सुखमय: मानव चोला • Image Khabar Image Khabar


सुखमय: मानव चोला


Imagekhabar
२३ असार २०७७, मंगलवार ०८:०४

सुखमय: मानव चोला

उद्धव कुईंकेल

•सुखको परिभाषा:-

सुख´ भन्नाले हर्ष, मनमा हुने आनन्द, खुसीयाली, मनको शान्ति, सहज आराम, सजिलो विश्राम तथा सुविस्तापूर्ण काम आदि मानसिक-स्थिति वा अनुकूल कार्यावस्थाको मिठो अनुभव हो। ध्यान, मान, सान, ज्ञान आदिका अभिमानी अनुयायीजनले सुख पाउन दुर्लभ नभै सुदुर्लभ पनि छ। सुख, व्यक्ति-रुचि पहिलो आवश्यकता, वस्तु उपलब्धता, व्यावहारिक गतिविधि सुविस्ता एवम् विषय सान्दर्भिकता आदि निजी परिस्थितिजन्य उल्लास आत्मानुभूतिको विशिष्ट क्षण हो।

•आत्मिक सुख खोजयात्रा:-

मानव सोच र सोख जान्न, बुझ्न र हत्तपत्त ठम्याउन पनि बडो मुस्किल छ। उसको सोच, सोख र खोज एउटामा हुन्छ भने रोजाइ अथवा छनोटचाहिँ अर्कैमा हुन्छ। यसका यस्तै अविश्वसनीय ताल तथा चालका फलस्वरुप नै ऊ दु:खी छ। यदि उसले स्वयंको सोच र सोखअनुसारको खोज गर्दै जाने हो भने ऊ कहिल्यै दु:खी हुनु पर्दैन। सदैव सुखैसुखको भावना सागरमा आफ्नो चाहना बमोजिम प्रशस्त डुबुल्की मार्न र पर्याप्त पौडन पनि सक्छ।

हो, यस्तै शाश्वत् सुखको बाटो बिराएर सांसारिक भोग गञ्जागोलमा रुमल्लिएका- हरुलाई आत्मिक सुखको मुहानतर्फ उन्मुख हुन हाम्रा पौराणिक दर्शनशास्त्र सूक्ति सिलोकले यसरी आह्वान गरेका छन्।

“सुखाय कर्माणि करोति लोको न तै: सुखं वान्यदुपारमंवा।

विन्देत भूयस्तत एव दुखं यदत्र युक्तं भगवान् वदेन्न:।।”

                              -श्रीमद् भागवत पुराण

अर्थात्

`संसारमा सबैजना चिरसुख पाउनका लागि कर्म, अकर्म, विकर्म, सकर्म र निष्कर्म गर्छन्। तर तिनलाई सुखको सट्टामा उल्टो दु:ख मात्र हात लाग्छ। त्यसो भए वास्तविक सुख तिनले कसरी हासिल गर्न सक्छन् त? हे सत्यस्वरुप ब्रह्म त्यसका अर्थात् सुख प्राप्तिका अचूक उपाय के हुन्? त्यो जान्न पाए म अथवा मानवजाति धन्य हुने थियो।´

उल्लिखित उक्तिको आशय उत्कर्ष सुख प्राप्तिको रामवाण जुक्ति खोजीको भावमा केन्द्रित रहेको बुझिन्छ।

•अपूर्ण सुख प्राप्तिका साधन:-

मानवद्वारा सिर्जित अपूर्व भौतिक उन्नत संसाधन र सम्पदाले ऊ पूर्ण हुँदाहुँदै पनि मानवअात्मा प्रतिपल तड्पिरहेको र छट्किरहेको जहाँतहीँ देखिन्छ। भिरपाखा नाच्ने, समतल भूमि टेक्ने, शहरका सडक गल्लीमा पाउ नाप्ने जमातदेखि, थलमार्गका समदूरी विशाल राजमार्ग, सहस्त्र नागवेली बुलेट ट्रेन रेलवेलाइन आदि उच्च कोटिका अवागमन वाहनमा समेत सुख उपलब्ध छैन। यसैगरी डाँडाकाँडा पर्वत शिखरका वायरलाइनमा वारपार गर्ने गराउने केबुलकार जस्ता तीव्र गतिमा हुइँकिने विकसित नित्य नवीन थरिथरिका आवतजावत साधन, ताल-नदी-नहर तथा सागरका पानी जहाज, पन्डुब्बी र मोटरबोट आदि अत्याधुनिक जलमार्ग यातायातका नौला संसाधनमा पनि सुख उपलब्ध भेटिँदैन। यसरी नै आकाशमार्गमा त्वरित उडान भर्ने किसिम किसिमका हवाइ जहाज एवम् सौर्यमण्डल खोज यात्राका तीव्राति तीव्रगतिका विविध रुपाकारका अन्तरिक्षयान आदि यी हालसम्मका उपलब्ध सबैमा मानव सुख अथवा परम आनन्द प्राप्तिको उत्कट लालसामा पनि हरबखत असन्तुष्टि नै झल्किन्छ। यति हुँदाहुँदै पनि ऊ सन्तुष्ट छैन। अद्यापि यो रहस्यपूर्ण जटिल खोजको विषय रहेको छ।

उपर्युक्त यावत उपलब्धीले पनि मानव सुुखी हुन सकेको छैन। तसर्थ पहिले उसले अाफ्नो असन्तुष्ट चुलबुल मनलाई अचल सन्तुष्टिको घेरामा अड्याउनु पर्छ। त्यसपछि मानव अङ्ग र त्यसका अवयवमा निहित दृश्य अदृश्य रुप तथा शक्ति महत्व बुझेर त्यसको समुचित उपयोगले मात्र उसले जन्मजन्मान्तर सम्म परम आनन्दमय परिपक्व भोगाइको मिठासपूर्ण अनुभव पाउँछ।

•परम सुख-अनुभूति:-

एकान्त वासमा असीम शान्तिको आशमा चञ्चल मनमा बहुरङ्गी आशा निराशा तथा हर्ष र विस्मात् भावका तरङ्गहरु एकपछि अर्को गरी तरङ्गित हुनु स्वाभाविक हो। यस्तै तरङ्गले नै सुन्दर संसारको सिर्जना, जीवन दर्शन सत्यबोध गराउने भावना तथा अपूर्व रस पियाउने गद्य आख्यान-कथा र उपन्यास, पद्य गैर आख्यान-काव्य र महाकाव्य आदि जीवनदायिनी अमर रचना रचित भएका होलान्? यी सबैको एउटै गन्तव्य भनेको मानव अस्थिर मनलाई स्थिरता दिएर चिरशान्ति प्रदान गर्नु नै हो।

“सत्यव्रतं सत्यपरं त्रिसत्यं सत्यस्य योनिं निहितं च सत्ये।

सत्यस्य सत्यमृतसत्यनेत्रं सत्यात्मकं त्वां शरणम् प्रपद्ये।।”

अर्थात्

`ब्रह्मन् हजुर सत्यस्वरुप सत्-संकल्प हुनुहुन्छ। ब्रह्मप्राप्तिको उत्तम साधन नै सत्य हो। ब्रह्माण्ड सृष्टि पूर्व हालको सृष्टि अवस्था यसपछिको महाप्रलय सृष्टि विध्वंशपछि पनि तीनवटै काल स्थितिका सत्य असत्य दुबै समयमा सत्यस्वरुप हजुरको नै उपस्थिति रहन्छ। पृथ्वी, जल, तेज, वायु र आकाश यी पञ्चतत्त्व दृश्य सत्यको कारण रूपमा सूक्ष्मातिसूक्ष्म जड-कण अणु-परमाणु दृश्य-अदृश्य सूक्ष्म जीवाणु देखि ब्रह्माण्डका हर ठोस-तरल पदार्थ एवम् हरेक प्राणीमा अन्तर्यामी रूपमा सदा यहाँ नै विद्यमान हुनुहुन्छ। हजुर ब्रह्माण्ड परमार्थ स्वरुप हुनुहुन्छ। मधुर वाणी समदर्शनका प्रवर्तक सत्य ब्रह्मस्वरुप भगवानको शरणबाहेक प्राणी मात्रको अर्को आश्रय छैन।´

अत: उपर्युक्त गहन अध्यात्म भावले लपालप भएको शान्तिदायक परमानन्दको सन्देश बराबर अरु कुनै पनि क्षणभङ्गुर लौकिक धनजनबल जस्ता कुराबाट सुख असंभव छ। सत्यस्वरुप ब्रह्ममा प्रेम निष्ठा भएपछि सांसारिक ममता सुख र श्रीसम्पत्ति सबै विषय विपत्तिका कारक उर्वराहीन बाँझो ढुङ्गामाटोसरि हुन्छन्।

•सुख-सहायक मानव अङ्ग-उपाङ्ग:-

उत्तम गुणले प्रशिक्षित मानवका हात, पाउ, मलद्वार-गुदा, जनेन्द्रिय र मुख पाँच कर्मेन्द्रिय तथा नाक, कान, आँखा, छाला र जिब्रो पञ्चज्ञानेन्द्रिय यी हाम्रा असहज प्राप्य अति दुर्लभ ईश्वर प्रदत्त दिव्य अंग हुन्। यिनका कुनै एक भागको आंशिक अभावको कल्पना मात्रले पनि मानव जीवनमा कति ठुलो प्रतिक्रियात्मक विपद प्रभाव पर्छ। यसको क्षतिपूर्ति गर्न जति असंभव उति नै हाम्रा यी अङ्गका अवयवको अपरिहार्य महिमाको अकाट्यता पनि सिद्ध हुन्छ।

मानवका मुटु, मस्तिष्क, मृगौलाद्वय, फोक्सो तथा कर्मेन्द्रिय र ज्ञानेन्द्रियका कुनै भागको अंगसहित गरी रस, स्पर्श, श्रवण, दृश्य र घ्राणशक्ति जस्ता ज्ञानेन्द्रिय गुणसमेतको कुनै एउटा मात्र अंग इकाइ खण्डमा खर्बौँखर्ब मुद्रामा साटफेर वा अदलाबदली गर्न ऊ सक्तैन। उसलाई यो विषय अकल्पित र अवाञ्छित क्रयविक्रयभन्दा परको ईश्वरीय वरदानका कुरा हुन् भन्ने थाहा छ। त्यसैले अमूल्य मानव जीवनका अनमोल हर अंग-प्रत्यंग गणितीय मूल्यभन्दा अगणितीय मूल्य अतुलनीय छन्।

•सुखप्राप्ति आस्थाकेन्द्र:-         

सृष्टिको उन्नत जीव समयक्रमले दीक्षित मानवले ईश्वर वरदान निज अंगअवयव अथवा दशइन्द्रियका सहायताले विविध धर्म परम्परा र समयानुकूल प्रचलित मान्यतानुसारका स्व-आस्थाकेन्द्रमा शान्ति  कामनाको उपासना गर्दै आइरहेको छ। ती आस्थाकेन्द्रमा स्तुप-विहार-गुम्बज, पीठ-मठ-मन्दिर, मस्जिद र चर्च आदि पावन स्थल पर्छन्। त्यहाँ मन्त्र, तन्त्र, यन्त्रविधि र स्वतन्त्र पद्धतिले सुसज्जित , प्रतिष्ठित र स्थापित एकमात्र विराट ब्रह्माण्ड नायकको ध्यान, आराधना र प्रार्थना गरिन्छ। मन, वचन र तनका अङ्ग उपाङ्गको माध्यमले श्रद्धापूर्वक गरिने यिनै कर्म नै देव-वन्दन, पूजन र आराधना हुन्। हाम्रा पृथक पृथक दर्शन रीत-अनुसार भगवत् सेवा ईश्वर श्रद्धा स्मरण विपश्यना, अभ्यर्थना र नमाज-अदा आदि आत्मशान्ति उपाय जस्ता सत्कर्म नामले पुकारिन्छ र स्वीकारिन्छ। सोहीअनुरुप सच्चिदानन्दघन अर्थात् , सत् चित् र आनन्दले पूर्ण अनीर्वचनीय परम सुखको  अनुभव पनि उसले गर्छ।

•ब्रह्म उपासना गहन सुख:-

भौतिक भोगले दिक्क, विषय सुखले वाक्क, पारिवारिक मोहले विरक्त तथा सांसारिक अपमानले घुँक्क र सुँक्क भएको मानव असीम आत्मशान्ति पाउन हरबखत लालायित छ। ऊ अतृप्त आत्मालाई अध्यात्म उमङ्गले तृप्त पार्न प्रयासरत छ। उसका यही उत्सुकताको मनोवेगलाई शान्त तथा आत्मपीडालाई सदा अन्त गराउने वैदिक वाङ्मय ग्रन्थ रत्नमा समावेश जीवन दर्शन अमृत रसका छिटाहरु अथवा मानव जीवनोपयोगी सर्वकालीन सुखप्रदायकका संस्कृत सूक्तिहरु पौराणिक द्रष्टाले निम्न तरहले छरेका छन्।

“सवै मन: कृष्ण पदारविन्दयोर्वचांसिवैकुण्ठ गुणानु वर्णने।

करौ हरेर्मन्दिर मार्जनादिषु श्रुतिं चकाराच्युत सत्कथोदये।।१।।”

अर्थात्

`जुन प्राणीको मन भगवानको युगल चरणमा, वचन भगवत् गुणानुवर्णनमा, हात हरि मन्दिर बढार कुँडार सरसफाइ सेवामा तथा कान भगवानको मङ्गलमय चरित्रमा लाग्छ। उसले संसारका सबै किसिमका अपार सुख पाउँछ।´

“मुकुन्द लिङ्गालयदर्शने दृशौ तद् भृत्यगात्र स्पर्शेSङ्गसङ्गमम्।

घ्राणं च तद्पाद सरोज सौरभं श्रीमत्तुलस्या रसनां समर्पितं”।।२।।

अर्थात्

`जसले आफ्नो नेत्र मुकुन्द मन्दिरस्थित मूर्ति-दर्शनमा, अन्य अङ्ग अवयवहरु भगवत भक्तजनको स्पर्शमा, नाक-घ्राण शक्ति भगवत विग्रहमा अर्पित तुलसीको दिव्य गन्धमा, जिब्रो भगवानको नाम संकिर्तन तथा भगवानमा समर्पित नैवेद्य आदि प्रसादमा सामेल गराउँछ ऊ नै सबैभन्दा सुखी हो।´

“पादौ हरे: क्षेत्रपदानु सर्पणे शिरौ हृषिकेश पदाभि वन्दने।

कामं च दास्ये न तु काम काम्यया यथोत्तम श्लोक जनाश्रया रति:”।।३।।

अर्थात्

`भगवत अवतार क्रिडास्थल लीलाभूमिमा जसको पाउ विचरण हुन्छ, शिर भगवत चरणमा झुक्छ, आफ्ना पवित्र वस्तुहरु भगवानमा अर्पण गर्छ र जो भोगमा विश्वास नराखी योगमा विश्वास राख्छ एवम् तदनुसारको आचरण गर्छ, ऊ नै वास्तविक सुखी हो।´

•अध्यात्म सुख-सन्देश:-  

उपर्युक्त परिच्छेदमा वर्णित संस्कृत ग्रन्थरत्नका श्लोक सारदर्शनले मानवलाई अगाध सुखको मुहानतर्फ उन्मुख हुन घच्घच्याएको छ। सृष्टि दुर्लभ मानव जीवन वर्षाकालको गँड्यौलासरि भोग विषयी कीरो नभै योगदर्शनको अध्यात्म पिपासु पात्र हो। यस्तो मानवको मन, ब्रह्मव्याख्यान र कर्म ब्रह्मविग्रह पूजन तथा ईश्वर अंश रूप दीन-हीन, अनाथ-असहाय प्राणीका रोग, भोक र शोक निवारण सेवामा सदैव समर्पित रहोस्।  हातपाउ सदा सत्कर्म र सत्-स्थानमा संलग्न होऊन्। यसका आँखामा दया र करुणाका समभाव जागून्। कान सर्वमंगल ज्ञानश्रवण तथा जिब्रो सत्य वचन र देह स्वस्थ स्वादमा प्रयोग होओस्। यस्ता सत्कर्मी मानव नै यो लौकिक जगतको वास्तविक सुखी कहलाउँछ।

उल्लिखित अनुच्छेदमा सर्वप्राचीन वेद पुराणका सुभाषित रत्न पद्यलहर, श्रुति-उपनिषद-दर्शनादि मन्त्रचिन्तन एवम् योगीजन मन्थन लिपि मानव खुसीका अटुट श्रोत हुन्। यिनमा सर्वत्र अपार सुख सानन्दको अमृतकण वर्षेका छन्। तिनलाई गिने चुने पारखी जो जसले चिने ती सबै दु:खबाट उम्किएर सुखसागरमा डुबे। तिनले अध्यात्मरस सुखामृतको अल्प स्पर्शले मात्र पनि जीवन हर्षोल्लासमय बनाए । बाँकी जो भोग विषय रसमा बहकिए तीचाहिँ दु:खी भए।

•उपसंहार:-

अत: हामी पनि समय नघर्कँदै सुर्का अथवा पाखोबारी वा खेतको सानो क्षेत्रको उब्जाइ, खुर्पाको कमाइ, चर्खाको लबाइ, पिर्काको बसाइ तथा पुर्खाको शूराइको गर्वानुभूति गर्दै छाप्रोको बास पाप्रोको गाँस आदि जे जस्ता उपलब्ध चिजबिज  हाम्रा हातमा र साथमा छन् तिनमै हामी रमाऔं । सँगसँगै स्वआजित रुखोसुखो-खस्रो मिठो मसिनो खाऔं । जन्म सार्थक हुने हरिभजन गीत गाऔं, नाचौँ, झुमौँ, चुमौँ, दु:खदर्द बाडौँ, लोभ-लालच घटाऔं तथा दिव्य इन्द्र धनुषी मयूर प्वाँख मनलाई खुसीको उमङ्गले उज्ज्वल पारौँ। जीवन दु:खसुखका गुलियो-तितो-अमिलो-पिरो-टर्रो-नुनिलो षडरसको पान गरौँ। बहुरङ्गी उज्याला, हँसिला र झरिला थरिथरिका पुष्प-हाँसो हाँसौँ। अन्तमा माथमाथि हात सुम्सुम्याएर नश्वर स्त्रीपुरुष गाथको प्रेमाकर्षणको आलिङ्गनभन्दा अनन्त अनादि अखण्ड ब्रह्म शरणमा परौँ। जन्ममृत्युको दुष्चक्र भुमरीको यो माटोबाट चिरसुख शान्तिमय मुक्तिको बाटो रोजौँ। अनि मात्र `म´, `हामी´, `यहाँ´ र `सबै´ जीवनमुक्त सुखी। यसपछि कोही रहँदैनन् दु:खी।

ॐ शान्ति !

सुखमय: मानव चोला
प्रतिक्रिया दिनुहोस्