‘राखेप’को कार्यवाहक सदस्यसचिवमा ढकाल • Image Khabar Image Khabar


‘राखेप’को कार्यवाहक सदस्यसचिवमा ढकाल


Imagekhabar
२२ असार २०७७, सोमबार १९:५२

‘राखेप’को कार्यवाहक सदस्यसचिवमा ढकाल

काठमाडौं, असार २२ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

असार २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्यसचिवले गर्ने कार्य गर्नेगरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब एक महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आउनुभएको थियो ।

सोमबार राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्यसचिव ढकाललाई बधाइसहित स्वागत गर्नुभयो ।

गत असार १८ गतेदेखि नयाँ खेलकुद विकास ऐन लागू भएपछि सदस्यसचिव रमेशकुमार सिलवालको कार्यकाल स्वतः सकिएको थियो ।

सिलवाललाई गत वर्षमात्र १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको ‘म्यान्डेट’सहित सरकारले सदस्यसचिवमा नियुक्त गरेको थियो ।

खेलकुद विकास ऐन २०४८ निस्क्रिय भएसँगै सदस्यसचिव सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनासहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको हो ।

सिलवाललाई पुनः अर्को कार्यकालका लागि सदस्यसचिवको जिम्मेवारी दिने चर्चा चलेपनि हाललाई ढकाललाई कार्यवाहक दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्