ गते १०८ जनामा मात्र कोरोना पुष्टि भयो ।

के अब संक्रमितको संख्या घट्दै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्यो ? भन्नेमा जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित भने यसमा ठाडै असहमति जनाउनुहुन्छ ।

परीक्षणको संख्या घटाएर संक्रमित संख्या कम भयो भन्नु गलत भएको उहाँको टिप्पणी छ ।

डेढ लाखभन्दा बढी क्वारेन्टिनमा बस्नेको संख्यासमेत घटेर हाल २५ हजारमा आइपुगेको छ । निको हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ ।

संक्रमण फैलिएको चार महिनापश्चात् भाइरस कमजोर हुँदै जाने र जोखिम समूहबाहेक अन्यलाई खासै असर नगर्ने हुँदा संक्रमितको संख्या घटेको हुनसक्ने पनि विज्ञहरुले बताउँदै आएका छन् ।

मन्त्रालयले हाल पाँचओटा जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको दाबी गरेको छ । जसमा हुम्ला, धनकुटा, भोजपुर, सोलुखुम्बु र मुस्ताङ जिल्ला रहेका छन् ।

यसमा डा. दीक्षित भने ती जिल्लाका कति व्यक्तिमा परीक्षण भएर मुक्त घोषणा गरिएको हो ? भन्ने प्रश्न गर्नुहुन्छ ।

हाल दिनहुँ चार हजारमाथि व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ । तर, परीक्षण समुदायस्तरमा अझै जानसकेको छैन ।

यस्तो समयमा संक्रमितको संख्या घट्दै गयो भनेर सूचना दिँदा यसले झन् जनमानसमा थप लापरबाही बढ्ने जोखिम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्